सीमा क्षेत्रमा अलपत्र नेपालीले तत्काल नेपाल प्रवेश गर्न नपाउने
बन्दाबन्दीका कारण नेपाल आउँदा सीमा क्षेत्रमा अलपत्र परेका नेपालीहरु तत्काल नेपाल आउन नपाउने भएका छन् ।
नेपाल भारत सीमा सुनौली र पश्चिम नेपालको दार्चुलासँग सीमा जोडिएको भारतको धार्चुलामा नेपाल प्रवेशको क्रममा सयौं नेपाली अलपत्र परेका थिए ।
बन्दाबन्दी भएपछि पनि सयौं नेपालीलाई भारतले सीमा क्षेत्रमा ल्याएर छोडेका कारण उनीहरुलाई नेपाल प्रवेश गर्न अनुमति दिनुपर्ने दबाब सरकारलाई परेको थियो । यसरी अनुमति दिदा कोरोना भाइरसको संक्रमित पनि प्रवेश गर्ने र उनीहरुको व्यवस्थापनका लागि समस्या हुने भन्दै स्थानीय सरकारहरुले व्यवस्थापन गर्न अनिच्छा देखाएपछि उनीहरुलाई सीमा क्षेत्रमै व्यवस्थापन गर्ने सीमावर्ती जिल्लाका अधिकारी हरुबीच सहमति भएको छ ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थका अनुसार, नेपालबाट भारत प्रवेशका लागि अनुमति नपाएका र भारतबाट नेपाल प्रवेश गर्नेहरुलाई सम्वन्धित देशहरुले व्यवस्थापन गर्ने भएका छन् । भारतको सुनौलीमा अलपत्र परेका तीन सय भन्दा बढी नेपालीहरु अब बन्दाबन्दी जारी रहँदासम्म भारतको नौतवना स्थित क्वारेन्टाइनमा रहनेछन् ।
नेपालबाट भारत जाँदै गरेका १३५ भन्दा बढी भारतीय नागरिकहरुलाई पनि नेपालले भैरहवाको प्रतिमा निमा मेमोरियलको भवनमा राख्ने व्यवस्था गरेको छ ।
तीन दिनदेखि सुनौलीमा अलपत्र नेपालीहरुलाई भारतले नौतवनास्थित क्वारेन्टाइनमा राख्न व्यस्था गरेको प्रजिअ पन्थले बताए । “लक डाउन भनेको जो जहाँ छ, त्यहीं बस्ने भन्ने हो” पन्थले भने, “भारतमा भएका उतै रहनुहुन्छ, नेपालमा भएका भारतीय नागरिकहरु यतै बस्नुहुन्छ, त्यसै अनुसार सहमति भएर हामीले व्यवस्थापन गरेका छौं ।”
पश्चिम नेपालको दार्चुला प्रवेश गर्न खोजको ५ भन्दा सय बढी नेपाली नागरिकहरु पनि भारतले बनाएको क्वारेन्टाइनमा बस्नेछन् । आइतबार बालुवाटारमा बसेको मन्त्रीपरिषद बैठकले नेपाल आउनका लागि सीमा क्षेत्रमा अलपत्र परेका नेपालीहरुलाई नेपाल ल्याउने निर्णय गरेको थियो।