बन्दाबन्दीमा घरभित्रै व्यायाम
पुल्चोककी आस्था थापा बिहान नियमित व्यायाम गर्छिन्। उनलाई जुम्बा मनपर्छ। तर, बन्दाबन्दीपछि जुम्बाका लागि घरबाहिर जान पाएकी छैनन्।
सानो कोठामा भान्छा, बिछ्यौना, अध्ययन गर्ने ठाउँ सबै छ। व्यायाम पनि सानो ठाउँमा नै गर्नु परेको छ। दिनभरी घरै बस्दा शरीर आलस्य हुने हुँदा व्यायामले स्फूर्ति बढाउने उनी बताउँछिन्। “रात दिन कोठामा बस्दा नकारात्मक सोच आउँछ, त्यसलाई हटाउन पनि युट्युबमा हेरेर व्यायाम गर्छु”, उनी भन्छिन्।
कलंकीस्थित ‘इटर्निटी फिटनेश’ बन्दाबन्दी घोषणापछि खुलेको छैन। सञ्चालक निर्मला महर्जन अचेल आफ्ना सेवाग्राहीलाई उपकरण बिना घरैमा व्यायाम गर्ने तरिका ‘फेसबुक लाइभ’ मार्फत सिकाउँछिन्।
विश्वभर फैलिएको महामारी कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणको जोखिमका कारण बन्दाबन्दी गरिएपछि उनी आफू पनि घरैमा व्यायाम गर्छिन्। उनले उपकरणहरु बिना नै व्यायाम गर्ने तालिम पनि लिएकी छिन्। “सन् २००९ मा नै उपकरणहरु बिना व्यायाम गर्ने तालिम लिएकी थिएँ, अहिले काम आयो।”
कतिपयलाई व्यायाम विधि थाहा नपाउँदा समस्या हुने महर्जन बताउँछन्। उनी भन्छिन्, “उठ्ने बित्तिकै दुई गिलास मन तातो पानी पिउने र हल्का ब्रेकफास्ट गर्ने। अनि एकछिन आराम गरेपछि कसरत गर्नु पर्छ ।”
अघिल्लो दिन साँझ खाएको खाना बिहानसम्म पचिसक्ने हुँदा शरीर शिथिल भइरहेको हुन्छ। त्यसकारण उठ्ने बित्तिकै व्यायाम गर्दा रक्तचाप घट्ने, रिँगटा लाग्ने, मुखबाट अमिलो पानी आउने जस्ता समस्या हुन सक्ने उनी बताउँछिन्।
शरीरलाई व्यायामका लागि तयार पार्न पहिला ‘वार्मअप’ गर्नुपर्छ। त्यसका लागि पहिला ५० पटक ‘मार्च’ गर्ने। व्ययामका लागि घरैमा उपलब्ध सामग्रीको उचित प्रयोग पनि गर्न सकिने उनी बताउँछिन्।
बागबजारस्थित अक्सफोर्ड जिम सेन्टरमा फिटनेसकी सञ्चालक निमु श्रेष्ठ बन्दाबन्दीले जिम बन्द भए पनि घरैमा व्यायाम गर्न सकिने बताउँछिन्। तर, समय र व्यायाम गर्ने तरिकामा ध्यान दिनुपर्ने उनी बताउँछिन्। श्रेष्ठ भन्छिन्, “हरेक उमेर समूहका लागि फरक तरिकाले व्यायाम गर्नुपर्छ। नत्र नकारात्मक असर हुन्छ।”
कसरत गर्दा वार्मअपबाट सुरु गरी सेटअप, पुसअप, साइकलिङ, जम्पिङ, स्किपिङ आदि घरैमा गर्न सकिने उनी बताउँछिन् । घरमा व्यायाम गर्ने ठाउँ कम भए ओछ्यानमा नै सामान्य तरिकाले गर्न सकिने उनी बताउँछिन्। व्यायाम सकिने वित्तिकै काममा लाग्नु हुँदैन। केहीवेर लामो श्वास तान्दै छाड्दै गरेर आरामले बस्ने वा ध्यान गर्ने गर्नुपर्छ।
इमुखेलस्थित ‘माँ बंगलामुखी हेल्थ क्लब’ की कर्मचारी अमित देउला व्यायामले स्वस्थ शरीरसंगै सकारात्मक सोचाइको क्षमता वृद्धिमा मद्दत गर्ने बताउँछिन्। दिनभर घरमा बसिरहँदा मोटोपन हुनसक्छ। त्यसका लागि पनि घरैमा व्यायाम गर्नुपर्छ। त्यसका लागि युट्युबको प्रयोग गर्न सकिने उनी बताउँछिन्।