६ नेपाली र एक भारतीयले पाए सीमा पारको अनुमति
बन्दाबन्दीका कारण छिमेकी देशको सीमा क्षेत्रका क्वारेन्टिनमा रहेका नेपाल र भारतका नागरिक संवेदनशीलता र अत्यावश्यक अवस्थामा भैरहवा नाकाबाट आफ्नो देश जान/आउन पाउने भएका छन्। स्थानीय तहका सीमा सुरक्षा अधिकारीबीच भएको छलफलमा उनीहरुलाई प्रवेश दिने समझदारी भएको हो।
नेपालको रुपन्देही र भारतको महाराजगञ्ज जिल्लाका सीमा सुरक्षा अधिकारीहरुको शुक्रबार बसेको संयुक्त बैठकले यस्तो समझदारी गरेको हो। समझदारीपछि भारतको नौतवनास्थीत क्वारेन्टिनमा रहेका ६ नेपाली नागरिकलाई नेपाल ल्याएर क्वारेन्टिनमा राखिएको छ। त्यसैगरी भैरहवामा रेहको क्वारेन्टाइनमा रहेका एक भारतीयलाई उता पठाइएको छ।
सशस्त्र सीमा सुरक्षा बल भैरहवाका प्रमुख एसपी तेज पोखरेलका अनुसार सुत्केरी र बिरामी ६ नेपालीलाई यता ल्याइएको हो। त्यसैगरी भारतीयलाई भने किरिया गर्नका लागि उता जान छुट दिइएको हो।
भारतको नौतवनास्थीत क्वारेन्टिनमा तीन सय नेपाली छन्। भैरहवामा रहेको क्वारेन्टिनमा पनि १३५ भारतीय छन्। दुई देशका सुरक्षा अधिकारीहरुको बैठकमा बन्दाबन्दीलाई थप प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको एसपी पोखरेलले जानकारी दिए।