आन्तरिक उडान ३ बैशाखसम्म बन्द
सकारकारले लकडाउन (बन्दाबन्दी) २५ चैतसम्म थप गरेको भएपनि त्यसपछि पनि आन्तरिक उडान भने खुला नहुने भएको छ ।
नेपाल नागरिक उड्यन प्राधिकरणले आन्तरिक वायुसेवा कम्पनीलाई ३ बैशाखसम्म उडान बन्द गर्ने गरी मंगलबार सूचना जारी गरेको छ । अन्तर्राष्ट्रिय वायुसेवाको उडान ३ बैशाख २०७७ सम्म बन्द गरिएकाले सोही अवधिसम्म आन्तरिक उडान पनि नहुने प्राधिकरणका एयर ट्राफिक डिभिजन प्रमुख सचित भक्त पोखरेलद्धारा जारी सूचनामा उल्लेख छ ।
प्राधिकरणले जारी गरेको परिपत्र अनुसार अन्तर्राष्ट्रियसँगै आन्तरिक उडान पनि ३ बैशाख २०७७ देखि मात्रै खुला हुने भएको छ । अहिले लगाइएको लकडाउन २५ चैतमा खुल्ला हुँदा विदेशी वायुसेवालाई रोक लाएकोले सो अवधिसम्म आन्तरिक वायसेवाको उडान पनि नहुने प्राधिकरणले जानकारी दिएको छ ।
यसअघि, कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले गरे अन्तर्राष्ट्रिय वायुसेवालाई २ बैशाख २०७७ को मध्यराति १२ बजेसम्म रोक लगाउने निर्णय गरेको थियो । आन्तरिक उडानको विषयलाई भने सम्बोधन नहुदा अन्योल भएको सम्बन्धित वायुसेवाको भनाइपछि प्राधिकरणले सूचना जारी गरेर स्पष्ट पारेको हो ।
प्राधिकरणले उच्चस्तरीय समितिको निर्णयकै आधारमा आन्तरिक वायुसेवा कम्पनीहरूलाई परिपत्र गरिएको जानकारी दिएको छ । लकडाउन अवधिभर कुनै पनि व्यवासायिक उडान नहुने भएपनि आकस्मिक चार्टर्ड, उद्दार र मेडिकल सामग्रीको निम्ति भने उडान हुने उल्लेख छ।