अनुगमन समिति भन्छ, “कुनै पनि अस्पतालले बिरामी फिर्ता पठाएका छैनन्”
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा गठित समितिले उपत्यकाका प्रमुख ६ अस्पतालहरुको अनुगमनपछि कोरोनाभाइरस (कोभिड-१९) शंकास्पद बिरामीको उपचारमा लापरवाही नभएको जनाएको छ। कुनै पनि अस्पतालले बिरामी फिर्ता नपठाएको समितिको दाबी छ।
सामान्य बिरामीले उपचार नपाएको र मुख्य अस्पतालहरुले बिरामी फिर्ता पठाएको कुरा सत्य नभएको समिति संयोजक डा. कृष्ण अधिकारीले दाबी गरे। कुनै पनि अस्पतालमा बिरामी रेफर गरेको तथ्याङ्क नभेटिएको उनी बताउँछन्। डा. अधिकारीले हिमालखबरसँग भने, “अनुगमन गरेका अस्पतालहरुको व्यवस्थापन राम्रो रहेको पायौँ तर, मन्त्रालय र अस्पतालहरुबीच हुनुपर्ने समन्वयको कमी देखियो।”
स्वास्थ्य मन्त्रालयले २१ चैतमा मन्त्रालय, औषधि व्यवस्था विभाग, नर्सिङ परिषद्, नेपाल मेडिकल काउन्सिल लगायत निकायका १३ पदाधिकारी सहितको अनुगमन समिति बनाएको छ। दुई दिन लगाएर अनुगमन सकेको समितिले सोमबार स्वास्थ्यमन्त्री भानुभक्त ढलकाललाई प्रतिवेदन बुझाउने जनाएको छ। समितिले महाकांलको वीर अस्पताल, महाराजगञ्जको त्रिवि शिक्षण अस्पताल, मिनभवनको नागरिक अस्पताल, महांकालको राष्ट्रिय ट्रमा सेन्टर, ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र सिनामंगलको काठमाडौं मेडिकल कलेजको अनुगमन गरेको थियो।
कोभिड–१९ को संक्रमणपछि अस्पतालहरुको अवस्थाबारे बुझ्न मन्त्रालयले अनुगमन समिति गठन गरेको हो। अनुगमनका क्रममा काठमाडौ मेडिकल कलेजले अस्पतालको बहिरंग सेवा समेत सुचारु गरेको भेटिएको संयोजक डा.अधिकारी बताउँछन्। तर, अन्य अस्पतालले भने बहिरंग सेवा बन्द गरेका छन्।
संयोजक डा. अधिकारी नीजि अस्पतालहरुमा अधिकांश सरकारी चिकित्सक खट्ने गरेको र अहिले उनीहरु धेरै समय सरकारी अस्पतालमा काम गर्नु परेका कारण नीजि अस्पताल संञ्चालन गर्न गाह्रो परेको बताउँछन्। “त्यसैले कोभिड–१९ का शंकास्पद बिरामीको उपचारमा नीजि अस्पतालहरुको भूमिका सिमित भएको हो”, उनी भन्छन्।
अनुुगमन समितिका अनुसार अधिकांश नीजि अस्पतालका ८० देखि ९० प्रतिशत वरिष्ठ चिकित्सक सरकारी अस्पतालका छन्। अनुगमन समितिले वीर र त्रिवि शक्षिण अस्पतालको आपत्कालीन कक्षमा चिकित्सक लगायतका स्वास्थ्यकर्मीको टोलीले पीपीई बिना सामान्य गाउन, मास्क र पन्जा लगाएर काम गरिरहेको भेटेको थियो। उनी भन्छन्, “सबै अवस्थामा पिपिई लगाउनु पर्छ भन्ने छैन, वीर र टिचिङ्ग अस्पतालमा जसरी काम भइरहेको छ, त्यो ठिक छ ।”
विश्व स्वास्थ्य संघठनले नै सबै अवस्थामा पीपीई लगाउनु नभनेको र निश्चित अवस्थामा मात्र लगाउन भन्दै निर्देशिका जारी गरेकाले जोखिममा नभएकाले लगाउन नपर्ने उनी बताउँछन् ।
त्रिवि शिक्षण अस्पतालमा दैनिक १०० देखि १५०, वीर अस्पतालमा अधिकतम १००, काठमाडौं मेडिकल कलेजमा अधिकतम २००, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १००, नागरिक अस्पतालमा ९० र राष्ट्रिय ट्रमा सेन्टरमा ५० देखि ६० बिरामी भर्ना भइरहेका छन् । ती अस्पतालमा ज्वरोका दैनिक १० देखि १५ बिरामी जानेको गरेको समितिले जनाएको छ।
यसअघि मन्त्रालयले नीजि अस्पतालले ज्वरोका बिरामीलाई उपचार गर्न नमाने कारवाही गर्ने निर्णय गरेको थियो। तर, मन्त्रालयको उक्त निर्णय अझै कार्यान्वयनमा आएको छैन।
यस्तै मन्त्रालयले गठन गरेको समितिको पछिल्लो अनुगमनका क्रममा रेफर भएका बिरामीको संख्या अस्पतालबाट मात्र लिएकाले उपचार नपाई अस्पतालले फर्काएका बिरामीको तथ्यांक भने आएको छैन।