बन्दाबन्दीमा कलाकार : सिर्जनामा 'लकडाउन' छैन
रचनामा निर्भय रमाउने एकान्तप्रेमी स्रष्टाहरू अहिलेको एकान्तबासमा कति सक्रिय, कति निष्क्रिय छन् ?
लकडाउन अर्थात् घरभित्रै एकान्तबास वा बन्दाबन्दी अवस्थामा रहँदा सिर्जनधर्मी स्रष्टाहरूको सक्रियतालाई एकपटक नियाल्दा धेरै उपलब्धिमूलक कलाकृतिहरू सिर्जना भएको भेटिन्छ ।
ज्ञानेन्द्र विवश
कलाकार दीपेन्द्रमान बनेपालीलाई यतिबेला मन्दिरमा चिरबिर गर्दै उड्ने परेवाहरूले चारो खान नपाएको चिन्ताले चिन्तित बनायो । हुन पनि हो अहिले मन्दिरमा पाठपूजा सबै बन्द छ । मान्छे नै नआएपछि चरा, परेवाहरूले अहिले के पो खाँदै होलान ? भन्ने चिन्ताले उहाँलाई पिरोल्यो । त्यसपछि उहाँले मन्दिर, परेवाहरूको आकृति उतारेर चित्र बनाउनुभयो । इनरुवामा बसेर चराचित्रणमा समर्पित जीवनाथ पोखरेलले पनि यो समय अधिकतम् उपयोग गरी चराका अनेक रूप उतारिरहनुभएको छ।
कलाप्रध्यापक तथा कलाकार राधेश्याम मुल्मीलाई पनि यस्तै वातावरणले छोयो र उहाँले आफ्नो परिचित शैली लयात्मक तरङ्गहरूको समायोजनमा सुन्दर चित्र सिर्जना गर्नुभयो । उमेरले निकै उकालो चढिसक्नुभएका के.जी. रञ्जितलाई पनि यो कोरोनाको कहरले शान्ति दिएन । हिमाल, बुद्ध, साँझका दृश्य, धुवाँ माध्यमका अनेक कला रचनामा पोख्त उहाँले यसपालि हिमाली छटामा पनि कोरोना प्रभाव पेश गर्नुभयो।
कोभिड १९ शीर्षकमा सर्जक दम्पति चित्रकार आशा डंगोल र एरिना ताम्राकारले ‘मास्क थिम’ मा मठमन्दिरमा संरक्षकका प्रतीक मानिने हात्ती र सिंहहरू बनाउइरहनु भएको छ ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति के.के. कर्माचार्यलाई पनि लकडाउनले फाइदै पुर्याएको छ । फुर्सदको अधिकतम् उपयोग गर्दै स्टुडियो पसेर स्वतन्त्र रूपले काम गर्नुको मज्जै बेग्लै हुने उहाँ बताउनुहुन्छ । “ममात्रै होइन धेरै कलाकारहरू सक्रिय भएका छन् जस्तो लाग्छ । कति कलाकारहरू सामाजिक सञ्जालमार्फत् देखिएका छन् । कतिलाई त कठिन भइरहेको पनि होला”, उहाँ भन्नुहुन्छ, “मेरो बिचारमा कलाकारलाई काम गर्ने यो बाध्यात्मक मात्र होइन सुनौलो अवसर पनि हो । यस प्रभावभित्रका सिर्जनाहरू भविष्यमा निकै देखिने विश्वास छ ।”
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति के.के. कर्माचार्य ।
स्वभावैले कलाकार गतिशील हुन्छन् । कलाकार समाज र राष्ट्रप्रतिको उत्तरदायित्वबाट कदापि विमुख नहुने दाबी गर्नुहुन्छ, पोखराका कलाकर्मी तिलक पुन । उहाँको भनाइमा सुन्दर सिर्जनाका लागि स्रष्टालाई सधैं एकान्त चाहिन्छ । भन्नुहुन्छ– यो फुर्सद मेरा लागि अति उपलब्धिमूलक भएको छ । रङ र कूचीसँग खेल्दै नयाँ चित्र बनाउँदैछु । पहिले पढ्न नभ्याएका किताबहरू पढेर समय बिताउँछु ।
पानी रङमा पारदर्शीपन भित्र्याउन सक्रिय कलाकार एनबी गुरुङ संसारले भोग्नुपरेको कोरोनाभाइरस महामारीको बाबजुद लकडाउनको समय भरपुर उपयोग गरिरहेको बताउनुहुन्छ । यो बेला सामाजिक सञ्जाल फेसबुक लाईभ चित्र सिर्जनाबाट एकैचोटि हजारौं कलापारखी माझ पुगिरहेको अनुभव सुनाउँदै उहाँ भन्नुहुन्छ, “आफ्ना सिर्जना र जानेको कलाविधि युट्युबमा राखेर सिकाउने अवसर पनि पाइरहेको छु ।”
यस्तो बेला प्राज्ञ कलाकार रमेशनाथ खनालले पनि अरुपण शैलीमा दैनिक नयाँ–नयाँ चित्रकला बनाइरहनुभएको छ । प्राज्ञ सुषमा राजभण्डारीले गणेश विम्बलाई नयाँ रूपमा उतारिरहनुभएको छ । अर्का प्राज्ञ लालकाजी लामा दृश्यचित्रमा रमाउनुभएको छ ।
कलाकार सञ्जय बान्तवाकाे चित्र ।
कलाकार डा. लय मैनाली मूर्तिकलामा व्यस्त हुनुहुन्छ भने कलाकार सञ्जय बान्तावा एकान्त बासमा किराँत मिथ सात्नाचिनमाङमा आधारित चित्रकला सिर्जना गरिरहेका छन् । यो मिथमा तिब्बतबाट आएको एक मानिस किराँतको घरमा बाँस बस्छ, त्यही उनको मृत्यु हुन्छ, त्यही तिब्बतिलाई नै देउता मानी किराँतहरूले आज पनि पूजा गर्ने गरेका छन् । प्रकृतिपूजक किरातीको चिनारी दिने पर्व र मुन्दुमका विधि विधानहरूबारे पनि कलाकारितामार्फत काम गरिरहेको उहाँ बताउनुहुन्छ ।
झापामा बसेर सिर्जनारत् पवन राजवंशी भने लकडाउनमा कलाकारिताका दौडधुपमा बिर्सिएका, छुटेका धेरै कुरा गर्न खोजिरहेको बताउनुहुन्छ । “काम, सिर्जना, नाफानोक्सानको दौडधुपले सबै बाँकी थुप्रै कुरा बिर्सेको रहेछु भन्ने कुरा ज्ञात भयो”, उहाँ भन्नुहुन्छ, “यतिबेला पेन्टिङ त गरेको छैन्, तर यो शून्य समयमा नयाँ विषय, नयाँपन खोजिरहेको छु ।”
अर्का कलाकार डिराम पाल्पालीको अनुभव अलि भिन्न छ । उहाँका भनाइमा भने कलाकारलाई यसकिसिमको एकान्त वातावरण चाहिन्छ, तर बन्द होइन स्वतन्त्रतासहितको । “यतिबेला काम त गरिरहेको छु । तर अलि अपठ्यारो, बन्धनमा बाँधिए जस्तो”, पाल्पालीको अनुभव छ ।
पौभाकलामा सिर्जनारत् कलाकार शंकरकुमार जोशी यो बेला बज्रयोगिनीको चित्र बनाउनमा व्यस्त हुनुहुन्छ । भन्नुहुन्छ– कोरोनाले संसारलाई नै प्रभावित पारिरहे तापनि घरभित्रै बसेर आफ्नै काममा लागिरहनुको मज्जा नै बेग्लै हुन्छ ।
नवलपरासी, नवलपुरका कलाकार भीम शर्मा आफूले भने लकडाउनको खासै अनुभूत नगरेको बताउनुहुन्छ । “रङ र ब्रस लिएर क्यानभास अगाडि बसेपछि एकजना चित्रकार स्वतः ध्यानस्थ हुन्छ, म पनि त्यस्तै हुन्छु”, उहाँको भनाइ छ ।
कलाकार दीपेन्द्र बनेपालीकाे चित्र ।
पोखराकी कलाकार मिलन शेरचन पनि यतिबेला सक्रिय हुनुहुन्छ । लकडाउनले वातावरण केही असन्तुलित भइरहेको भए तापनि फुर्सद पाउना साथ झारपातहरूलाई सजाएर कलात्मकता दिने कार्य गरिरहनुभएको छ ।
फ्रान्समा रहेका शैलेन्द्र महर्जन, भारत नागाल्याण्डका बुद्धि थापा हुन् या यता विराटनगरकी अनुराधासिंह थापा कोरोना संक्रमण बिर्सेर कलामै मग्न हुनुहुन्छ । मूर्तिकार राजु पिथाकोठेले हालै कोरोना विरुद्धको मानव सञ्जाल बनाएर कला प्रस्तुत गरेका थिए ।
अचम्म कहिल्यै नसोचेको परिस्थितिको आगमन भयो । तर हाम्रा अधिकांश सिर्जनाकर्मीहरू निष्क्रिय होइन सक्रिय छन् । संसारै ‘लक्ड’ हुँदा पनि मस्तिष्क चलिनै रहँदो रहछ । पिँजडामा कैद तर कल्पना वेगवान उडानमा रमिरहेजस्तो । त्यसो त सिर्जनामा रम्नु तनाव व्यवस्थापनको अचुक औषधि पनि हो ।