त्यो हैजा, यो कोरोना
अहिले कोभिड १९ झैं नेपालले १३५ वर्षअघि हैजाको महामारी भोगेको थियो, जसमा काठमाडौं उपत्यकामा मात्र करीब ९००० जनाले ज्यान गुमाएका थिए ।
- टम रोबर्टसन्
सन् १८८० को दशकमा काठमाडौं एउटा सानो ठाउँ थियो । यो शहर करीब १.५ किमीमा फैलिएको थियो, जसको जनसंख्या ५० हजार जति मात्र थियो । पूरै देशको जनसंख्या करीब चार लाख हुनुपर्छ ।
१७६८ पछिको बसाइँ–सराइ र १८४६ पछि बनेका राणा शासकका दरबारहरूले शहर विस्तार शुरु गरेका थिए । सरसफाइको अवस्था नाजुक थियो ।
लैनचौरस्थित ब्रिटिश रेजिडेन्सीका डा.जी एच गिम्लेटले काठमाडौंंको खराब स्वास्थ्य स्थितिको वर्णन गर्न खासै बल गर्नु परेन । द ब्रिटिस मेडिकल जर्नल सन् १८८६ मा छापिएको उनको छोटो ‘रिपोर्ट अन् द कोलेरा इपिडेमिक अफ १८८५ इन् काठमाडौं’ शीर्षकको लेखमा उनले लेखेका छन्, ‘शहरको फोहोर वर्णन गर्न सकिने अवस्थामै थिएन ।
साँघुरा गल्ली र सडकहरूका दुवै किनारामा गहिरो नाला छ । १८ इन्च चौडा त्यो नाला दुर्गन्धित कालो हिलो माटोले भरिएको छ । मल र फ्याँकिएका हरेक चिजले बाटो बनाउँदै बगिरहेको छ । सबै बाटाघाटा हरपल दुर्गन्धित, गर्मी मौसममा पानी परेका वेला त बिरामी परिएला झैं हुन्छ। घरहरू पनि प्रायः झुरुप्प परेका र हावा ओहोरदोहोर गर्न नमिल्ने खालका (भेन्टिलेसनरहित) ।’
हैजाले विश्वमा १८२३, १८३१, १८४३, १८५६, १८६२, १८६७, १८७२, १८७४ र १८७५ मा उत्पात मच्चायो । १८५६ र १८७२ को महामारीले धेरैको ज्यान लियो । १८७२ मा त प्रत्येक दिन २०० देखि २५० मानिस मरिरहेका थिए ।
मानिसहरूले हैजा कसरी फैलिन्छ भनेर भर्खर थाहा पाउँदै थिए । स्वास्थ्यसम्बन्धी जानकारी प्रवाह गर्नु आवश्यक थियो । यसका साथै सतर्कता र सुझबुझपूर्ण सरकारी कदम पनि उत्तिकै जरुरी थियो ।
शहरमा खाद्यान्न पुर्याउन निक्कै गाह्रो भयो । नेपालका हरेक उपत्यकामा भएका खेतीयोग्य जमिन मासिंदै गएका थिए । १८८० को दशकमा काठमाडौं आएका गिम्लेटको अनुभवमा उपत्यकाको खेतीयोग्य सीमित जमिनले विद्यमान जनसंख्यालाई सकेसम्म धेरै उब्जनी दिइरहेको थियो । त्यस वेला देखिइरहने रोग टाइफोइड ज्वरो, क्रोनिक डिस्पेप्सिया (जीर्ण अपच), गलगाँड, सिफलिस (योनांगमा घाउ भएर पाक्ने) आदि थिए । सिफलिसबारे उनले लेखेका छन्– ‘नेपाली पुरुषका लागि यो संक्रमण देखिनु अपवाद नभई सामान्य नियमजस्तै छ ।’
गिम्लेट हैजाको महामारीबारे नेपालीहरूमा रहेका अन्धविश्वासहरूप्रति चिन्तित थिए । यसअघि विभिन्न समयमा आएका हैजाबारे नेपाली कहिले महामाईलाई दोष दिन्थे त कहिले कहिले आकाशमा शनि ग्रहको अवस्था र अशुभ दिनमा परेको राजा सुरेन्द्रको १८ औं जन्मदिन (वि.सं. १८८८) आदि लाई ।
गिम्लेटसँग तर्क थिए तर यस्तो पनि लाग्छ कि उनी बेलाबेला औपनिवेशिक आत्मरति पनि प्रदर्शन गरिरहेका छन् । किनकि १८४९ मा लण्डनमा देखिएको हैजा महामारीको स्रोत धाराको फोहोर पानी हो भनेर जोन स्नोले पत्ता लगाएको धेरै पनि भएको थिएन । त्यस अघि र पछि पनि पश्चिमाहरूमा यो रोगको कारणबारे विभिन्न अवैज्ञानिक र विचित्र खालका तर्क गर्ने प्रवृृत्ति रोकिएको थिएन ।
गर्मीसँगै हैजा
१८८५ मा नेपालमा गर्मी अत्यधिक थियो, पानी पनि धेरै परेको थियो । गिम्लेटले शहरमा गर्मीसँगै सापेक्षिक आद्र्रता बढेर हप्पहप्प भएको अनुभव पनि लेखेका छन् ।
हैजाको पहिलो लक्षण मे महीनाको मध्य (जेठको शुरुआती) तिरै देखिएको थियो । हरेक दिन ५–६ जना मरिरहेका थिए । जेठको मध्यसम्म त दिनहुँ मृत्यु हुनेको संख्या १०–१२ नै पुगिसकेको थियो ।
यी बेलायती चिकित्सकले बिरामीको उपचारका लागि तत्काल अस्थायी क्लिनिक सञ्चालन गर्न दरबारलाई निरन्तर आग्रह गरिरहे । तर, राणा शासकहरूले सुनेको नसुनेझैं गरे ।
अन्ततः सरकारले गिम्लेटले माग गरेभन्दा निकै सानो ठाउँ दियो । तर, त्यो पनि औषधालय खोल्न, उनी त बिरामीलाई भर्ना गरेर उपचार गर्ने ठाउँ खोजिरहेका थिए ।
त्यस वेला गरिएको अर्को एउटा गलत निर्णयले ‘आगोमा तेल’ थप्ने काम गर्यो । संभवतः भारत पठाइन १५ हजारभन्दा बढी सेना काठमाडौं ल्याएर जम्मा गरियो । केही सैनिक बिरामी भए र केहीलाई तत्कालै घर पनि पठाइएन । दुई हप्तासम्म परेड खेलाएर आनन्द मानेर बसे । १ जून १८८५ मा मात्र तिनलाई घर पठाइयो । तर, त्यस वेलासम्ममा धेरै ढिला भइसकेको थियो ।
हुनसक्छ, सैनिकहरूसँगै हैजा देशभर फैलियो । काठमाडौंमा मर्नेहरूको संख्या अचानक बढ्न थाल्यो । मृत्युदर प्रतिदिन ५० जना भन्दा बढी हुन थाल्यो । पहिले पाटनमा र पछि भक्तपुरमा । पहाडी क्षेत्रमा समेत फैलियो ।
यति धेरै मानिसको ज्यान गइरहेका वेला पनि ब्रिटिस रेजिडेन्सीका सेनाहरूलाई भने केही भएन । यसको श्रेय गिम्लेटलाई नै जान्छ । उनले सरसफाइ र क्वारेन्टिनमा ध्यान दिए ।सबैलाई निश्चित दूरीमा राखे ।
१४ जून सम्ममा हैजाले दरबारमा धावा बोलिसकेको थियो । त्यस साँझसम्म दासी र नोकरचाकर गरी २५ जनाको मृत्यु भइसकेको थियो ।
‘त्यसपछि बल्ल त्रास उत्पन्न भयो र तुरुन्त दरबार खाली गरियो’ गिम्लेटले लेखेका छन्, ‘मृतकहरूलाई पशुपतितिर लगियो ।’ बाँकी सबै पाटन र भक्तपुरका दरबारतिर भागे । अनि ती स्थानहरू पनि तुरुन्तै रोगका नयाँ केन्द्रमा परिणत भए ।
घाटको दुर्दशा
२९ जूनमा प्रचण्ड गर्मी र झमझम पानी पर्यो । त्यसको भोलिपल्टदेखि त दैनिक १०० भन्दा बढीको मृत्यु हुन थाल्यो । यस्तो अवस्था केही दिनसम्म रहिरह्यो । गिम्लेट दैनिक घाटहरूको भ्रमण गर्थे । र, उनले मानवता बचाउन संघर्ष गरिरहेको नेपाली समाजलाई नियाल्थे । उनले घाटलाई मरेका र मर्न लागेकाहरूको भीडका रूपमा वर्णन गरेका छन् । हैजाले भेटेका असाध्य बिरामीलाई घाटको नदी किनारामा ल्याएर छाडेको पनि उनले देखे ।
यो दृश्य अत्यन्त भयावह थियो । सक्नेले बितेका आफन्तजन जलाए तर ‘गरीब र तल्लोजातका शव खोलामै फ्याँकिए । कुकुर, स्याल र गिद्दले लास तानेर किनारामा ल्याउँदै लुछ्दै गरे’, गिम्लेटले लेखेका छन् ।
जुलाईको चिसोले शहरलाई केही राहत दियो तर हैजा फेरि फर्कियो । यसपटक शहर नजिक काँठक्षेत्रका मानिसहरूलाई सोत्तर पार्यो । अगस्टमा भने मृत्युदर कम भयो । अन्ततः सेप्टेम्बरको पहिलो सातातिर महामारी नियन्त्रणमा आयो ।
सरकारले महामारीले काठमाडौं उपत्यकामा मात्रै ९००० भन्दा बढी मानिस मरेको घोषणा गर्यो । गिम्लेटलाई यो अनुमान अलि धेरै हो कि भन्ने पनि लाग्यो तर जीवनको मूल्यका अघि संख्याको अनुमान गौण हो भन्ने उनलाई लाग्यो । त्यसैले पनि यसको पुष्टि गर्नतिर उनी लागेनन् ।
महामारी सकिएपछि पनि गिम्लेट ढुक्क हुन भने सकेनन् । उनलाई सरसफाइमा गरिएका लापरवाही र सरकारी उदासिनताका कारण अझै घातक महामारी फैलन सक्छ भन्ने चिन्ता भइरह्यो । उनी लेख्छन्, ‘काठमाडौं र अरु शहरहरूमा देखिएको फोहोर, दुर्गन्धले कुनै पनि बेला महामारी सल्कन बेर लाग्दैन । र, महामारी फैलिन नदिन दरबारले केही गर्ला भन्ने पनि मलाई लाग्दैन’, उनले लेखेका छन् ।
-रोबर्टसन् (पीएचडी), काठमाडौं उपत्यकाको वातावरणीय इतिहासबारे अध्ययन गरिरहेका छन् ।