स्वास्थ्य सामग्री खरीद विवादपछि नेकपामा सचिवालय बैठक बोलाउन दबाब
स्वास्थ्य मन्त्रालय र ओम्नी कम्पनीबीचको सम्झौता तोडेर चीनबाट स्वास्थ्य सामग्री खरीद गर्ने जिम्मेवारी नेपाली सेनालाई दिने निर्णय भएपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रै असन्तुष्टि बढेको छ। नेकपाका सचिवालयकै नेताहरुले यसबारे छलफल गर्न सचिवालय बैठक माग गरेका छन्।
सचिवालय सदस्य एवम् प्रवक्ता नारायणकाजी श्रेष्ठले सामाजिक सञ्जाल ट्वीटर मार्फत् नै सचिवालय बैठक बोलाउन माग गरे। उनले यसबारे अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालसँग पनि सचिवालय बैठक बोलाउनेबारे छलफल गरेका छन्।
प्रचार विभाग प्रमुख रहेका श्रेष्ठले हिमालखबरसँग भने, “स्वास्थ्य सामग्री खरीद प्रक्रिया मात्रै नभएर कोरोना महामारी रोकथामका समग्र विषयमा छलफल गर्न जरुरी छ। त्यसैले सचिवालय बैठक बोलाउन माग गरेको हुँ।”
श्रेष्ठसँगै अन्य सचिवालय सदस्य र स्थायी कमिटीका नेताहरुले समेत सचिवालय बैठक बोलाउन माग गरेपछि अध्यक्षद्वय ओली र दाहालबीच समेत कुराकानी भएको छ।
दाहालसँग ओलीले शनिबार नै सचिवालय बैठक बोलाउने बताएका थिए । स्रोतका अनुसार, शनिबार दिउँसो सचिवालय बैठक बोलाउने तयारी पनि भएको थियो।
तर, प्रधानमन्त्री ओलीले नेताहरुलाई दिएको आश्वासन जस्तो शनिबार सचिवालय बैठक बोलाएनन्। सचिवालयको साटो प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाए।
आइतबार बस्ने तयारी भएको मन्त्रिपरिषद बैठक प्रधानमन्त्री ओलीले शनिबार नै बोलाएर बन्दाबन्दी थप कडाई गर्ने लगायत केही निर्णय समेत गराएका छन्।
सरकार र पार्टी बीचको दुरी घटाउन पनि अहिले सचिवालय बस्नुपर्नेमा नेताहरुको जोड छ। “स्वास्थ्य सामग्री खरीद बारे पार्टीलाई जानकारी गराउन जरुरी छ, अहिले पार्टीलाई जानकारी गराउने उपयुक्त मञ्च सचिवालय नै हो।”
सरकारमा नरहेका सचिवालयका नेताहरुले समेत बैठकको बोलाउन माग गरेका छन्। नौ सदस्यीय सचिवालयमा प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा मात्रै सचिवालय सदस्य हुन्। यसबाहेक अध्यक्ष दाहाल, बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेब गौतम, प्रवक्ता श्रेष्ठ र महासचिव बिष्णुप्रसाद पौडेल सत्ता बाहिर छन्।
स्थायी कमिटी सदस्य हरिबोल गजुरेल स्थायी कमिटी संभव नभए पनि सचिवालय बस्दा सरकार र पार्टी बीच समन्वय हुने बताउँछन्। “सरकारले गरिरहेको कामबारे पार्टीकै बरिष्ठ नेताहरुलाई थाहा नहुनु राम्रो होइन, यसले सरकारको कार्यशैली प्रभावकारी हुन सक्दैन”, नेता गजुरेल भन्छन्। मन्त्रिपरिषदकै बैठक बस्दै आएकाले नौ जनाको सचिवालय बैठक बस्न समस्या नहुने नेताहरु बताउँछन्।
स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे आपतकालीन् अवस्थामा सत्तारुढ पार्टीका नेतृत्व छलफलमा बस्नु आवश्यक पर्ने बताउँछन्। “अहिले स्वास्थ्य सामग्री खरीदले उत्पन्न समस्याका कारण मात्रै नभएर बिपद व्यवस्थापनबारे छलफल गर्न पनि सचिवालय बस्न आवश्यक छ” नेता पाण्डे भन्छन्, “मुलुक अप्ठ्यारोमा पर्दा पार्टी नेतृत्व बीच सघन छलफल हुन आवश्यक छ।” अन्य मुलुकमा पनि पार्टी नेतृत्वको छलफलअनुसार नै बिपद् व्यवस्थापनबारे निर्णय भइरहेको उदाहरण उनी सुनाउँछन्।
सरकार र पार्टी बीचको दुरी घटाउन पनि अहिले सचिवालय बस्नुपर्नेमा नेताहरुको जोड छ। “स्वास्थ्य सामग्री खरीद बारे पार्टीलाई जानकारी गराउन जरुरी छ, अहिले पार्टीलाई जानकारी गराउने उपयुक्त मञ्च सचिवालय नै हो”, नेकपाका एक नेता भन्छन्। तर, यसमा प्रधानमन्त्री ओलीले अरुचि देखाइरहेका छन्। शनिबार सचिवालय नबोलाउनुले पनि त्यसलाई प्रमाणित गर्छ।
महामारी रोकथामका लागि गएको ११ चैतदेखि बन्दाबन्दी घोषणा गरेको सरकार स्वास्थ्य परीक्षणका लागि आवश्यक सामग्री खरीद प्रक्रियामा विवादित बन्न पुगेको छ।
यसमा उपप्रधानमन्त्री एवम् कोरोना रोकथाम, उपचार तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक ईश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल समेत जोडिएकाले पनि सचिवालय बैठक बोलाउन माग गरिएको नेकपाका नेताहरु बताउँछन् । सरकारले १७ चैतमा स्वास्थ्य सामग्री खरीद गर्ने जिम्मेवारी सेनालाई दिएको छ।