बन्दाबन्दीको समयमा नेपाल आउन नपाएर सीमा क्षेत्रमा अलपत्र परेका नेपालीहरूको उद्धार गर्ने सरकारले निर्णय गरेपनि त्यसको कार्यान्वयन नहुँदा सयौं नेपाली सीमा क्षेत्रमा अलपत्र परेका छन् ।
नेपाल भारत सीमा क्षेत्र सुनौलीमा ३ सय र नेपालको पश्चिम नाका दार्चुलामा पाँच सय नेपाली नेपाल प्रवेश गर्न नपाएर सीमामै अलपत्र परेका छन् ।
उनीहरू ३ दिनदेखि सीमा क्षेत्रमा बसेका छन् । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा बसेको मन्त्रीपरिषद बैठकले सीमा क्षेत्रमा अलपत्र परेका नेपालीहरूलाई नेपाल ल्याउने निर्णय गरेको थियो ।
त्यसैगरी सोमबार बसेको प्रदेश नम्वर ५ को मन्त्रीपरिषद बैठकले पनि सीमामा अलपत्र परेका नेपालीको समूह बनाई सम्बन्धित जिल्लामा पठाउने र उनीहरूलाई सम्बन्धित स्थानीय सरकारले क्वारेन्टिनमा राख्ने निर्णय गरेको थियो । नेपाल भारत मैत्री समाजका अध्यक्ष डा.शान्तकुमार शर्माका अनुसार भारतका विभिन्न ठाउँबाट आएका नेपालीहरू सुनौली स्थित् बसपार्कमा ३ दिनदेखि अलपत्र परेका छन् ।
अलपत्र नेपालीहरूलाई सुनौलीका संघ संस्थाहरूले विद्यालय तथा सार्वजनिक ठाउँमा पाल लगाएर राख्ने व्यवस्था गरेका थिए । “हिंजो साँझ नेपाल तर्फबाट गएका कसैले उनीहरूलाई नेपाल फर्कन खुल्ला भयो भनेर सुनाए । त्यसपछि उनीहरू दशगजासम्म आए । सीमाबाट उनीहरूलाई नेपाल छिर्न दिइएन”, शर्मा भन्छन् “उनीहरुलाई भारतीय प्रहरीले फर्केर उता जान पनि दिएन, नेपाल प्रहरीले नेपाल आउन दिएको छैन । रातभर दशगजामा बिताए । अवस्था बिजोग छ ।”
शर्माका अनुसार उनीहरू दिल्लीदेखि दुई दिन हिंडेर आएका थिए । त्यसपछि बसले महंगो पैसा लिएर उनीहरूलाई सुनौलीसम्म ल्याएको थियो ।
सीमा क्षेत्रबाट उनीहरूको उद्दारका लागि भइरहेको पहलका बारेमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थलाई सम्पर्कका लागि हिमालले पटक पटक प्रयास गरेपनि उनले फोन उठाएनन् ।
सीमा क्षेत्रमा अलपत्र परेका नेपालीको उद्दारका लागि पहल गर्न सम्पर्क गर्न खोजेपनि प्रजिअले टेलिफोन नउठाएको समाजका अध्यक्ष शर्माले बताए । उनका अनुसार सुनौलीमा अलपत्र परेका नेपालीहरूलाई भारत र नेपालको सीमावर्ती क्षेत्रका स्थानीयहरूले खानाको व्यवस्था गरेका छन् ।
त्यसैगरी पश्चिम नेपालको दार्चुला जिल्लासंग सीमाना जोडिएको भारतको धार्चुलामा पाँच सयभन्दा बढी नेपालीहरू पनि नेपाल प्रवेश गर्न नपाएपछि सीमा क्षेत्रमा अलपत्र परेका छन् ।
दार्चुलाका पत्रकार शंकर धामीका अनुसार सोमबार दिनभर नेपाल प्रवेशको माग गर्दै सीमा क्षेत्रमा नाराबाजी गरेका उनीहरूलाई स्थानीय प्रशासनले नेपाल प्रवेश गर्न रोक लगाएको थियो ।
त्यसपछि भारततर्फ फर्केका उनीहरूलाई धार्चुलाको स्थानीय प्रशासनले विद्यालय र धर्मशालामा खान र बस्नको व्यवस्था गरेको छ ।
केही भने महाकाली नदीमा पौडेर नेपाल आएका थिए तर उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले यसभन्दा अघि पनि दुई पटकसम्म सीमामा अलपत्र परेका नेपालीहरूको दु:ख देखेर प्रवेश दिइएको बताए । पत्रकार धामीका अनुसार भारतबाट आएकाहरूले गाउँमा गएर क्वारेन्टिनमा बस्नुपर्ने नियम पालना नगरेका कारण पनि दार्चुलाका स्थानीय तहहरू भारतबाट प्रवेश गर्नेहरूलाई रोक लगाउन स्थानीय प्रशासनलाई दबाव दिएका छन् ।
जसले गर्दा संघिय सरकारले गरेको निर्णय पनि स्थानीय तहमा कार्यान्वयन भएको छैन ।
“एक पटकलाई भनेर प्रवेश दियो, त्यसपछि फेरि अर्कोपटक हुल बाँधेर जर्वजस्ती गर्दछन्,” धामी भन्छन् “गाउँमा गएर पनि क्वारेन्टिनमा बस्नुको साटो गाउँभर डुल्ने र हामीलाई के भएको छ भनेर उल्टै स्थानीय जनप्रतिनिधिलाई थर्काएपछि उनीहरूलाई सीमामै रोकिएको हो ।”