चट्याङले दुई जनाको मृत्यु
धादिङ र रुकुम पश्चिममा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।
उत्तरी धादिङको खनियाबास गाउँपालिका–२ गोरगङमा बुधबार चट्याङ पर्दा एक जनाको मृत्यु भयाृ भने तीन जना घाइते छन्। मृत्यु हुनेमा खनियाबास गाउँपालिका–२ गोरगङका ४० वर्षीय रामसिंह तामाङ छन्।
घरअगाडि कुखुराको खोर बनाइरहेका वेला उनलाई चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय, धादिङका प्रहरी नायब उपरीक्षक रूपक खड्काले जानकारी दिए। चट्याङमा परेर खनियाबास गाउँपालिका–२ थलीका पार्वती तामाङ र मनकुमारी तामाङ घाइते भएका छन्।
चट्याङले दुई घरमा क्षति पुगेको छ। गाउँमा विद्युत् सेवासमेत अवरुद्ध भएको झर्लाङका सामाजिक कार्यकर्ता प्रेम तामाङले जानाकारी दिए।
त्यस्तै दिउँसोको समयमा परेको चट्याङबाट सोही गाउँपालिका–२ क्यूङ निवासी आसमाया तामाङ घाइते भएकी छन्। सबै घाइतेको गाउँको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।
उता, रुकुमपश्चिममा पनि चट्याङ लागेर बुधबार एक जनाको मृत्यु भएको छ। त्रिवेणी गाउँपालिका–४ मा चट्याङ लागेर मामाघरमा बस्दै आएकी गङ्गादेव गाउँपालिका रोल्पाकी १३ वर्षीया निर्मला खत्रीको मृत्यु भएको हो।
चट्याङ लागेर अन्य आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक ठगबहादुर केसीले बताए। उनका अनुसार बेलुकी साढे ६ बजेतिर स्थानीय गङ्गाराम खड्का र प्रकाश विकको घरमा चट्याङ परेको थियो।
चट्याङ लागेर प्रकाशकी २० वर्षीया श्रीमती अनिता विक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।