कोरोनाको 'इपीसेन्टर' न्यूयोर्कमा नेपालीः सेल्फ क्वारेन्टिन असम्भव
कोरोना भाइरसको जोखिमको दृष्टिकोणबाट न्यूयोर्क अमेरिकाको इपिसेन्टर बनेको छ । अमेरिकामा शुक्रबार बिहानसम्म संक्रमितको संख्या करिब साढे दुई लाख पुगेको छ भने मृतकको संख्या साढे पाँच हजार नाघेको छ । न्यूयोर्कमा मात्रै करिब ९३ हजारभन्दा बढी संक्रमित भइसके भने मृत्यु हुनेको संख्या दुई हजार पाँच सय नाघिसक्यो ।
न्यूयोर्कको पनि क्वीन्स सबैभन्दा प्रभावित भएको छ । धेरै संक्रमित भएपछि न्यूयोर्क सिटीका काउन्सिलका २५ डिष्ट्रिक्टका काउन्सिलर मेम्बर डेनियल ड्रोमले क्वीन्सलाई कोरोनाको 'इपिसेन्टरको पनि इपिसेन्टर’ घोषणा गरेका छन् । ज्याक्सन हाइटमा नेपाल, चीन, भारत, बांलादेश, पाकिस्तान लगायत एसियाली मुलुकका मानिसको बसोबास धेरै छ । चार वर्षदेखि क्वीन्समा बस्दै आएकी नेपाल–अमेरिका पत्रकार संघ (नेजा) की कोषाध्यक्ष तथा अमेरिकाबाट प्रकाशित एभरेष्ट टाइम्सकी अतिथि सम्पादक मच्छेदेवी गुरुङसँग हिमालखबरका लागि लक्ष्मी बस्नेतले गरेको कुराकानी
तपाईं बसेको ठाउँलाई कोरोना भाइरस जोखिमको दृष्टिकोणले इपिसेन्टरको पनि इपिसेन्टर घोषणा गरिएको छ, त्यहाँको अवस्था बताइदिनुस् न ।
ज्याक्सन हाइट्समा एसियनहरुको बाक्लो बसोबास छ । यहाँ नेपालीहरु धेरै छन् । यो एसियन मुलुकका नागरिकहरु धेरै बस्ने ठाउँ हो । २६ मार्चमा ज्याक्सन हाइट्सका काउन्सिल मेम्बरले इपिसेन्टरको पनि इपिसेन्टर भनेर घोषणा गरे ।
यहाँ एल्मस्ट भन्ने ठूलो सरकारी अस्पताल छ । तर, यहाँ कोरोना संक्रमणको आशंकापछि गएकाहरू भर्ना नै नहुने अवस्था भइसकेको छ । चिकित्सकका अनुसार, एकदमै गम्भीर अवस्थाका बिरामीको चापले नै अस्पताल भरिसकेकोले बिरामीलाई टेन्टमा समेत राखिएका छन् भने आवश्यक उपचार सामग्रीकाे अभाव छ । अस्पताल परिसरमै थुप्रै टेन्ट बनाइएको छ ।
बन्दाबन्दी नै नभनेको अवस्थामा मानिसहरु बाहिर निस्किन्छन् कि निस्किंदैनन् ?
एल्म्ह्रुस्ट अस्पतालमा २५ तारिखमा एकै दिन १३ जनाको कोरोना संक्रमणबाट ज्यान गयो । त्यसपछि घरबाहिर निस्किने त कम भएको छ । हामी पनि करिब १० दिनदेखि बाहिर निस्किएका छैनौं ।
अत्यावश्यक बाहेक सबै सेवा बन्द छ । खाद्यान्न पाइने ग्रोसरी स्टोर र मेडिकलहरु चाहिँ खुला हुन्छ । म बस्ने नजिकै एल्म्ह्रुस्ट हस्पिटल छ, यो ठूलो सरकारी हस्पिटलमा धेरैकाे ज्यान गइसकेकाे छ । सब–वेहरु चलिरहेका छन् । ग्रोसरी, मेडिकलहरु खुलेपछि भीड नै जस्तो हुन्छ । ६ फिट दूरी कायम गर्ने भनिएको छ तर सबैले त्यो नियमको पालना गरेको पाइँदैन ।
एसियनहरु अलि बढी सामानहरु जोहो गर्छन्, यद्यपी यस्तो समयमा कतिपयले अनलाइनबाट पनि अर्डर गर्छन्, तर सबैले होम डेलिभरीका लागि अनलाइन अर्डर गर्न र पैसा तिर्न जान्दैनन् ।
त्यो भएर पनि बाहिर निस्कन्छन् भने यहीँका मानिसहरुको भने खाद्यान्न स्टोर गर्ने चलन नहुँदा पनि किनमेलका लागि बाहिर निस्किन्छन् । ग्रोसरी तथा मेडिकलमा काम गर्नेहरु काममा निस्किरहेका छन् । विद्यालयहरु बन्द छन् । बाहिर निस्किँदा लगाउने मास्क तथा पन्जा र स्यानिटाइजर पनि अभाव छ ।
नेपालीहरु धेरै बस्छन् भन्नुभयो, नेपालीहरुको अवस्था कस्तो छ ?
न्यूयोर्कमा सार्वजनिक यातायात बढी चल्ने भएकाले पनि यहाँँ नेपाली लगायत धेरै एसियनहरुको बाहुल्यता छ । क्वीन्समा धेरै नेपाली, टिबेटियन, बांगाली, पाकिस्तानीहरु बस्छन् । न्यूयोर्कको महँगीको कारणले धेरै जसो आप्रवासीहरु, रुम सेयर गरेर बस्छन् ।
एउटै कोठामा ३/४ जना पनि बस्ने भएकाले सेल्फ क्वारेन्टिन बस्ने भन्ने संभव देखिंदैन । ज्याक्सन हाइट्समै बस्ने अनिल लिम्बुको ११ चैतमा कोरोना संक्रमणबाटै मृत्यु भयो । सार्वजनिक यातायातहरु धेरै प्रयोग हुने भएकाले पनि जोखिम भयो, दुइ हप्ता अघिसम्म हामी नै त्यहीं खोचाखोच ट्रेनमा यात्रा गरेर काममा आवतजावत ग-यौं ।
त्यहींबाट पनि कतिलाई सरेको हुनसक्छ । न्यूयोर्कमा संक्रमणकाल लागू गरेर घरमा बस्न भनिए पनि त्यो सबैले पालना गरेको पाइँदैन । न्यूयोर्कका गभर्नर एन्ड्रयु कुमोले बाहिर निस्कन परेमा ६ फिट दुरी कायम गर्नु भनेर अनुरोध गरेका छन्, तर दुरी कायम गरेको देखिंदैन, त्यही भएर संक्रमितको संख्या बढेको हुन सक्छ ।
कति नेपाली संक्रमित छन् भन्ने बारे कसरी थाहा पाउन सकिन्छ ?
– यहाँ नेपाली भाषामा प्रकाशित पत्रिका तथा अनलाइनहरुले नेपालीहरुको बारेमा कभर गर्ने गर्दछन् । खासमा समुदायमा भएका गतिविधीहरु, नेपालीहरुको सफलताका कथा त्था त्यस्तै अन्य नेपालीसँग जोडिएका विषयलाई प्राथमिकता दिएको पाइन्छ, अहिले कोरोनाको सम्बन्धमा पनि विभिन्न सूचनाहरु तथा प्रभावित नेपालीहरुको बारेमा आइरहन्छन् ।
अहिले चाहिं कोरोनाबाट संक्रमितहरुले कसरी कोरोनालाई जिते भन्ने सकारात्मक सन्देश दिने बिषयलाई प्राथमिकताका साथ प्रकाशन-प्रसारण गरेको देखिन्छ, त्यस्तै अन्य नेपाली समुदायका अगुवाहरुबाट थाहा पाउन सकिन्छ । सकेसम्म यहाँका नेपाली मिडियाले नेपालीहरुलाई संयमित हुन र सुरक्षित हुन मिडियाबाट अनुरोध गर्ने गरेका छन् ।
जस्तै, एक जना नर्स निमा शेर्पा र उहाँका श्रीमानलाई संक्रमण भएको रहेछ, उहाँहरुले चाहिं घरमै बसेर उपचार गर्नुभएको थाहा पायौं । शम्भु मोक्तान र जीवन बम अस्पतालमा उपचारपछि घर फर्केर आराम गर्दै हुनुहुन्छ, । मलाई लाग्छ यस्ता स्टोरीले धेरैलाई यो रोगलाई जित्न सकिनेरहेछ भन्ने सन्देश दिएको छ, जुन कुरा यहाँका नेपाली पत्रिकाहरुले नै बाहिर ल्यायो ।
अरुमा पनि संक्रमण भएको भनेर केही यहीँका नेपाली सञ्चार माध्यमहरुले पनि लेख्ने गरेका छन् । तर एकिन तथ्यांक भन्न सकिंदैन । लक्षण देखिए पनि कतिले लुकाएर राख्ने गर्छन् भने लक्षण देखिने बित्तिकै अस्पताल जाँदा जाँच नगर्ने भएकाले कति संक्रमित छन् भन्न अप्ठ्यारो छ ।
अस्पतालले किन जाँच नगरेको ?
क्वीन्स क्षेत्रलाई इपिसेन्टरको पनि इपिसेन्टर भनिएको छ । यहाँ ठूलो एल्म्ह्रुस्ट अस्पताल छ । म बस्ने पनि क्वीन्समै हो, हिंडेर १०/१२ मिनेटमा पुगिने दुरीमा पर्छ, यो हस्पिटल ।
तर यहाँ गम्भीर संक्रमित बिरामीहरु नै धेरै भएकाले लक्षण देखिने बित्तिकै जाँदा जाँच गर्ने अवस्था छैन । २५ मार्चमा एकैदिन १३ जनाको उपचारकै क्रममा ज्यान गयो, त्यसपछि त्यो संख्या दैनिक बढिरहेको छ । फेरि केही दिन अघि मात्र बिरामीको लाइन अस्पताल बाहिरसम्म भनेर समाचार आएको थियो ।
यस हिसाबले पनि यहाँका धेरैमा लक्षण देखिने संभावना छ । अहिलेको अवस्थामा अस्पतालमा बिरामीको चाप र मृत्यु हुनेका संख्या बढेको देखेपछि त्यस क्षेत्रमा मानिस आउजाउ गर्नसमेत डराउँछन् । अस्पताल नजिकै भएकाले दिनभर, रातभरि एम्बुलेन्सकै आवाज आइरहन्छ ।
त्यहाँको दूतावासले के गरिरहेको छ, नेपालीहरुका लागि ?
केही समस्या आएमा दुतावासमा सम्पर्क गर्न अनुरोध गरेको छ, सम्पर्क नम्बरहरु दिएको छ । यहाँका नेपाली समुदायका अगुवाहरुसँग साप्ताहिक बैठक राखेर कसरी प्रभावितहरुलाई सहयोग गर्न सकिन्छ भनेर समन्वय गर्नको लागि दुतावासले पहल गरेको देखिन्छ ।
नेपालीहरु अहिले एकदमै त्रसित अवस्थामा बसेका छन् । सकेसम्म घरभित्रै बस्न भनिएको छ । तर कहिलेकाहीँ त केही सामान किन्न बाहिर निस्किनै पर्छ । तर म चाहिं १० दिनदेखि बाहिर निस्केकाे छैन ।