विश्व ब्यांकले साढे तीन अर्ब रुपैयाँ आपतकालीन सहयोग गर्ने
कोरोना भाइरसको संक्रमणसँग जुध्न विश्व ब्यांकले नेपाललाई २ करोड ९० लाख डलर (करिब रु तीन अर्ब ५० करोड) ऋण सहयोग गर्ने भएको छ ।
विश्व ब्यांकले कोभिड–१९ आपतकालीन सहायता तथा स्वास्थ्य प्रणाली तयारी कार्यक्रमअन्तर्गत नेपाललाई सहयोग गर्न लागेको हो ।
ब्यांकको कार्यकारी निर्देशक बोर्डले ३ अप्रिलमा यसको सहमति दिएको हो । सहयोगसम्बन्धी सम्झौतामा २५ चैतमा हस्ताक्षर हुनेछ । सहयोग रकम कोरोना भाइरसद्धारा उत्पन्न खतराको रोकथाम, राहत तथा आपतकालीन सार्वजनिक स्वास्थ्यको तयारीमा खर्च हुने जानकारी विश्व ब्यांकको नेपालका लागि आवासीय प्रतिनिधि फारिस एच हदाद जर्भोसले ट्विटमार्फत दिएका छन् ।
दक्षिण एशियाका अफगानिस्तान, बंगलादेश, भारत, माल्दिभ्स, पाकिस्तान तथा श्रीलंकाले पनि कोरोना भाइरसबाट उत्पन्न संकटको रोकथाम तथा राहतका लागि विश्व ब्यांकसँग आपतकालीन सहायता लिएका छन् ।
भारतले विश्व ब्यांकसँग १ अर्ब डलर सहायता लिएको छ । मन्त्रीपरिषद्को चैत १६ को वैठकले स्रोत जुटाउन कोरोना भाइरसका कारण अर्थतन्त्रमा पर्ने क्षति न्यूनीकरण गर्न अन्तर्राष्ट्रिय सहायता परिचालन गर्ने निर्णय गरेको थियो ।
वैठकले आपतकालीन महामारी पूर्वतयारी तथा नियन्त्रण योजनाअन्तर्गत विश्व ब्यांक, अन्तर्राष्ट्रिय मुद्रा कोष तथा एशियाली विकास ब्यांक लगायतका विकास साझेदारसँग सहयोगका लिनका लागि वार्ता गर्ने निर्णय गरेको थियो ।