‘पाथीभरा जाने पक्षमा थिएनन् मन्त्री अधिकारी’
“पानी परिरहेको छ, मौसम खराब छ, हामी फर्किनु पनि छ” पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीले तेह्रथुमको चुहानडाँडामा प्रस्तावित विमानस्थलको स्थलगत अवलोकनपछिको मन्तव्यमा भनेका थिए, ‘प्रधानमन्त्रीज्युले मलाई जान्होस् तेह्रथुम भनेपछि म उहाँको सन्देश लिएर आएको हुँ ।’
यसबाट बुझिन्छ, प्रधानमन्त्री ओली आफ्नो जन्मेको जिल्ला तेह्रथुममा विमानस्थल बनाउन चाहन्थे।
मन्त्री अधिकारी भन्दै थिए, “प्रधानमन्त्रीले तेह्रथुमको विमानस्थल बन्ने ठाँउको ‘डिटेल’ अध्ययन गर्नुहोस् भन्नुभएको थियो ।” उनले स्थानीयलाई चुहानडाँडामा विमानस्थलको नक्सा पनि देखाए र भने, “पहिले २९ करोडको ‘स्टिमेट’ भएपनि हाल यसमा ८७ करोड लाग्ने स्टिमेट छ ।”
तर यो भाषणको केहि घण्टापछि देशले एउटा स्तब्ध पार्ने खबर सुन्यो । ऊनै मन्त्री अधिकारीसहित जम्मा सात जना चढेको हेलिकप्टर केही घण्टापछि नै ताप्लेजुङको फुङलिङ नगरपालिका–१०, फुरुम्बुमा दुर्घटनामा पर्यो, सातै जनाले ज्यान गुमाए ।
चुहानडाँडापछि मन्त्री ताप्लेजुङको पाथीभरा मन्दिर गएको र त्यहाँबाट फर्कदा दुर्घटनामा परेको थियो।
सम्बोधनपछि खाना खाँदा ‘पाथीभरा मन्दिर जाने कि नजाने’ भन्ने विषयमा पनि मन्त्रीसहितको टोलीबीच कुराकानी भएको स्थानीय सञ्चारकर्मी अमृत बाँस्तोला बताउँछन् । उनका अनुसार, मन्त्री अधिकारी सोझैं काठमाडौं फर्किने मनस्थितीमा देखिन्थे ।
“मन्त्रीज्यु म पहिले नै पाथीभरा गइसकेको छु भन्दै हुनुहुन्थ्यो” दिनभरि मन्त्री सहभागी कार्यक्रममा रहेका बाँस्तोला भन्छन्, “सायद उहाँहरुबीच हेलिकप्टर चढेपछि मात्रै पाथीभरा जाने निश्चित भयो ।”
खाना खाँदै गर्दा २०१७ सालमा तेह्रथुममा स्थापना भएको क्याम्पस र प्रधानमन्त्री ओलीको जन्मघर हेलिकप्टरबाट हेर्दै जाने सल्लाह पनि भइरहेको थियो ।
२०३२ सालदेखि चुहानडाँडामा विमानस्थल बनाउने कुरा चलिरहेको तर खासै काम कहिल्यै नभएकाले मन्त्री अधिकारी प्रधानमन्त्रीकै सन्देशसहित पुग्दा स्थानीय खुसी भएका थिए । तर, यो खुसी करिब दुई घण्टासम्म मात्र टिक्यो ।
मन्त्री अधिकारीले सम्बोधन गरेको मञ्च व्यवस्थापन नहुँदै उनी दिवंगत भएको खवरले तेह्रथुमबासीलाई पिडा दिएको बताँउदै बाँस्तोला भन्छन्, “उहाँको अन्तिमवाणी सुन्न अभिषप्त हामी नै भएछौं ।”