शिकारीसँग सशस्त्र प्रहरी र वनरक्षकको संयुक्त टाेलीकाे गोली हानाहान
मोरङमा शुक्रबार अपरान्ह शिकारीसँग सशस्त्र प्रहरी र वनरक्षकको गोली हानाहान भएको छ । दुई तर्फी १७ राउण्ड गोली चले पनि मानवीय क्षति भने भएको छैन ।
लकडाउनको बेलामा मोरङ सुन्दरहरैचा नगरपालिकामा पर्ने सलकपुर सामुदायिक वनमा शिकारीले ९ राउण्ड र सुरक्षाकर्मीले ८ राउण्ड गोली लगाएका हुन् ।
भरुवा बन्दुकको बारुद सकिएपछि भागेका ३ शिकारी २ थान बन्दुकसहित पक्राउ परेका छन् ।
दोहोरो गोली हानाहानमा सहभागी एक सुरक्षाकर्मीका अनुसार, वन रक्षक र सशस्त्र प्रहरीको संयुक्त समूहको घेराबन्दीमा परेपछि शिकारीले गोली चलाएका थिए ।
शिकारीले भरुवा बन्दुकबाट ९ राउण्ड गोली चलाउँदा वन रक्षकले थ्रीनट थ्री राइफलबाट ७ राउण्ड गोली चलाएका थिए ।
वन रक्षकको मद्दतमा सशस्त्र प्रहरीले एसएलआरबाट एक राउण्ड गोली चलाएको थियो ।
सशस्त्र प्रहरीका ३ नम्बर गण मोरङका एसपी नेत्रबहादुर कार्कीले बन्दुकको बारुद सकिएपछि भागेका शिकारीहरु केराबारी ८ का डम्बर जोगी (३५), विशाल कार्की (३७) र किरण धिमाल (२७) लाई पक्राउ गरिएको बताए । उनीहरुले फालेर भागेको २ थान बन्दुक पनि नियन्त्रणमा लिइएको छ ।
सुरक्षाकर्मीले भरुवा बन्दुकमा लगाउने बारुद पनि नियन्त्रणमा लिएको छ । कोरोना नियन्त्रणमा सुरक्षाकर्मी केन्द्रित रहेको बेला वनमा शिकारीको चलखेल बढेको सूचना आएकाले खोजी गर्ने क्रममा हतियारधारी शिकारीसँग जम्काभेट भएको एसपी कार्कीले बताए ।
“ठूलो समूहमा वनभित्र रहेका हतियारधारी शिकारीले गोली हान्न थालेपछि हामी डिफेन्स लिएर बसेका थियौं”, दोहोरो गोली हानाहानमा सहभागी एक सुरक्षाकर्मीले भने, “१२ जनाजति थिए, एक जनाको हातमा एउटा बन्दुक थियो ।” भरुवा बन्दुक एक पटक पड्किएपछि पुनः बारुद भर्नु पर्ने भएकाले उनीहरु भागेका थिए।
सशस्त्र प्रहरीको बराह बाहिनी सुनसरीका डीआईजी नगेन्द्रबहादुर थापाले वनमा शिकारीको चलखेल बढेको सूचना पाएपछि सलकपुर बेस क्याम्पबाट सुरक्षाकर्मी परिचालन गरेर सफलता पाएको बताए । भागेका शिकारी र तिनका हतियारका बारेमा वन कार्यालयबाट अनुसन्धान भइरहेको उनले जानकारी दिए ।