बन्दाबन्दी लागू भएयता मात्रै १२ वटा अन्तर्राष्ट्रिय चार्टर उडान
सरकारले ११ चैतदेखि मुलुकमा बन्दाबन्दी (लकडाउन) घोषणा गरेयता नेपाल आउन र बाहिरिने अन्तर्राष्ट्रिय उडानका निम्ति १२ वटा विमान कम्पनीले चार्टर उडानको अनुमति लिएका छन् ।
बन्दाबन्दीपछि तीन विदेशी वायुसेवा र एक राष्ट्रिय ध्वाजावाहके उडान अनुमति लिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।
प्राधिकरणका अनुसार बन्दाबन्दी भएपछि कतार एयरवेजले ६ वटा, नेपाल वायुसेवा निगमले चारवटा, कोरियन र इत्तिहाद एयरले १-१ वटा उडान अनुमति लिएका छन् ।
यसमध्ये नेपाल वायुसेवा निगमले एउटा उडान आज बुधबार साँझ गर्दै छ भने अर्को भोली बिहीबारको लागि तय भएको छ । बाँकी चार्टर अनुमति लिएका विदेशी वायुसेवाले उडान गरिसकेको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।
उनका अनुसार सामान्य अवस्थामा प्राधिकरण आफैले चार्टर र उद्दार उडानको अनुमति दिने गरेको भएपनि अहिले बन्दाबन्दीको समयमा भने परराष्ट्र मन्त्रालयमार्फत अनुमति माग्नुपर्छ । त्यसपछि गृह, पर्यटन मन्त्रालय हुँदै प्राधिकरण पुग्नुपर्छ । प्राधिकरणपछि विमानस्थलका विभिन्न निकायलाई जानकारी दिने गराइन्छ ।
गृह मन्त्रालय अन्तर्गत विमानस्थलमा अध्यागमन रहेको छ । सो निकायलाई गृह र प्राधिकरणले दुबै तर्फबाट जानकारी दिनुपर्छ । विमानस्थलमा रहेका सबै निकाय परिचालनको लागि प्राधिकरणले उडानको जानकारी गराउने विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले बताए ।
बन्दाबन्दीकै अवधिमा सिधै प्राधिकरणसमक्ष उडान अनुमति माग्ने, आवश्यक सोधपुछ गर्ने क्रम बढिरहेको भएपनि परराष्ट र गृहबाट नै अनुमति लिएर आउनुपर्छ ।
त्यसैले अनुमति माग्न चाहने सबै वायुसेवालाई पहिलो प्रयास नै परराष्ट्रमार्फत गर्न लगाउने गरिएको जानकारी विमानस्थल कार्यालयले दिएको छ ।
नेपालको हवाई क्षेत्रको नियमामक निकाय प्राधिकरण भएकोले सामान्य अवस्थामा आन्तरिक र वाह्य वायुसेवाको लागि सिधै अनुमति दिन सकिने भएपनि अहिलेको परिस्थितिमा भने गृहको अनुमति अनिवार्य लिनुपर्ने हुन्छ ।
प्राधिकरणबाट चार्टर उडान अनुमति लिन स्वदेशी र विदेशी दुबै प्रकारका वायुसेवाले भ्याटबाहेक प्रति उडान ५० डलर तिर्नुपर्ने व्यस्था छ । विदेशी वायुसेवाको हकमा हरेक चार्टर उडानमा अनुमति लिनुपर्छ । तर, आन्तरिक वायुसेवाले भने एक पटक लिएको अनुमति १५ दिनसम्म प्रयोग गर्न पाउने व्यवस्था विमानस्थल सेवाशुल्क नियमावली २०६७ ले गरेको छ ।
चार्टर उडानबाट नै नेपाल वायुसेवा निगमको ए३३० वाइडबडी जहाज आज बुधबार साँझ अस्ट्रेलिया जाने भएको छ । निगमका प्रवक्ता अर्चना खड्काका अनुसार साँझ ५ः३० बजे निगमको एक वाइडबडी जहाज अस्ट्रेलियन दूतावासले बुकिङ गरे अनुसार २६४ जना यात्रु लिएर अस्ट्रेलिया जाँदै छ ।
निगमको जहाज मलेसिया ट्रान्जिट भएर पहिलोपटक अस्टे«लिया जान लागेको हो । २७४ सिट क्षमताको यो जहाज करिब २५ घण्टाको उडानपछि काठमाडौं फर्कन्छ ।
निगको यो जहाज काठमाडौंबाट उडेको चार घण्टामा मलेसियाको क्वालालम्पुर पुग्ने छ । त्यहाँ जहाज अवतरण गरेर आवश्यक इन्धन भर्ने र पुनः अस्ट्रेलियाको ब्रिस्बेन उड्ने छ ।
यस अघि सिड्नी जाने गरी उडान तालिका तय भएपनि सो स्थानमा आफ्ना नागरिकलाई क्वारेन्टिनमा राख्ने व्यवस्था नमिलेपछि अस्ट्रेलियाले ब्रिस्बेन लैजाने गरी उडान गन्तव्य तय गरेको जानकारी पनि निगमकी प्रवक्ता खड्काले दिईन् ।
निगमको अर्को वाइडबडी जहाज भने भोली बिहीबार पुनः स्वास्थ्य सामग्री लिन चीन जाँदै छ । भोली बिहान १०ः३० बजे चीन जाने उक्त जहाज बेलुका ८ः३० बजे फर्कने भएको छ । यो जहाजले चीनबाट करिब २४ हजार किलो स्वस्थ्य सामग्री ल्याउने गरी कार्यतालिका तय भएको पनि निगमले जानकारी दिएको छ ।