कोरोनाभाइरसको प्रभाव र धान उत्पादनमा कमीले आर्थिक वृद्धिदर घट्ने
चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५.३ प्रतिशतमा सीमित रहने एशियाली विकास ब्यांक (एडीबी) ले प्रक्षेपण गरेको छ। कोरोना भाइरसका कारण अवस्था थप बिग्रिएमा आर्थिक वृद्धिदर अझ घट्न सक्ने एडीबीले जनाएको छ।
एडीबीले शुक्रबार एशियन डेभलपमेन्ट आउटलुक सार्वजनिक गर्दै नेपालको आर्थिक वृद्धिदर गत वर्षको तुलनामा झण्डै दुई प्रतिशत विन्दुले घट्ने आकलन गरेको हो। गत आर्थिक वर्ष २०७५÷७६ मा नेपालको आर्थिक वृद्धिदर ७.१ प्रतिशत थियो।
कोभिड–१९ को रोकथामका लागि गरिएको बन्दाबन्दीले औद्योगिक र सेवा क्षेत्रमा अवरोध छ। रेमिटेन्स घट्ने सम्भावना छ भने धान उत्पादनमा कमी आएको छ। यही कारण यो वर्षको औषत मूल्यवृद्धि ६ प्रतिशत पुग्ने एडीबीको नेपाल माइक्रोइकोनोमिक अपडेटको अनुमान छ। गत आर्थिक वर्षमा मूल्यवृद्धि दर ४.६ प्रतिशत थियो ।
कोभिड–१९ को त्रास चाँडै समाप्त भएर त्यसपछिका आर्थिक गतिविधि सामान्य भए र मनसुन पनि नियमित समयमा भए आगामी आर्थिक वर्ष २०७७÷७८ मा नेपालले ६.४ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्नसक्ने अनुमान पनि एडीबीले गरेको छ। आगामी आर्थिक वर्षमा माथिल्लो तामाकोशी लगायत जलविद्युत र गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लगायत ठूला पूर्वाधार आयोजनाको निर्माण सम्पन्न हुँदैछ।
एडीबीले कोरोना महामारी छिट्टै नसकिए नेपालको अर्थतन्त्रलाई गम्भीर असर पुग्ने जनाएको छ। कोरोनाका कारण विश्वव्यापी मागमा कमी ल्याउने, रेमिटेन्समा असर पर्ने तथा नेपालको बाह्य क्षेत्रमा चाप पर्नेछ।