कर्णालीमा परीक्षण गरिएका ४ व्यक्तिको रिपोर्ट नेगेटिभ
कर्णाली प्रदेशको वीरेन्द्रनगरस्थित प्रदेश अस्पतालमा कोरोना भाइरसका शंकास्पद ४ बिरामीको स्वाब जाँच गर्दा नेगेटिभ देखिएको छ।
पहिलो पटक कर्णालीमै कोरोनाको स्वाब परीक्षण गरिएका चारैजनाको रिपोर्ट नेगेटिभ आएको प्रदेश अस्पतालले जनाएको छ ।
परीक्षण गरिएका ती बिरामीको स्वाब नमूना जाँच गर्दा रिपोर्ट ‘नेगेटिभ’ आएको स्वास्थ्य सेवा निर्देशक रिता भण्डारी जोशीले जानकारी दिइन् ।
“भारतबाट आएका ४ जनाको ‘पहिलो टेस्ट गर्दा नेगेटिभ रिपोर्ट आयो”, उनले भनिन्, “अन्यको टेस्ट गरेर प्रत्येक दिन साँझ ५ बजे रिपोर्ट सार्वजनिक गर्ने भएका छौं ।”
नमूना जाँचका लागि काठमाडौंबाट आएका प्रयोगशाला विज्ञको रुपमा रामकृष्ण श्रेष्ठले ल्याब टेक्निसियनलाई सिकाइरहेको र ६ जनाले प्रयोगशालामा सिकिरहेको उनले जानकारी दिइन् ।
उनका अनुसार प्रदेश अस्पतालमा उपलब्ध मेसिनबाट १ घण्टामा १ रिपोर्ट निकाल्न सकिने र १८ घण्टा काम गरेर भए पनि १५ वटा जाँच गर्ने लक्ष्य रहेको छ । अहिले ५ सय नमूना जाँचका लागि सामान उपलब्ध भएको बुझिएको छ ।
प्रयोगशालामा पूर्वाधार अभाव भएकाले लकडाउनका कारण काठमाडौंबाट आवश्यक सामानहरू ल्याउन कठिनाइ भएको अस्पतालले जनाएको छ ।
हाल प्रदेश अस्पतालमा जाँच गर्ने जनशक्तिका लागि २० सेट जति व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) रहेको छ । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्रालयले कर्णाली प्रदेशभर कम्तीमा ४५ जनाको दैनिक रुपमा जाँच गर्न सकिने आशा गरिएको जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार स्वाब जाँचका लागि अधिकांश भारतबाट आउने नै प्राथमिकतामा रहेका छन् ।
यज्ञराज थापा, सुर्खेत