बन्दाबन्दीमा दल र नेताहरुको चुनाव लक्षित राहत वितरण
कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि झन्डै दुई सातायता लागू गरिएको बन्दाबन्दीका कारण गरीब र दैनिक ज्यालादारी मजदुर वर्ग गुजाराको समस्यामा छन्। उनीहरूलाई विभिन्न ठाउँमा स्थानीय सरकारका जनप्रतिनिधिले राहत वितरण गरिरहेका छन्। तर, अहिले कतिपय जिल्लामा विभिन्न राजनीतिक दलका नेताहरु राहत वितरणलाई राजनीतिक प्रभाव बढाउने माध्यमका रुपमा लिएर गाउँ–गाउँमा पुग्न थालेका छन्। कोरोना भाइरसको महामारी र बन्दाबन्दीलाई उनीहरूले चुनाव लक्षित प्रचारप्रसार गर्ने अवसर बनाएको देखिन्छ।
समाजवादी पार्टी नेपालका राष्ट्रिय परिषद् सदस्य विद्या यादवलाई अहिले चुनावमा जस्तै भ्याइ नभ्याइ छ। २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पराजय भोगेको रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर १ का घरघरमा पुगेर उनले राहत बाँडिरहेका छन्। ८ सय परिवारलाई ५ किलो चामल र एक किलोका दरले सोयाबडी बाँडेको उनले बताए। “पहिलो चरणको राहत वितरण सकियो, अब दोस्रो चरणमा फेरि बाँड्नेछु” यादवले हिमालखबरसँग भने।
रुपन्देहीकै क्षेत्र नम्बर २ बाट प्रदेश–५ को प्रदेश सभामा निर्वाचित सन्तोष पाण्डे पनि राहत वितरणमा व्यस्त छन्। समाजवादी पार्टीबाट निर्वाचित सांसद उनले शनिबार सिद्धार्थ नगरपालिकाको वडा नम्बर १, २, ६ र ११ मा राहत वितरण गरे। पार्टीका तर्फबाट राहत बाँडेको उनले बताए।
व्यक्तिगत रूपमा राहत वितरण गर्ने क्रम बढेपछि गएको २१ चैतमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई परिपत्र गरी विभिन्न व्यक्ति, संघसंस्था तथा सरकारी तथा गैरसरकारी निकायबाट उपलब्ध गराइने राहत सम्बन्धित ठाउँका स्थानीय तहमा जम्मा गराई एकद्वार प्रणालीबाट वितरण गर्न भनेको छ। तर, स्थानीय तहमा त्यसको कुनै पालना भएको छैन।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा नेपाली कांग्रेसले विपन्न परिवारलाई राहत वितरण गरेको छ। कांग्रेस महासमिति पूर्व सदस्य पदम खनालका अनुसार पार्टीको नेतृत्वमा बुद्धभूमि नगरपालिकाको वडा नम्बर ४ का १०० विपन्न परिवारलाई प्रतिपरिवार १० किलो चामल, एक किलो दाल, एक किलो नुन र आधा लिटर तेल बाँडिएको छ। अन्य ठाउँमा पनि वितरण हुने उनी बताउँछन्।
कांग्रेस महासमिति सदस्य विजय जयसवाल पनि कपिलवस्तुको शिवराज नगरपालिकामा राहत वितरणमै व्यस्त छन्।
त्यसैगरी, सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ता पनि राहत वितरण गर्न रुपन्देहीका विभिन्न ठाउँमा पुगेका छन्। उक्त पार्टीका नेता भूपेन्द्र यादवका अनुसार, पार्टीको अगुवाईमा जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका र रोहिणी गाउँपालिकाका विपन्न परिवारलाई राहत वितरण र किटनाशक औषधि छर्ने काम गरिएको छ।
प्रचार मोह
कपिलवस्तुको मायादेवी गाउँपालिकाका अध्यक्ष बजरंगी चौधरी र सोही ठाउँका समाजवादी पार्टीका नेता एवम् पूर्व सांसद दानबहादुर चौधरी कुर्मीले त सचेतनाका नाममा चुनावका वेलामा जस्तै आफ्नो प्रचारप्रसार गरिरहेका छन्। कोरोना भाइरसबारे सचेतनाका नाममा आफ्नो तस्वीर राखेको ब्यानर सहितका गाडी चढेर उनीहरू टोलटोलमा पुग्छन्।
राहत वितरणमा कायम गर्नुपर्ने भौतिक दूरी पनि कायम गरेको पाइदैन। आफूखुसी राहात वितरण हुन थालेपछि केही ठाउँमा त प्रहरीले हस्तक्षेप नै गर्न थालेको छ। २२ चैतमा पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ मा राहात वितरण गर्न हिंडेको एक टोलीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। पर्साकी प्रहरी प्रमुख एसपी गंगा पन्त एकद्वार प्रणाली मार्फत राहत वितरण गर्ने सरकारको नीति भएकाले आफूखुशी राहत बाँड्न रोक लगाइएको बताउँछिन्।
मधेश मानवअधिकार गृहका अध्यक्ष रवि ठाकुर आफूखुसी राहत वितरण बेठीक भएको बताउँछन्। “आफूखुसी व्यक्तिगत रूपमा सहयोग बाँड्दा कतै राहत नै नपुग्ने हुन्छ, कतै भने दोहोरिन्छ । यसैले राहत वितरणमा एकद्वार प्रणाली कडाइका साथ लागू गर्नुपर्छ”, उनी भन्छन्। कोरोना महामारीलाई केही व्यक्तिले चुनावको प्रचारका रुपमा लिएको देखिएको उनी बताउँछन्।
कपिलवस्तुको शिवराज नगरपालिकाका नगरप्रमुख नेत्र अधिकारी आफ्नो नगरपालिकाभित्र पनि विभिन्न व्यक्तिले आफूखुसी राहत वितरण गरेको पाइएपछि आफूहरुले रोक लगाएको बताउँछन्। उनका अनुसार, केही उद्योग प्रतिष्ठानले आफूले वितरण गर्ने राहत नगरपालिकालाई उपलब्ध गराएका छन्। “हामीले गरीब परिवारको अभिलेख तयार गरेका छौं, सबैलाई राहत पुर्याउँछौं”, उनी भन्छन्।
राहतका नाममा विवाद
स्थानीय तहमा राहतका नाममा विवाद पनि देखिन थालेका छन्। २३ चैतमा राहत वितरणको विषयमा सुनसरीको दुहवी–९ छातावलीमा दुई पक्षबीच झडप भएको छ। राहत वितरणमा अनियमितता भएको विषयमा छलफलका लागि बोलाइएको बैठकमा झडप हुँदा १२ जना घाइते भएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ। वडा नम्बर ९ का वडा अध्यक्ष मेहदी हुसेनले राहत वितरणमा अनियमितता गरेको स्थानीय युवाले आरोप लगाएपछि छलफलका लागि बैठक बोलाइएको थियो।
त्यसैगरी, कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–७ का वडा अध्यक्षले मापदण्ड विपरीत राजनीतिक निकटताका आधारमा राहत वितरण गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नगर कमिटीले विरोध गरेको छ।
संगठित क्षेत्रमा कार्यरत मजदुर र विपन्न परिवारलाई राहत वितरण गर्नुपर्नेमा वडा अध्यक्ष योगेन्द्रकुमार केसीले आफ्ना कार्यकर्तालाई मात्र वितरण गरेको आरोप लगाउँदै नेकपाले वडा कार्यालयमा तालबन्दी गरेको छ। केसी नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष हुन्।