धार्चुलामा अलपत्र नेपाली भन्छन्ः सरकार, आफ्नै जन्मभूमिमा मर्न देऊ ! (भिडियाेसहित)
दार्चुलाको मार्मा गाउँपालिकाका ४० वर्षीय दिलेन्द्रसिंह महता उपचार गराइरहेका बिरामी आफन्त भेटन भारत, उत्तराखण्डको दिदीहाट गएका थिए । तर, उनी उतै हुँदा नेपालमा बन्दाबन्दी (लकडाउन) भयो ।
उता एकाएक गाडीहरु चल्न छोडे । बसिरहन पनि कोही आफन्त थिएनन् । नेपालबाट लिएर गएको खर्च पनि सकियो ।
गाउँका अन्य साथीहरुसँगै दिदीहाटबाट तीन दिन हिँडेर महता नेपाल–भारत सीमा धार्चुला आइपुगे । तर यता पनि सीमा बन्द रहेछ ।
महता तीनदेखि धार्चुलामा आधापेट खाएर बसिरहेका छन् । उनी घरिघरि सीमापारिको नेपाल हेर्छन्, घरमा रहेका दुई सन्तान र श्रीमतीको सम्झना पिरोलिन्छन् । मनमनै उनीहरुलाई नभेटेरै मरिने पो हो कि भन्ने डरले पनि सताउँछ ।
‘हिमालखबर’सँग मंगलबार टेलिफोन सम्पर्कमा आएका महताले संवाददाताले काठमाडौंबाट भनेको सुन्नेवित्तिकै एक सासमा भने “सर, हामीलाई घर जान सहयोग गरिदिनुप¥यो । यता खान नपाएरै मरिन्छ जस्तो छ, मरे पनि आफ्नै देशमा मर्न पाँऊ ।”
महताजस्तै धार्चुलामा मंगलबार अपरान्हसम्म ८ सयको हाराहारीमा नेपाली अलपत्र छन् । भारतीय पक्षले पछिल्लो तीनदेखि अपुग खानेकुरा भने दिइरहेको छ । भारतीय पक्षले सोमबार साँझसम्म ६ सय ४१ जना नेपाली रहेको विवरण नेपाली पक्षलाई बुझाएका थिए ।
“राति पनि धेरै आउनु भयो,” महता भन्छन्, “अहिले हामी ८ सयजना जति पग्यौं होला । हिजो ५० किलो चामल दिएका थिए । आज तरकारीमात्र दिए । यतिलाई कसरी पुग्छ ?” उनका अनुसार पिउने पानीका लागि महाकाली नदीकाे भर पर्नु परेकाे छ । यस्तै शाैच र सरसफाइकाे समस्या छ ।
उनका अनुसार भारतीय पक्षले पटक–पटक ‘तिमीहरुको सरकारले लैजाने सहमति जनाए हामी पठाउन तयार छौं’ भनिरहेको छ । “सर गाली गर्छन्, कहिले को, कहिले को आएर धम्काउछन् ।”
अहिले नेपालको दार्चुला र भारतको धार्चुलाबीचको नाकाको प्रवेशद्धार बन्द छ । सुरक्षाकर्मीले माथिबाट आदेश नआएको भन्दै उनीहरुलाई रोकिरहेका छन् ।
महताले मंगलबारसम्म धार्चुलामा अलपत्र कोही पनि बिरामी भने नभएको बताए ।
“सर हामीलाई उपचार गर्ने पैसा सरकारसँग छैन भने हामी आफैं खर्चमै उपचार गरौंला,” उनले भने, “हामी १४ होइन २८ दिन क्वारेन्टिनमा बस्छौं। तर, आफ्नै देश आउन पाउन सरकारसँग बिन्ती गछौं ।”
भिडियाे साैजन्यः नरेन्द्र कार्की /दार्चुला
देश फर्कन ज्यानको बाजी
दार्चुलाका पत्रकार नरेन्द्र कार्कीले सोमबार आफ्नो फेसबुकमा एउटा भिडियो लाइभ गरे । जसमा, धार्चुलामा अलपत्र नेपालीहरुको कोकोहोलो देखिन्थ्यो ।
केही समयपछि उनैले एक युवा नेपाल–भारत सीमा छुट्टाउने महाकाली नदी तरेर पारी आएका तस्बीरहरु हाले । उनले खिँचेका भिडियो र तस्बीर यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
ज्यान जोखिममा राखेर महाकाली तरेर नेपाल आउनेमा दार्चुला, मार्माका रमेश बिष्ट, बैतडीका इन्द्र खत्री र धनबहादुर धामी थिए ।
जिल्ला प्रहरी कार्यालय, दार्चुलाका प्रमुख डीएसी दिपेन्द्र शाहीले ति सबैलाई नियन्त्रणमा लिएर स्थानीय प्रशासनको आदेशमा उनीहरुकै घरमा क्वारेन्टिनमा पठाएको बताए ।
हिमालखबरसँगको कुराकानीमा पत्रकार कार्कीले उत्तराखण्डका विभिन्न शहरमा ठूलो संख्यामा नेपाली काम, अध्ययन र उपचारका लागि अस्थायी बसोबास गरिरहेकाे बताए ।