प्रदेश १ लाई प्राप्त हजार थान पीपीई १४ जिल्लालाई
नेपाल सरकारबाट प्रदेश १ लाई प्राप्त भएका एक हजार थान ब्यक्तिगत सुरक्षा उपकरण (पीपीई) प्रदेशका १४ वटै जिल्लामा पठाइने भएको छ ।
नेपाल सरकारले पठाएको स्वास्थ्य सामग्री सोमबार नेपाली सेनाको स्काई ट्रकमार्फत विराटनगर बिमानस्थलमा झारिएको छ । स्वास्थ्य सामग्री ग्रहण गर्दै सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेशका एक सय ३७ वटै स्थानीय तहमा पठाइने बताए ।
स्वास्थ्य मन्त्रालयले पठाएको सेनिटाइजर, मास्क लगायतका सामग्री गाडीमार्फत मंगलबार विराटनगर आईपुग्ने मन्त्री घिमिरेले जानकारी दिए ।
प्रदेश सरकारलाई प्राप्त एक हजार थान पीपीई मध्ये कोशी अस्पताल विराटनगर र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई १ सय ५० थानका दरले तथा कोरोना उपचार केन्द्रलाई २ सय थान र मेची अस्पताललाई ४६ थान दिइंने छ ।
यस्तै मोरङलाई ३४, झापालाई ३०, सुनसरीलाई २४, संखुवासभा, इलाम, ओखलढुङ्गा, र खोटाङलाई २०, २० भोजपुर र ताप्लेजुङलाई १८, १८ सोलुखुम्वु, उदयपुर र पांचथरलाई १६, १६ धनकुटालाई १४, तेह्रथुमलाई १२ वटाका दरले दिइने छ ।
कोरोनाका शंकास्पद तथा संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीको सुरक्षा प्रदेश सरकारको पहिलो प्राथमिकता भएको बताउंदै मन्त्री घिमिरेले स्वास्थ्यकर्मीलाई चाहिने स्वास्थ्य सुरक्षाका सवै उपकरण उपलब्ध गराउंदै जाने बताए ।