कोरोना महामारीः एशियाली शताब्दीलाई नबनोस् जोडदार धक्का
एशियाली विकास ब्याङ्कले सन् २०११ मै पचासको दशक नपुग्दै एशियाली शताब्दी शुरु भइसक्ने र विश्व अर्थतन्त्रमा एशिया निर्णायक शक्ति हुने तथ्य विश्लेषण प्रकाशमा ल्याएको थियो। एशियाली नेतृत्वमा नै विश्व अर्थव्यवस्था निर्माण भएको पुष्टि बेइजिङमा आयोजित बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सम्मेलनमा गरियो। उदीयमान अर्थतन्त्रका रुपमा रहेको चीन रेशमी मार्गको नयाँ चरणमा प्रवेशपछि एकीकृत पूर्वाधार सञ्जालले विश्वका प्रमुख उत्पादन केन्द्रलाई जोड्दै छ। यसले चीन उदीयमान बाघ अर्थतन्त्र हो भन्ने सन्देश दिएको थियो।
अर्थशास्त्री पराग खन्नाका अनुसार बीआरआईले ‘मार्शल प्लान’कै महत्व राख्छ। जसरी दोस्रो विश्वयुद्धपछि अमेरिकी आर्थिक नेतृत्व स्थापित गरेको थियो, यो पनि त्यस्तै उदीयमान आर्थिक शक्तिको संकेत हो। बन्दै गएको बाघ अर्थतन्त्रलाई उदीयमान भारतले पछ्याएको छ, आशियान त्यसपछि छन् भने जापान तथा दक्षिण कोरिया लगायत यसअघिका आर्थिक शक्ति आफ्नो साख जोगाइरहेका छन्। एशियाली आर्थिक क्षेत्र (पश्चिममा अरबियन पेनिन्सुला–टर्की, पूर्वमा जापान–न्यूजिल्याण्ड, उत्तरमा रसिया र दक्षिणमा अष्ट्रेलियाको भाग) ले विश्व आर्थिक उत्पादनको ५० प्रतिशत हिस्सा ओगटिरहेको छ। यही क्रम बढ्दै जाँदा अबको एक दशकमा करीब दुई तिहाइ उत्पादन क्षेत्रको रुपमा एशियाली आर्थिक क्षेत्रको उपस्थिति रहनेछ। पहिला यूरोप, अमेरिका एशिया लगानीका स्रोत थिए, यस शताब्दीमा युरोपेली र अमेरिकीहरु लगानीका लागि एशिया हान्निएका छन्।
अठारौं–उन्नाइसौं शताब्दी यूरोपको र बीसौं शताब्दी अमेरिकाको रह्यो। सन् २०१८ मा भारत, चीन, इण्डोनेशिया, मलेशिया, उज्वेकिस्तान सर्वाधिक उच्च आर्थिक वृद्धिका अर्थतन्त्र बने। ब्रेक्जिट र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका गतिविधिले युरोप–अमेरिकाको अर्थतन्त्रलाई भरथेग नगर्ला कि भन्ने अवस्थामा एशियाली राजनेताहरु आर्थिक प्रोत्साहनका प्याकेजसहित उपस्थित छन्। सबैजसो राजनेताहरु आर्थिक समृद्धि र सामाजिक न्यायलाई राजनीतिको प्राथमिकतामा राख्दैछन्। आर्थिक आधार दह्रिलो नभई आन्तरिक समर्थन र बाह्य पहिचान कायम गर्न नसकिने सोच सी चिनफिङ, नरेन्द्र मोदी, महाथीर मोहम्मदहरुको छ।
संयुक्त राष्ट्र संघका अनुसार सन् २०२० भित्र विश्वका ५० प्रतिशत मध्यम आय वर्ग (दैनिक १० देखि १०० अमेरिकी डलर पीपीपी हुने) एशियामा रहनेछन्। २०३० पुग्दानपुग्दै सबैभन्दा बढी सवारीसाधन एशियामा गुड्नेछन्। एशियाली पूर्वाधार विकास ब्याङ्कको उद्घाटनका अवसरमा भारतीय प्रधानमन्त्री मोदीले भनेका थिए, “यो विश्व आर्थिक वृद्धिको इञ्जिन हुनेछ र एशियाली शताब्दीको रुपमा रहनेछ।” उदीयमान चीन र भारत नै एशियाली शताब्दी बनाउने प्रमुख इञ्जिन हुन्। पीपीपीका आधारमा चीन विश्वको पहिलो अर्थतन्त्र भएको छ, जसले विश्व गार्हस्थ्य उत्पादनको करीब १९ प्रतिशत ओगट्छ। भारत तेस्रो अर्थतन्त्र हो, जसले जापान वा जर्मनी अर्थतन्त्रको झण्डै दोब्बरमा आफूलाई पुर्यायो। अहिले नै मेक्सिको र फ्रान्सभन्दा ठूलो अर्थतन्त्र रहेको इण्डोनेशियाले सन् २०२३ भित्रै रुसी अर्थतन्त्रलाई उछिन्दैछ।
दोस्रो विश्वयुद्धपछिको दशकहरुमा तहल्का मच्चाउने जापान प्रकोप र विपत्तिका बावजुद पनि चौथो अर्थतन्त्रको रुपमा छ। भियतनामी उत्पादनले पनि बेल्जियम र स्वीसलाई जित्दैछ। बाङ्लादेश, श्रीलंका, फिलिपिन्स र थाइल्याण्ड उत्पादनको रफ्तारमा छन्। आर्थिक प्रगति दर यति तीव्र छ कि जापान तथा दक्षिण कोरियाको नाटकीय आर्थिक प्रगति चिनियाँ चमत्कारपछि होचा साबित भएका छन्। क्षेत्रीय सहकार्यका साथ आपसी प्रतिस्पर्धाले गोलार्द्धका अरु महादेशहरु एशियालाई पछ्याउन बाध्य हुँदैछन्। यसबाट के निष्कर्षमा पुग्न सकिन्छ भने, तीन शताब्दीपछि अर्थतन्त्रको सुई पुनः एशियामा आइपुगेको छ। एशिया विश्व अर्थतन्त्रको निर्णायक शक्ति लगभग बनिसक्यो।
सन् १९७८ सम्म चीनको पहिचान घनीभूत जनसंख्या भएको निर्धन राज्यकेन्द्रित अर्थतन्त्र नै थियो। देङ सियाओपिङको आर्थिक उदारीकरण नीतिपछि उसले आर्थिक वृद्धिको छलाङ मारेको छ। यूरोप–अमेरिकालाई अर्थतन्त्र दोब्बर पार्न (इकोनोमिक डबल टाइम) १५ वर्षजति लाग्ने गरेकोमा चीनका लागि त्यो ६ वर्षमै सम्भव भएको छ। चीनको यो चामत्कारिक छलाङपछि आर्थिक उदारवाद, समष्टिगत आर्थिक स्थिरता, बहुराष्ट्रिय कर्पोरेट गुरिल्लाको आकर्षण स्थल, उच्च बचत दर, सबल भौतिक पूर्वाधार, मानव पूँजी निर्माणमा व्यापक लगानी र कडा अनुशासन प्रमुख कारण हुन्। आर्थिक नीति उत्पादनमैत्री बनाइयो, वृद्धिलाई वितरणसाथ सामाजिक न्यायमा केन्द्रित गरियो र विश्वअर्थतन्त्रसँग आन्तरिक अर्थतन्त्रलाई आबद्ध गरियो।
सामान्य आर्थिक वृद्धि हुँदा पनि चीनले बर्सेनि अष्ट्रेलियाली अर्थतन्त्र जत्रो आर्थिक आकार थपिरहेको छ। भारतका तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहले नब्बेको दशकमा शुरु गरेको उदारवादी आर्थिक पुनसंरचना, सन् २०१३ को चिदम्बरम भिजन र मोदीको आक्रामक निरन्तरताले ‘लेम डक’ अवस्थाबाट भारत ‘लिप फ्रग’ मा पुग्यो। आशियानका मुलुकहरु उच्च गतिमा दौडिरहेका छन्। यसबाट के देखिन्छ भने एशियाली शताब्दी चक्रीय नभएर संरचनात्मक छ। कूल गार्हस्थ्य उत्पादन, उपभोग र शहरीकरण जस्ता आर्थिक परिसूचकहरु मात्र बदलिएका छैनन्, प्रविधि छलाङ, अन्तरआबद्धता, इकोनोमिक डबल टाइम, उत्पादन लागत संरचना पनि बदलिएर एशिया उदाइरहेको छ र बाघ अर्थतन्त्रमा परिणत हुँदैछ। विश्वका ३० मध्ये एशियाका २१ शहर प्रविधि, वृद्धि र शहरीकरणका हब तथा सेवा र ज्ञानका केन्द्र बन्दै जानु एशियाली शताब्दीका आधार हुन्। यी हबलाई व्यापार, पूँजी, मानिस, ज्ञान, यातायात, वातावरणीय स्रोतको नेटवर्किङले एक–आपसमा आबद्ध गरी एशियाली पहिचान स्थापित गर्दैछ।
उदाइरहेको एशियालाई नयाँ कोरोनाभाइरस (कोभिड–१९) ले ठूलो झड्का दियो, त्यो पनि चीनको प्रमुख आर्थिक गतिविधि हुने, इनोभेसन इण्डेक्समा निरन्तर अघि बढिरहेको, तीन राष्ट्रिय विकास केन्द्र, चार सूचना प्रविधि पार्क, ३५० अनुसन्धान इन्स्टिच्यूट, १६५६ हाइटेक संस्था र ५०० भन्दा बढी उद्योग सहित बाक्लो आवादी भएको वुहान शहरबाट। यसको तरङ्ग चीन हुँदै दक्षिण कोरिया, सिंगापुर, मलेशिया, इरान, जापानबाट युरोप र अमेरिकासम्म फैलिएको छ। यसले विश्व व्यवस्था र मानव समाजलाई नै ठूलो धक्का दिएको छ। महामारीबाट मृत्यु हुनेको संख्या २१ चैत शुक्रबारसम्म ५३ हजार नाघेको छ। करीब १० लाख प्रभावितमध्ये दुई लाखजति उपचारपछि घर फर्केका छन्।
चीनले जनजीवन सामान्यतर्फ गएको सन्देश जारी गरी महामारी नियन्त्रणमा आफ्नो सफलता पुष्टि गरेको छ। एशियाका केही मुलुकमा पनि महामारी नियन्त्रणमा आइसकेको छ भने बाँकी मुलुकहरु संक्रमण नियन्त्रणका लागि युद्धस्तरमा क्रियाशील छन्। धेरैजसो घना आवादी भएका शहरहरु बन्दाबन्दी (लकडाउन) मा छन्। जनजीवन अस्तव्यस्त छ । संक्रमण नियन्त्रणमा आएपछि पनि महामारीको असर केही महीना रहने देखिएको छ। मूलतः आवतजावत, उत्पादन, आपूर्ति, सेवा व्यवसाय, भेला–गोष्ठी,पर्यटन, निर्माण सामग्रीमा ठूलो असर पर्दैछ।
महामारी रोकथामका लागि यतिवेला हवाई तथा स्थल यातायातहरु मात्र बन्द गरिएका छैनन्, मानिसहरु स्वयम् क्वारेन्टिनमा छन्। सिङ्गै शहरहरु क्यारेन्टिनमा छन्। ब्याङ्क तथा वित्तीय कारोबारदेखि आपूर्ति सञ्जाल प्रभावित छ । यो प्रभाव उदाउँदो एशियालाई दह्रिलो झड्का सावित भयो। तर, प्रमुख प्रभावित देश चीनले आफू संक्रमणलाई नियन्त्रण गर्न सफल भएको र अन्य मुलुकहरुमा सहयोगको तत्परता देखाएकोले आर्थिक गतिविधि छिटै पूर्ववत् अवस्थामा पुग्ने आशा गर्न सकिन्छ। धेरैजसो प्रभावित मुलुकहरु आर्थिक गतिविधिका लागि राहत र उत्प्रेरणा प्याकेज घोषणामा छन्।
एशियाली अर्थतन्त्रमा कहिले एशियाली वित्तीय संकट, कहिले सुनामी, भूकम्प, खडेरी त कहिले महामारी रोगबाट धक्का लाग्दै आएको छ। प्रत्येक सङ्कटले केही शिक्षा पनि दिएको छ। धेरै विपत्ति र ठूला चुनौतीको सामना गर्नुपर्ने अवस्थामा अर्थतन्त्रको लचकता बढाउँदै लैजानु जरुरी हुन्छ। चुनौती सामनाका लागि सुशासन र संस्थाको सुदृढीकरण पहिलो शर्त हो। चीन, जापान, दक्षिण कोरिया यसमा अगाडि भए पनि आशियान, भारत लगायतले थप प्रयास गर्दैछन्। यस क्षेत्रले विकास गर्नुपर्ने अर्को कुरा ‘शक एब्जर्बिङ क्यापासिटी’ (असर शमनको क्षमता) हो । जनस्तरका आर्थिक संरचना र उत्पादन प्रणालीलाई सुदृढ गर्दै राष्ट्रिय अर्थतन्त्र अन्तर्राष्ट्रिय आबद्धतामा पु¥याउनुपर्छ, यो नै एशियन मोडेल हो। चीन, जापान, दक्षिण कोरिया यसमा सफल देखिएका छन्।
एशियाली मुलुकहरुले आपसमा सहकार्य गरी प्रतिस्पर्धामा जानुपर्छ। प्रकोप, महामारी, गरीबी, विपत्ति विरुद्ध साझा प्रयास र रणनीति चाहिन्छ। साझा शत्रु विरुद्धको साझा प्रयासले दिगो समाधान दिन्छ। अमेरिकी–युरोपेली अर्थतन्त्रसँग प्रतिस्पर्धा होइन सहभागिताको रणनीति लिनुपर्छ। किनकि बहुराष्ट्रिय कम्पनी र ज्ञानको भण्डार अहिले पनि उतैतिर छ। साझा र दिगो भविष्यका लागि वातावरणीय सुशासनमा जोड चाहिन्छ। ज्ञान र प्रविधि उत्पादनलाई बढावा दिनुपर्छ। प्रविधि र ज्ञान उत्पादकत्वका दह्रिला स्रोत हुन्। तर उदाउँदो एशिया आर्थिक वृद्धिका शास्त्रीय उपकरणहरु (प्रविधि परिवर्तन, जानसांख्यिक उपयोग र पूँजी सघनता) मा मात्र केन्द्रित छैन। बढ्दो मध्यम वर्गको उपयोग, जलवायु परिवर्तन व्यवस्थापन, सञ्चार क्रान्ति र सांस्कृतिक लाभ व्यवस्थापन जस्ता नवीन संयन्त्रको उपयोग गर्ने रणनीतिमा केन्द्रित रही सामाजिक समृद्धितर्फ अभिमुख छ।
नेपाल जस्ता प्राकृतिक स्रोत, मानव साधन र रणनीतिक अवस्थितिका मुलुकहरुले आफ्ना संभावनाको उपयोगसहित क्षेत्रीय सहकार्यबाट आर्थिक स्पेस पूरा गर्नुपर्छ। यो नै एशियाली समृद्धिको पृथक् पहिचान पनि हुनेछ।