गीत सङ्गीतलाई मनोरञ्जनको एउटा साधनका रुपमा मात्रै होइन स्वास्थ्यको दृष्टिकोणबाट पनि हेरिनुपर्छ ।
एकजना बृद्ध सङ्गीतज्ञ कुनै वनको बाटो हुँदै जाँदै थिए । उनीसँग सुनका थुप्रै मुद्रा पनि थिए । जङ्गलको बाटो हिँडिरहेका बेला उनलाई केही डाँकाले समाते ।
डाँकाहरुले ती सङ्गीतज्ञसँग भएका सबै मुद्रा त लिए नै उनको वाद्ययन्त्र भोइलिन पनि लुटे । भोइलिनसँग उनको प्रगाढ प्रेम थियो । बृद्धले भोइलिन फिर्ता गरिदिन डाँकाहरुसँग धेरै अनुरोध गरे । ती बृद्धले आफ्नो सम्पत्ति नमागेर किन सामान्य वाद्ययन्त्र फिर्ता गरिदिन अनुनय विनय गर्दैछन् ?
डाँकाहरु चकित भए र यो बाजा हाम्रो लागि के काम ? भन्दै फिर्ता गरिदिए । भोइलिन फिर्ता पाएकाले ती सङ्गीतज्ञ खुशी हुँदै नाचे, उफ्रिए । अनि त्यहीं बसेर बजाउन शुरु गरे । अमावास्य (औंसी)को रात थियो ।
त्यो निस्तब्ध अन्धकार वनमा उनले बजाएको भोइलिनको स्वर अलौकिक तवरले गुञ्जन थाल्यो। शुरुमा ती डाकाहरु बृद्धको छेउमा बसेर सुनि मात्र रहे । विस्तारै उनीहरुका आँखा रसाउन थाले र सँगै उनीहरुको चित्त पनि सङ्गीतको रसमा बग्न थाल्यो । अन्त्यमा भावविभोर हुँदै डाकाहरु ती बृद्ध सङ्गीतज्ञको पाउमा परे । ती डाकाहरुले बृद्धलाई उनको मात्र होइन अरु धन समेत थपेर दिए र वन बाहिरसम्म पुर्याइदिए ।
यो कतै सुनेको कथा हो । सङ्गीतमा कति शक्ति हुन्छ ? आज यसैबारे केही चर्चा गरौं ।
सङ्गीतले मानव स्वास्थ्यमा पार्ने सकारात्मक प्रभावबारे कमै मान्छेलाई मात्र थाहा छ । सङ्गीत र स्वास्थ्यलाई जोडेर हेरौं । हामी गीत सङ्गीत सुन्छौं । गीत सङ्गीत सुन्दा कुनै बेला रुन्छौं, कुनै बेला हाँस्छौं । सङ्गीतले मान्छेको मन, मस्तिष्क, मुटु तीनै ठाउँमा जोडदार प्रभाव पार्छ । सङ्गीतको ताल, आवाज, आरोह–अवरोह, मिठासले वेग्लै अनुभूति गराउँछ ।
मस्तिष्कले गीत सङ्गीतको ताल, लय, उचाइ, मिठासलाई छुट्टाछुट्टै रुपमा ग्रहण गर्छ । रुवाउने, हँसाउने मात्र होइन जीउ सिरिङ्ग पार्दै तर्साउन पनि सक्छ । ‘फाष्ट बिट’को म्युजिकले मान्छेको हृदयको गति बढाउँछ, रक्तचाप (ब्लड प्रेसर), श्वासप्रश्वास र उत्तेजना बढाउँछ । त्यस्तै ‘स्लो बिट’को गीत र मधुर सङ्गीतले हृदयको गति घटाउँछ । रक्तचाप, श्वासप्रश्वास, उत्तेजना घटाउने, मन शान्त पार्ने र निद्रा समेत लगाउने जस्ता प्रभाव पार्नसक्छ । अर्थात् सङ्गीतअनुसार फरक फरक प्रभाव र असर सिर्जना गर्न सक्छ ।
सङ्गीतको प्रभाव
मनछुने खालको सङ्गीत छ भने मान्छेको दिमागमा एक प्रकारको तरङ्ग सिर्जना हुन्छ । त्यसले डोपामिन नामको रसायन उत्पादन गर्छ । त्यो रसायनले मुड नै प्रभावित गरिदिन्छ । अर्थात् सङ्गीतले खुसी बनाउन वा दुःखी बनाउन सक्छ । मुटुको धड्कन बढाउन वा घटाउन सक्छ । यसरी सङ्गीतले मानव स्वास्थ्यमा प्रभाव पार्ने तथ्य विभिन्न अनुसन्धानहरुले पुष्टि गरिसकेका छन् ।
सङ्गीतले मान्छेलाई सकारात्मक सोच्न प्रेरित गर्न सक्छ । मुड बिग्रिएको छ भने सङ्गीत सुन्नुस्, राम्रो हुन्छ । मुड राम्रो भयो भने मान्छेको स्वास्थ्यमा स्वतः सकारात्मक प्रभाव पर्छ । त्यसैले मनपर्ने गीत सङ्गीत सुनौ, मुड राम्रो बनाऔं ।
मानसिक तनाव घटाउन सङ्गीतले राम्रो भूमिका खेल्छ । हिजोआज धेरै मानिस मानसिक तनावमा छन् । आफूलाई मनपर्ने शान्त प्रकृतिको गीत सङ्गीत सुन्ने गर्यो भने मन शान्त हुन्छ । तनाव घट्छ र डर त्रास पनि हट्छ ।
कुनै व्यक्तिको शल्यक्रिया गर्नुपर्नेछ वा दाँत फुकाल्नुपर्नेछ भने त्यस्ता वेलामा डराउने गरेको त अनुसन्धानले नै पुष्टि गरिसकेको छ । धेरैजनामा हृदयको गति बढ्ने, रक्तचाप बढ्ने, शल्यक्रिया अघि निद्रै नलाग्ने जस्ता समस्या देखिन्छन् । यस्तो अवस्थामा उसलाई सङ्गीत सुनाइदियो भने शल्यक्रिया गर्ने डाक्टरलाई समेत सजिलो हुन्छ । शल्यक्रियाका कारण हुनसक्ने जटिलताहरु पनि कम हुन्छन् ।
अमेरिकी नेशनल लाइब्रेरी अफ मेडिसिन, नेशनल इन्स्टिच्यूट अफ हेल्थले सन् २००९ को जुलाईमा एउटा अध्ययनको नतीजा सार्वजनिक गरेको थियो– “रिल्याक्सिङ म्यूकिज एज प्रि मेडिकेशन बिफोर सर्जरीः अर्याण्डमाइज्ड कन्ट्रोल्ड ट्रायल” शीर्षकमा । शल्यक्रियाको पर्खाइमा बसेका बिरामीलाई प्रायः डर र चिन्ता हुन्छ । त्यस्तो चिन्ता र डर हटाउन औषधि दिइन्छ । यसको विकल्पमा आरामदायी सङ्गीत प्रयोग गर्न सकिन्छ भन्ने निष्कर्ष यही अध्ययनले प्रस्तुत गरेको छ ।
यो अध्ययनका लागि शल्यक्रिया गर्न ठीक गरिएका ३७२ जना बिरामी छनौट गरिएको थियो । उनीहरुमध्ये केहीलाई शून्य दशमलव शून्य पाँचदेखि शून्य दशमलब १ मिलिग्राम प्रति केजी मिडाजोलाम (लठ्याउने औषधि) मुखबाट दिइएको थियो र केहीलाई रिल्याक्सिङ (आनन्ददायक) सङ्गीत सुनाइएको थियो ।
सङ्गीतको प्रयोग शल्यक्रिया अघि र पछि गरिएको थियो । त्यसको नतीजा विश्लेषण गर्दा सङ्गीतको कोर्ष पूरा गरेका मध्ये १७७ बिरामीको ‘स्टेट एन्जाइटी स्कोर’ शुरुमा ३४ र पछि, ३० मा झरेको पाइयो । त्यस्तै मिडाजोलाम दिइएका १५० बिरामीको स्कोर शुरुमा ३६ र पछि ३४ पाइयो । यसले, चिन्ताको मात्रा, औषधि प्रयोग गर्नेमा भन्दा सङ्गीत प्रयोग गरिएकाहरुमा कम देखियो । उनीहरुमा आत्मविश्वास बढेको समेत पाइयो ।
यस्तै अर्को एक अनुसन्धानले सङ्गीतको जस्तै प्रभाव ॐ उच्चारणले पनि गर्न सक्छ भन्ने प्रमाणित भएको छ । अध्ययन अनुसार शल्यक्रिया अगाडि र पछाडि बिरामीले आँखा चिम्लेर १० मिनेटसम्म ॐ उच्चारण गर्यो भने पनि अप्रेशन सहज हुने; जटिलताहरु कम हुने पाइएको छ । यसबाहेकशल्यक्रियापछि पीडा कम हुने मात्र होइन स्वास्थ्य लाभ पनि चाँडो हुने गरेको तथ्य पत्तो लागेको छ ।
मानसिक तनाव घटाउन सङ्गीतले राम्रो भूमिका खेल्छ । हिजोआज धेरै मानिस मानसिक तनावमा छन् । आफूलाई मनपर्ने शान्त प्रकृतिको गीत सङ्गीत सुन्ने गर्यो भने मन शान्त हुन्छ । तनाव घट्छ र डर त्रास पनि हट्छ ।
अनिद्राबाट पीडित व्यक्तिहरुलाई पनि सङ्गीतले निद्रा लगाउन र आनन्द अनुभूति गराउन मद्दत गर्छ । निद्रा नलाग्ने समस्या भएकाहरुलाई सुत्ने बेलामा मनपर्ने र शान्त प्रकृतिको सङ्गीत सुनाउँदा लाभ पुगेको पाइएको छ । ५–१० मिनेटको सङ्गीत ‘अटो स्टप’मा राखेर ओछ्यानमा पल्टियो भने सङ्गीत सुन्दै निदाउन सकिन्छ । यस्तो शक्ति छ– सङ्गीतमा । यसले ट्र्याङ्क्यूलाइजर (निद्रा लगाउने औषधि) को काम गर्छ ।
कसैलाई क्यान्सर वा हृदयाघात भएको छ भने त्यस्ता कडा रोग लागेका मान्छेको मन र मस्तिष्कमा गम्भीर असर परेको हुन्छ । उनीहरु मध्ये धेरैमा नैराश्यता, त्रास, चिन्ता उत्पन्न भएको हुन्छ । त्यस्ता बिरामीले नियमित रुपमा सङ्गीत सुन्ने गरेभने रोगसँग लड्ने उत्साह पैदा हुन्छ ।
उपचारमा सकारात्मक प्रभाव पर्छ र रोगलाई सहज रुपमा ग्रहण गर्ने क्षमता बृद्धि गराउँछ । नैराश्यता, चिन्ता र त्रास कम गराउन मद्दत पुग्छ । त्यसैले यस्ता बिरामीलाई उपचार गर्न सङ्गीत प्रयोग गर्ने चलन छ । म्युजिक थेरापी भन्ने छुट्टै विधा पनि विकास भइसकेको छ ।
सङ्गीतले व्यायामलाई पनि प्रभावकारी बनाउँछ । सङ्गीतको तालसँगै व्यायाम गरियो भने यसको प्रभावकारिता बढ्छ । सङ्गीत सुन्दै व्यायाम गर्दा अल्छी लाग्दैन ।
सङ्गीतले स्मरण शक्ति बढाउँछ भन्ने पनि अनुसन्धानबाट पत्तो लागेको छ । सङ्गीतमा भएको ताल, मिठास, आरोह अवरोह आदिले दिमागमा एकखालको कम्पन्न उत्पन्न हुन्छ । यो कम्पनका कारण दिमागमा केही रसायन उत्पादन हुन्छ । जसले दिमागको कोषिकाहरु बृद्धि गराउने, कोषिकाहरुलाई पोषिलो र सक्रिय बनाउने काम गर्छ ।
दिमागको कोषिका सक्रिय भएसँगै बिर्सिएका कुराहरु याद हुन थाल्छन् । स्मरण शक्ति बढाउने भएकैले अल्जाइमर रोग लागेकाहरुलाई म्युजिक थेरापी गर्दा पुराना र बिर्सिएका कुराहरु सम्झिएका घटनाहरु धेरै छन् । यसबाट पनि स्मरण शक्ति बढाउन सङ्गीतले सकारात्मक भूमिका खेल्छ भन्ने प्रमाणित हुन्छ ।
अचम्मको कुरा के छ भने गर्भवती महिलाहरुको पेटमा हुर्किरहेको भ्रुणमा समेत सङ्गीतको राम्रो प्रभाव पर्दोरहेछ । गर्भवती महिलाले नियमित रुपमा राम्रा र मीठो धुन भएका गीत सङ्गीत सुन्ने गरे भने गर्भभित्रको बच्चाले पनि त्यो सङ्गीत सुन्छ र उसको विकासमा सकारात्मक प्रभाव पर्छ ।
जन्मिएपछि बच्चाको शीलस्वभावदेखि उसका आचरणहरुमा समेत राम्रो प्रभाव पारेको पाइएको छ । नराम्रो सङ्गीत सुन्ने र राम्रो सङ्गीत सुन्ने गर्भवती महिलाले जन्माएका बच्चामा अन्तर हुन्छ । प्रि–म्याच्योर बच्चा जन्मेको छ भने उसले दूध नचुस्ने हुन सक्छ । सङ्गीतको साथमा दूध चुसायो भने बच्चाले राम्रोसँग दूध चुस्छ । यस्तो प्रकारको जादु छ– सङ्गीतमा ।
सङ्गीतलाई अभिव्यक्तिको सबैभन्दा पुरानो माध्यम मानिन्छ, जसले मानिसको शारीरिक, मानसिक, धार्मिक र नैतिक पक्षलाई प्रभाव पार्छ । थुप्रै सङ्गीतज्ञ र मनोवैज्ञानिकहरुले मान्छेको सर्वाङ्गीण विकासका लागि सङ्गीत सशक्त माध्यम हो भन्ने कुरा स्वीकारिसकेका छन् । राम्रा सङ्गीतलाई उपयुक्त ढङ्गले प्रयोग गर्ने हो भने त्यसले मानव मनोविज्ञानमा असल प्रभाव पार्छ ।
हामीलाई अप्ठेरो परेको, रोग लागेको र मानसिक तनाव भएको अवस्थामा सङ्गीत सुन्ने गरौं । सङ्गीतले हाम्रो स्वास्थ्यमा अत्यन्त सकारात्मक प्रभाव पार्छ ।