दोस्रो विश्वयुद्धपछि पहिलो पटक कार्बन उत्सर्जनमा कटौतीको प्रक्षेपण
कोरोनाभाइरसको विश्वव्यापी महामारीले दोस्रो विश्वयुद्धपछि सवैभन्दा धेरै कार्बन उत्सर्जन कटौती हुनसक्ने प्रक्षेपण गरिएको छ ।
कार्बन उत्सर्जनको तथ्याङ्क प्रदान गर्ने वैज्ञानिकहरुको संस्थालाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाए अनुसार कोरोनाभाइरसले आर्थिक क्षेत्रमा पार्ने प्रभावका कारण यस्तो प्रक्षेपण गरिएको हो।
ग्लोबल कार्बन प्रोजेक्टका अध्यक्ष रोब ज्याक्सनका अनुसार यस वर्ष कार्बन उत्सर्जनमा ५ प्रतिशतले कमी आउन सक्छ । सन् २००७/२००८ को आर्थिक मन्दीको समयमा कार्बन उत्सर्जन १.४ प्रतिशतले घटेको थियो।
“म ५ प्रतिशत कम कार्बन उत्सर्जन हुँदा चकित हुने छैन, किनभने यो दोस्रो विश्वयुद्धपछि देखिएको छैन,” अमेरिकाको क्यालिफोर्निया स्थित स्टानफोर्ड युनिभर्सिटीका प्राध्यापक ज्याक्सनलाई उद्धृत गर्दै रोयर्टसले लेखेको छ।
जलवायु अनुसन्धानकर्ताले पूर्वानुमान गरेको अवस्थामा वातावरणीय पक्षका हिसावले आएको यो एउटा सुखद समाचार हो।
जलवायु वैज्ञानिकहरुले विश्वव्यापी रुपमा भइरहेको तापक्रम वृद्धि रोक्न सन् २०२० देखि कार्बन उत्सर्जनको दर घटाउँदै लैजानुपर्ने चेतावनी यसअघि नै दिएका थिए।
जलवायु परिवर्तन सम्वन्धी संयुक्त राष्ट्रसंघीय खाका महासन्धीका पक्ष राष्ट्रहरुले पृथ्वीको तापक्रम १.५ डिग्री सेल्सियसभन्दा वृद्धि हुन नदिने सम्झौतामा हस्ताक्षर गरेका थिए, जसलाई पेरिस सम्झौता भनिन्छ। यो सम्झौता कार्यान्वयन यसै वर्षदेखि हुने उल्लेख छ।
तापक्रम वृद्धि रोक्ने एउटा प्रमुख उपाय हरितगृह ग्यास उत्सर्जन कटौतीको मात्र हो। त्यसका लागि सन २०३० सम्म अहिलेको तुलनामा उत्सर्जन ५० प्रतिशत कटौती गर्नुपर्दछ।
वातावरण विज्ञहरु संरचनागत परिवर्तन बिना हुने उत्सर्जनको प्रभाव क्षणिक ठान्छन्। उनीहरुले कोरोनाभाइरसका कारण सानो मात्रामा उत्सर्जनमा कमी आए पनि महामारीको अन्त्यपछि पुरानै अवस्थामा पुग्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।