बन्दाबन्दीमा कसले बचाउने सडकका जनावर ?
जावलाखेलका २२ वर्षे युवा तुलाराम राजवंशी अचेल सडकका कुकुरलाई बिस्कुट र पानी दिनमा व्यस्त छन्। बन्दाबन्दीको चौथो दिनदेखि उनी सडकका कुकुरलाई खुवाउन थालेका हुन्। उनी पशुपक्षीप्रति निर्दयता रोकावट समाज (एसपीसीए) नामक संस्थाका भेटेनरी प्राविधिक हुन्। त्यसैले सडकका बिरामी कुकुरको उपचार पनि गर्छन्।
उनको टोली पशुपतिनाथको मन्दिर परिसर, स्वयम्भु, रत्नपार्क र टिचिङ अस्पताल परिसरमा मासु र भात र मासु लिएर पुग्छ। एसपीसीले पनि सडकमा भेटिएका कुकुरलाई पालिरहेको छ। उक्त संस्थाको रेखदेखमा अहिले ९० वटा कुकुर छन्।
बन्दाबन्दीका कारण मान्छे घरभित्रै थुनिँदा सडकका कुकुर, बाँदर लगायत जनावरको अवस्था दयनीय हुन थालेको छ। पशुपति, स्वयम्भु लगायत स्थानका बाँदरलाई त्यहाँ पुग्ने भक्तजन तथा पर्यटकले खाना दिन्छन्। तर, बन्दाबन्दीपछि नगन्य भक्तजन मात्र त्यता पुगेका छन्।
सडकका कुकुरको खानाको मुख्य श्रोत होटल र घरहरुबाट फालिने खाना हो। बन्दाबन्दीपछि होटल बन्द छन् भने घरबाट मान्छे बाहिर कमै मात्र निस्किएका छन्। अभियन्ता राजवंशी भन्छन्, “शहर सुनसान छ, मान्छे बाहिर ननिस्कँदा कुकुरले पानी समेत पिउन पाएका छैनन्।” दाताहरु खोजेर शहरका विभिन्न स्थानमा कुकुरका लागि मासु, भात, बिस्कुट, ब्रेड, पानी लगायत खानेकुराको जाहो गरेको उनी बताउँछन्।
रोमी लामा सात वर्षदेखि घरमै ३० वटा कुकुर, सात वटा बिराला र एउटा गोरु पाल्दै आएकी छिन्। साथीभाइ र आफन्तको सहयोगमा ती जनावर पालिरहेको उनी बताउँछिन्। अहिले घरमा पालिएको भन्दा पनि सडकका जनावरलाई जोखिम बढेको उनको भनाइ छ।
सडक कुकुरलाई खाना खुवाउँदा कतिपय स्थानीयले फोहोर भएको भन्दै गाली गर्छन्। उनले गाली सहेर पनि सडकका कुकुरलाई खाना र पानी खुवाउने गरेकी छिन्। सडकका कुकुरलाई खाना नखुवाए तिनीहरुबाट मान्छेलाई क्षति हुनसक्ने उनी बताउँछिन्। लामा भन्छिन्, “सडकका कुकुरको बाच्न पाउँने अधिकार छ, तिनीहरुको जिम्मा राज्यका निकायले लिनुपर्छ।”
काठमाडौं महानगरपालिकाभित्रका सडकका जनावरलाई हेरचाह र व्यवस्थापनको जिम्मा वडा कार्यालयहरुको भएको प्रवक्ता ईश्वरमान डंगोल बताउँछन्। अहिलेको बनदाबन्दीमा सडक जनावरलाई खाना खुवाउन काठमाडौँ महानगरपालिकाले तयारी थालेको छ।
महानगरपालिकाको १६ चैतको बैठकले सडक जनावरको विषयमा निर्णय गरेको उनी बताउँछन्। उनी भन्छन्, “बन्दाबन्दी लम्बिँदै जाँदा सडक जनावरहरु संकटमा परेको रिपोट आएको छ। हामीले वडालाई नै खानाको व्यवस्था गर्न आग्रह गरेका छौँ।”
ललितपुर महानगरपालिकाले पनि सडकका प्रत्येक जनावरलाई दैनिक रु.२५ सम्मको खाना खुवाउने योजना ल्याउन लागेको प्रवक्ता राजु महर्जन बताउँछन्। उनी भन्छन्, “पशु कल्याणकारी संघसंस्थासँग समन्वय गरी स्वयमसेवकहरु मार्फत सडकका जनावरलाई खुवाउने योजनामा छौँ।” सडकका कुकुर, बाँदर, गाईबस्तु र पशुपक्षीलाई खाना खुवाउने उनी बताउँछन्।