कोरोनाले बढायो चिन्ता: यसरी कम गर्न सकिन्छ
- लक्ष्मी बस्नेत र नुनुता राई
केस १
स्थाई घर गुल्मी भएकी गोमा पराजुली कोरोनाभाइरस (कोभिड–१९) को जोखिम बढेपछि आत्तिएकी छिन्। एक गैरसरकारी संस्थामा कार्यरत उनी ललितपुरको कुपन्डोलमा डेरामा बस्छिन्। सँगै कोठामा बस्ने उनकी साथी ८ चैतमै घर गइन्। तर, उनी भने जागिरका कारण जान पाइनन्। कोठामा एक्लै छिन्। बन्दाबन्दी शुरु भएपछि उनी दिनभर युट्युबमा फिल्म हेरेर, किताब पढेर समय बिताउँछिन्।
गुल्मी घर भएका उनका आमाबुबा पनि छोरीको चिन्तामा छन्। अब कार्यालय बिदा भए पनि उनी घर जान सक्दिनन्। सामाजिक सन्जाल र अनलाइनमा आउने समाचारले उनलाई झनै अत्याउँछ।
केस २
काठमाडौंको लाजिम्पाट बस्ने कैलालीका मनोज केसी आफु सुरक्षित हुन्छु भन्नेमा ढुक्क छन्। पेशाले इन्जिनियर उनी सावधानीपूर्वक बसिरहेका छन्। तर, उनलाई कैलालीमा बस्ने परिवारको चिन्ता छ। भारतबाट फर्किएकाहरुका कारण संक्रमण फैलन्छ कि जस्तो लागिरहन्छ। दैनिक आमाबुवा, भाइ बहिनीसँग फोनमा कुरा गर्दा घरबाट ननिस्कन र शारीरिक दुरी कायम राख्न सुझाउँछन्।
केस ३
भक्तपुर कौशलटारका मिनसिंह केसीलाई २०७२ सालको जस्तै भूकम्प गयो भने के गर्ने भन्ने चिन्ता लागिरहन्छ। उनी भन्छन्, “घरकै परिवारका सदस्यबीच त दूरी कायम गर्नुपर्ने वेला २०७२ सालको जस्तो भूकम्प आएर सामूहिक रुपमा बस्नुपर्ने अवस्था आयो भने के गर्ने होला भन्ने झस्का परिरहन्छ।”
के हो चिन्ता? कसरी बच्ने ?
चिकित्सकीय भाषामा कुनै पनि विषय सम्झिएर, त्यसको बारेमा विभिन्न कल्पना गर्नु चिन्ता (एन्जाइटी) हो । कोरानाका कारण मानिसहरुमा चिन्ता शुरु भइसकेको मनोचिकित्सकहरु बताउँछन् । छटपटाहट हुने, पसीना आउने, अत्तालिने, एउटै कुरा दिमागमा आइरहने चिन्ताका लक्षण हुन्। यो बढ्दै जाँदा ‘डिपे्रसन’ सम्मको अवस्था आउँछ।
अस्वभाविक परिस्थितिमा चिन्ता हुनु स्वभाविक भएको वरिष्ठ मनोचिकित्सक डा. कपिलदेव उपाध्याय बताउँछन्। उनी भन्छन्, “यस्तो अवस्थामा डराउनु सामान्य नै हो, तर यसैलाई लिएर छटपटाउने र बढी चिन्ता भयो भने समस्या हुन्छ।” (हे. बक्स–१)
यस्ता घटनाहरुबाट २० देखि २५ प्रतिशत मान्छेलाई बढी डर लाग्छ। ती मध्ये ४/५ प्रतिशत मानिस लामो समयसम्म डराउँछन्। २०७२ को भूकम्पमा लामो समय डराउनेहरु प्रायः परिवारका सदस्य वा आफन्त गुमाएकाहरु भएको उपाध्याय बताउँछन्। उनीहरुमा घरमा एक्लै बस्न नसक्ने, कोठामा एक्लै जान डर लाग्ने, माथिल्लो तलामा सुत्न नसक्ने जस्ता समस्या देखिएको थियो।
ललितपुरस्थीत मानसिक अस्पतालका मनोचिकित्सक डा. वासुदेव कार्की अहिले डराउने नभई सजगता अपनाउने वेला भएको बताउँछन्। उनी भन्छन्, “एउटा त कोरोनाभाइरस भन्ने बित्तिकै ज्यानै जान्छ भनेर बुझियो/बुझाइयो। अर्को, स्वास्थ्य सामग्री (मास्क, पीपीई र स्यानिटाइजर आदि) छैन भनेर अत्याइयो।”
त्यसैले समाचार प्रकाशन, प्रसारण गर्दा होस् वा सरकारले सूचना दिँदा कसरी सावधानी अपनाउने भनेर बढी ध्यान दिनुपर्छ। बाहिर नहिंड्ने, दुरी कायम गर्ने र हात धुने जस्ता न्यूनतम कुरा नै कोरोना रोकथामको ‘औषधि’ भएको कार्की बताउँछन्।
त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक तथा मनोविद् सन्देश ढकाल यो समयमा घरैमा आफूलाई व्यस्त राख्नुपर्ने बताउँछन्। उनी भन्छन्, “नपढेको पुस्तक, हेर्न छुटेको चलचित्रहरु हेरेर समय बिताउन सक्छौं। परिवारसँग बसेर रमाईलो कुराकानी गर्ने, भान्सामा समय बिताउने र जत्तिसक्दो आफुलाई रचनात्मक बताउनुपर्छ।”
मनोविद् डा. गंगा पाठक चिन्ताको समस्या महिलामा बढी हुने बताउँछिन्। उनी भन्छिन्, “जस्तोसुकै विषम परिस्थितिमा पनि बढी पीडित हुने महिला नै हुने भएकाले सरकारका कार्यक्रमहरु त्यसतर्फ केन्द्रीत हुनुपर्छ।” (हे. बक्स–२)
गायक, कलाकार र कविको फेसबुक अभियान
कोरोनाभाइरस संक्रमण फैलन नदिन बन्दाबन्दी घोषणा भएपछि चिन्ता हटाउन केही प्रयासहरु थालिएका छन्। कलाकारहरुले सामाजिक सञ्जालमा ‘लाईभ’ सांगीतिक प्रस्तुति, नाटक दिइरहेका छन्। साहित्यिक कार्यक्रम, अनलाईन पुस्तक पढ्न सकिने व्यवस्था पनि भइरहेको छ।
गायक दीपक बज्राचार्यको रिदम ब्यान्ड सेल्फ क्वारेन्टिनमा छ। अस्ट्रेलिया र न्युजिल्यान्डको दुई महिना लामो सांगीतिक भ्रमणमा निस्केको दुई सातामा नै जोखिम बढेपछि स्वदेश फर्किएको थियो। त्यसलगत्तै ब्यान्डका सदस्य एक सातादेखि ललितपुरको भैंसेपाटीस्थित ‘मेरो घर’ मा क्वारेन्टाइनमा छन्।
क्वारेन्टिनमा पनि उनीहरुले फेसबुक र युट्युव च्यानलमार्फत ‘लाईभ कन्सर्ट’ गरिरहेका छन् । बज्राचार्य भन्छन्, “सरकारको निर्णयलाई साथ दिन र घरमा डरचिन्ता लिएर बस्नेलाई मनोरन्जन दिनका लागि बन्दाबन्दीभरि कन्सर्ट गर्छौं।”
रंगकर्मी घिमिरे युवराज र अधिकारकर्मी लुना भट्टराई दम्पतीले बिहिबार फेसबुक लाईभ मार्फत प्रेम कविता वाचन गरे। घिमिरे युवराज भन्छन्, “सरकारको निर्णयलाई साथ दिँदै सकारात्मक सोच बनाइराख्न सघाउन कविता वाचन गरेका हौं।” बन्दाबन्दी अवधिभर हरेक दिन फेसबुक लाईभमा केही न केही नयाँ काम गर्ने योजना रहेको उनीहरु बताउँछन्।
थिएटर मल–कीर्तिपुर र थिएटर सेन्टर फर चिल्ड्रेन (टिसीसी नेपाल) ले गत शुक्रबारदेखि विश्व रङ्गमञ्च दिवसको अवसर पार्दै ‘क्वारेन्टाइन अभियान नाट्य महोत्सव २०७६’ शुरु गरेको छ। नाटक हरेक साँझ थिएटर मलको फेसबुक पेजमा नाटक लाईभ स्ट्रिमिङ गर्ने जनाइएको छ।
क्लाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले पनि ‘क्वारेन्टाईनमा बसौं न’ लोकदोहोरी गरिरहेका छन् । तर, नजिकै ठूलो समूहमा बसेर दोहोरी गाउनु उपयुक्त नहुने स्वास्थ्यकर्मी बताउँछन्।
कवि श्रवण मुकारुङ फेसबुक लाईभमा आफैंले लेखेको गीतहरु गाईरहेका छन् भने कवि बैरागी काईला र रबिन्द्रनाथ टेगोरका कविता पनि वाचन गरिरहेका छन्। बन्दाबन्दीको समय अवधिभर यसरी नै रचना वाचन गरिरहने उनी बताउँछन्। उनी भन्छन्, “कविताप्रेमी, संगीतप्रेमी र आफ्नै पनि समय व्यतित गर्न सहज भएको छ।”
अनलाइनबाटै सेवा
कोरोनाभाइरसको तनाव कम गराउन करीब ४० मनोविदहरुले अनलाईन सेवा शुरु गरेका छन्। नेप्लीज साईकोलोजी नेटवर्क फेसबुकमार्फत सेवा शुरु गरेको मनोविज्ञान विभाग त्रिभुव विश्वविद्यालय उपप्राध्यापक मनोविद् सन्देश ढकालले जानकारी दिए।
यदि कसैले मनोपरामर्शको आवश्यकता महशुस गरे फेसबुक पेजमार्फत सेवा लिन सकिन्छ। यद्यपि यो स्वयंसेवी भावनाले शुरु गरिएकाले कहिलेसम्म सेवा दिन सकिन्छ भन्न नसकिने उनी बताउँछन्। मनोपरामर्शको क्षेत्रमा काम गर्दै आएको मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (सिएमसी) नेपालले पनि निशूल्क परामर्श दिंदै आएको जनाएको छ।
नेपालमा स्पाइनी बेबलरले अनलाइनमा फाराम भरेका विद्यालयका विद्यार्थीलाई उनीहरुको कक्षाको गृहकार्य पठाउन थालेको छ। संस्थापक संचालक पल्लभ रञ्जन भन्छन्, “हामीले विदेशका विद्यार्थीलाई पहिला पनि अनलाइन कक्षा दिंदै आएका थियौं, अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै नेपाली विद्यार्थीलाई निशुल्क कक्षा शुरु गरेका हौं।”
यस्तै विभिन्न कक्षा अनुसारको पाठ्यक्रममा आधारित रहेर ‘भिज्युल कोर्स डिजाइन’ गरेको ‘मिडास इ–क्लास’ ले पनि एक महीनाको कोर्स निशुल्क डाउनलोड गर्न सकिने बनाएको छ।
त्यस्तै ई–पुस्तकालयले नेपाली ६ हजार ८४५ वटा पुस्तक अनलाइनमै निःशुल्क रुपमा पढ्न, सुन्न सकिने व्यवस्था मिलाएको छ। पुस्तकालयमा साहित्य र कला, विषयगत् सामग्री, शिक्षण सामग्री, सन्दर्भ सामग्री, अन्य शिक्षाप्रद सामग्री, पत्रपत्रिकाहरुको अनलाईन संस्करण पढ्न सकिने बनाइएको छ। डिजिटल पुस्तकालयमा रहेका पुस्तकहरु पीडीएफमा डाउनलोड गरेर पढ्न सकिन्छ भने बालबालिकाका लागि पीडीएफ साथै श्रव्यदृश्य सामग्री उपलब्ध छ।
सरकारका निकायले पनि विद्यार्थीहरुका लागि यस्ता पाठ्यक्रम बनाउन सक्ने अमेरिकामा नर्सिङ पेशा गरिरहेकी चन्द्रा खरेल बताउँछिन्। केन्टुकी स्टेटमा रहेकी उनका दुई छोराछोरी विद्यालय नगइ दिनभर अनलाइनबाटै पढ्छन्। उनी भन्छिन्, “उनीहरुको त पढाइ रोकिएकै छैन, अनलाइन गृहकार्यहरु आउँछ। गर्ने पठाउने। अनि निश्चित समय शिक्षकहरुसँग कुरा गर्छन्।”
बक्स–१
‘सबैतिर उस्तै छ, सामान्य रूपमा लिनुस्’
– डा. कपिलदेव उपाध्याय, वरिष्ठ मनोचिकित्सक
अहिले आम मानिसलाई नेपालमा कोरोनाभाइरसको प्रकोप कस्तो हुन्छ ? भन्ने सोचाइ आउनु असामान्य होइन। बरु परिस्थिति चाहिं असामान्य हो। त्यसैले मानिसको अवस्था भनेको असामान्य परिस्थितिको सामान्य प्रतिक्रिया हो। हामी कहाँ कतिजना मरे, कति जनामा पोजेटिभ देखियो भनेर छिनछिनमै अपडेट हुन खोज्छौं । दिनको दुई वा तीन पटकभन्दा बढी यस्तो समाचार नहेरौं। अर्को कुरा, घरभित्रै बस्नुपर्ने (बन्दाबन्दी) अवस्था पनि हाम्रो लागि नितान्त नयाँ हो। महामारीको त्रासमा नपर्न निम्नकुरामा ध्यान दिनु उचित हुन्छः
१. गीतसंगीत सुन्नेः कम्तीमा पनि दिनको आधा घण्टा सुगम संगीत सुन्नुपर्छ। हुन त गीतसंगीत जति धेरै सुने पनि नराम्रो हुँदैन, संगीत ‘ओभरडोज’ हुँदैन। कम्तीमा दिनको आधा घण्टा भने सुन्ने गरौं। हाँस्नु औषधि हो, त्यसैले हाँस्य टेलिचलचित्र र चलचित्रहरु हेरौँ। संगीतका साधनहरु घरमा भए बजाउँदा पनि फाइदा हुन्छ।
२. योगा, ध्यान र शारीरिक अभ्यासः बन्दाबन्दीमा आवश्कताभन्दा बढी आराम गरिरहेका हुन्छौँ। त्यसैले शारीरिक अभ्यास गर्नैपर्छ। यसका लागि घरभित्रैको अभ्यास, योगा, ध्यान, घरायसी कामकाज गर्नुपर्छ। युट्युब च्यानलहरु हेरेर पनि योगा गर्न सकिन्छ। गीत बजाएर नाच्दा शरीरलाई अभ्यास र मनलाई शान्ति मिल्छ। पूजा, प्राथना, प्रवचन गर्न पनि सकिन्छ। परिवारसँग भित्रै खेलिने खेलहरु खेल्ने, साना बच्चाबच्ची भए उनीहरुलाई खेलाउने गर्नुपर्छ।
३. पढ्ने, लेख्ने, कुराकानी गर्नेः मन परेका किताबहरु पढेर चिन्तामुक्त हुन सकिन्छ। साहित्य लेख्नेहरुले त लेखिहाल्छन्, सबैले हरेक दिन डायरी लेख्दा समय बित्छ। पछि त्यसलाई पढ्दा रमाइलो हुन्छ। पारिवारका सदस्यबीच सकारात्मक कुरा गर्ने, आफन्तहरुसँग फोन वा भिडियो कल गर्ने, बच्चाहरुलाई पनि उनीहरुका साथीहरुसँग कुरा गराउने गर्नुपर्छ। जेष्ठ नागरिकसँग बढीभन्दा बढी अन्तरक्रिया गर्नुपर्छ।
४. खानपानः स्वस्थ र पौष्टिक तत्वयुक्त खानेकुरा खानुपर्छ। घरमा भएका जेष्ठ नागरिकलाई अझ ध्यान दिएर पौष्टिक आहार खुवाउनु पर्छ। कोरोनाभाइरसको संक्रमणबाट दीर्घरोगी वा जेष्ठ नागरिकको मृत्युदर बढी देखिएको समाचारका कारण उनीहरु त्रासमा छन्। त्यसैले उनीहरुको मनोबल बढाउनुपर्छ।
५. सकारात्मक सोचाइः माथिका कुरामा ध्यान दिने र सकारात्मक सोचाइ राख्ने मानिस चिन्तामुक्त हुन्छ। कतिसम्म बाँच्ने भन्ने कसैलाई थाहा हुँदैन, धेरै पछिसम्मको कुरा सम्झिएर चिन्तामा पर्नु हुँदैन। “मलाई संक्रमण भयो भने मर्छु होला, मरेँ भने मेरो परिवारका सदस्यहरु के गर्लान्, श्रीमान वा श्रीमती, छोराछोरीले दुःख पाउलान्”, भन्ने जस्ता सोचाइ राख्नु हुँदैन। बरु संक्रमणको जोखिमबाट जोगिन ध्यान दिनुपर्छ।
बक्स २
‘चिन्ता महिलामा झन् बढी’
-डा.गंगा पाठक, मनोविद्
हरेक विपत् वा महामारीको मार महिलामा बढी पर्ने विभिन्न अध्ययनहरुले देखाएका छन् । महिला र बालबालिका हेर्ने संयुक्त राष्ट्र संघीय निकाय यूएन वुमनले पनि ठूला घटनाकम महिला र बालिका बढी मारमा पर्ने र हिंसाको शिकार हुने जनाएको छ। गत २० मार्चमा १० बुँदे ‘चेकलिष्ट’ जारी गर्दै महिला र किशोरीमाथि हिंसा हुन नदिन सम्बन्धित देशका सरकार, नेतृत्वकर्ता, संसद र स्थानीय सरकारलाई समेत ध्यानाकर्षण गराइएको छ।
बन्दाबन्दीको वेला कतिपय परिवारमा श्रीमान् श्रीमतीबीच झैझगडा समेत शुरु भइसकेको छ। मैले फोन र अनलाइनबाट काउन्सिलिङ गरिरहेको छु। यति वेला बालबालिका र वृद्धवृद्धा पनि घरैमा हुने हुँदा थप समस्या आउन सक्छ।
सानो बच्चा भएका, सुत्केरी र गर्भवतीमा झन् समस्या ल्याउँछ। त्राससँगै थपिएको विविध खालका कामको बोझले शारीरिक र मानिसक स्वास्थ्यमा असर गर्छ। फलस्वरुप घरायसी झगडा हुने संभावना हुन्छ। कतिपय गर्भवतिको त गर्भको बच्चा खेर जाने वा बच्चा जन्माउन नसक्ने भएर शल्यक्रिया गर्नुपर्ने अवस्था पनि आउँछ। जन्मिएको बच्च पनि अपाङ्गता भएको हुनसक्छ। २०७२ सालको भूकम्पपछि यस्ता समस्या देखिएका थिए।
आवेशमा आउने मान्छेलाई चिन्तासँगै ‘प्यानिक डिसअडर’ हुनसक्छ। जसकारण डिप्रेसन पनि हुन्छ। शारीरिक रुपमा असहज हुनु, मानसिकरुपमा थकित हुनु, उदासीपन र एक्लै बस्न मन पराउनु ‘प्यानिक डिसअर्डर’ का लक्षण हुन्। त्यसैले सबैभन्दा पहिला त स्वयंले चिन्ता लिनुहुँदैन।
नकारात्मक कुरा सोच्दै नसोच्ने। यस्तो समस्या सँधैभरि होइन भनेर आत्मबल बलियो बनाउनुपर्छ। मुख्य कुरा घरका पुरुष सदस्यले पारिवारिक जिम्मेवारी र घरायसी कामको बाँडफाँड गरे समस्या आउने संभावना कम हुन्छ।