नेपाल भ्रमण वर्ष स्थगित
सरकारले नेपाल भ्रमण वर्ष २०२० कार्यक्रम औपचारिक रुपमा स्थगित गरेको छ । गएको ९ चैतमा बसेको मन्त्रिपरिषदको बैठकले भ्रमण वर्ष स्थगित गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले बताए ।
उनले भने, “नेपाल भ्रमण वर्षको कार्यक्रम औपचारिक रुपमा स्थगित भएको छ, अन्य कार्यक्रम अहिलेलाई तय भएको छैन, आगामी आर्थिक वर्षको बजेटको सन्दर्भमा कस्तो अभियान चलाउने भन्ने छलफल हुनेछ ।”
यसअघि अप्रिलसम्मका लागि भ्रमण वर्ष स्थगन गर्ने निर्णय भएको थियो । भ्रमण वर्ष स्थगन भएसँगै केशरमहलस्थित भ्रमण वर्ष सचिवालय विघटन गरिने सचिव अधिकारीले बताए ।
सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष अभियानका रुपमा मनाएर उक्त अवधिमा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको थियो । भ्रमण वर्षको सन् २०२० जनवरी एकमा एक भव्य समारोहकाबीच दशरथ रङ्गशालामा राष्ट्रति विद्यादेवी भण्डारीले शुभारम्भ गर्नुभएको थियो ।