सबै रोगका बिरामीको उपचार गर्न स्वास्थ्यमन्त्रीको निर्देशन
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सबै किसिमका बिरामीको उपचारका कुनै कमी हुन नदिन चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का पदाधिकारीलाई निर्देशन दिएका छन्।
न्याम्सका उपकुलपति डा. देवनारायण साह लगायतका पदाधिकारीलाई आज (शुक्रबार) मन्त्रालयमा बोलाएर कोरोना भाइरस (कोभिड-१९) को उपचारको तयारीबारे जानकारी लिने क्रममा मन्त्री ढकालले अन्य बिरामीको उपचारमा पनि कमी हुन नदिन निर्देशन दिएका हुन्।
उनले अहिले मुलुकमा कोरोना भाइरस समुदायमा नफैलिएको स्थितिमा अन्य रोगका बिरामीले नियमित उपचार पाउनुपर्ने निर्देशन दिएका थिए। अन्य रोगका बिरामीले अस्पतालहरुमा भर्ना र उपचार नपाएर मृत्यु भएको समाचार आइरहँदा स्वास्थ्यमन्त्रीले यस्तो निर्देशन दिएका हुन्।
प्रतिष्ठानका पदाधिकारीले सरकारको निर्देशन पालना गर्ने बताउँदै बिरामीलाई कुनै पनि किसिमको असुविधा हुन नदिने जनाएका थिए।
मन्त्री ढकालले स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन सरकारले कुनै कसर बाँकी नराखेको जानकारी दिँदै प्रोत्साहन भत्ता र बीमाको व्यवस्था भइसकेको बताए। उनले व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) अभाव हुन नदिने प्रतिबद्धता समेत व्यक्त गरे।
वीर अस्पतालका कार्यकारी निर्देशक डा केदारप्रसाद सेञ्चुरीले वीर अस्पतालले गरिरहेको तयारीबारे जानकारी दिँदै आगामी सोमबारबाट कोरोनाको नमूना परीक्षण समेत हुने बताए।