कोरोना संक्रमित सवार पाँच विमानका अन्य यात्रु अझै पत्ता लागेनन्
प्रहरीका देशभरका इकाईमा परिपत्र भएको ६ दिन बितिसक्दा कोरोनाभाइरसबाट संक्रमित चार जना चढेका विमानहरुका अन्य यात्रु खोज्न प्रहरी असफल भएको छ।
पहिलो विमानमा ४८, दोस्रोमा ४५ र तेस्रोमा ३० जिल्लाका नागरिक रहेको विवरण प्राप्त गरे पनि उनीहरुलाई खोज्न प्रहरीलाई यतिबेला हम्मे परिरहेको छ। तिनलाई खोज्न ढिलाइ हुँदा यी जिल्लाहरुमा संक्रमण फैलने जोखिम बढेको छ।
प्रहरीलाई अध्यागमन विभागले संक्रमित पहिचान भए लगत्तै तीन वटा विमानमा सवार सबै यात्रुको विवरण बुझाएको थियो। प्रहरीले यात्रुहरू ठूलो संख्यामा रहेका कारण अझै खोजी भइरहेको जनाएको छ।
प्रहरी प्रधान कार्यालयमा केन्द्रीय हेल्थ कमाण्ड सेन्टर खोलेर प्रहरीले देशभरका इकाई मार्फत कोरोनाभाइरसका शंकास्पद व्यक्तिहरूको निगरानी गरिरहेको छ।
४ चैतमा कतारबाट आएको कतार एयरको क्युआर ६५२ विमान, ६ चैतमा यूएईको सारजहाँबाट आएको एयर अरेबियाको जी ९५३७ र ७ चैतमा दिल्लीबाट आएको भिस्त्रा एयरको जहाजमा सवार ४ सय ५८ मध्ये सोमबार साढे पाँच बजेसम्म १९८ यात्रुको पहिचान भएको छ। उनीहरुलाई प्रहरीले अवस्था हेरेर सरकारको कोरोना विशेष अस्पताल वा घरमा सेल्फ–क्वारेन्टिनमा राखेको छ।
यी तीन विमानमा चढेका २६० यात्रुको पहिचान खुले पनि उनीहरुलाई प्रहरीले सम्पर्कमा ल्याउन सकेको छैन। कतार एयरवेजमा आएका १३६, एयर अरेबियामा आएका ५६ र भिस्त्रा एयरमा आएका ६ जनासँग मात्रै सम्पर्क गर्न सकेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। कार्यालयका अनुसार कतार एयरमा १५८, एयर अरेबियामा १७० र २० जना भारतीय सहित भिस्त्रा एयरमा १३० यात्रु सवार थिए।
यस्तै, संक्रमित पहिचान भएका यात्रुले काठमाडौंदेखि नेपालगञ्ज जान चढेको बुद्ध एयरको विमानका विषयमा आज (सोमबार) बिहान ८ बजेसम्म प्रहरीले कुनै जानकारी प्राप्त गर्न सकेको छैन।
नेपालमा कोरोनाभाइरसका पहिलाे संक्रमित निकाे भएर घर फर्किए। दाेस्राे संक्रमित १९ वर्षीया युवती फ्रान्सको पेरिसबाट कतार हुँदै ४ चैतमा काठमाडौं आएकी थिइन। उनी चढेकाे कतार एयरको क्युआर ६५२ विमानमा यात्रा गरेकी बाग्लुङकी अर्की १९ वर्षीया युवतीमा पनि संक्रमण देखियाे। उनी काठमाडाैंबाट यती एयरमा पाेखरा गएकी थिइन्।
यसपछि एयर अरेबियाबाट काठमाडाैं ओर्लिएका धनगढीका युवामा पनि संक्रमण देखिएको थियो। उनी काठमाडाैंबाट बुद्व एयरको विमानमा नेपालगञ्ज गएका थिए। अर्का संक्रमित भिस्त्रा एयरमा दुबईबाट दिल्ली हुँदै काठमाडाैं आएका हुन्। यस हिसाबले प्रहरीले पाँच विमानका यात्रुको पहिचान गर्नुपर्नेछ।
प्रहरी प्रवक्ता एसएसपी उमेशराज जोशीले अध्यागमनबाट उपलब्ध यात्रु विवरणमा नाम, जिल्ला र राहदानी नम्बर मात्र हुने तर उनीहरुको हालको बसोबास क्षेत्र नखुल्दा खोज्न समस्या भइरहेको बताए। “प्रहरीले ७७ वटै जिल्लामा परिपत्र गरेको छ, “सम्पर्कमा नआएका यात्रुहरुले संचारमाध्यममा आएका सूचनालाई आधार मानेर आफै क्वारेन्टिनमा बस्ने र समस्या देखिए नजिकको कोरोना अस्पताल जानुपर्छ”, उनले भने।
८ हजार क्वारेन्टिनमा, ३९ जना आइसोलेसनमा
कोरोनाभाइरस संक्रमण रोक्न सरकारले बन्दाबन्दी आदेश गरेयता प्रहरीले संकलन गरेको तथ्यांकमा ८ हजारभन्दा बढी क्वारेन्टिनमा छन्। यो संख्या विभिन्न समयमा तेस्रो देशबाट हवाई मार्ग भएर नेपाल आएका र भारतबाट स्थलमार्ग हुँदै नेपाल प्रवेश गरेकाहरुको हो। यस्तै, सोमबार साँझसम्म देशभर कोरोनाभाइरसका शंकास्पद ३९ जनालाई आइसोलेसनमा राखेर उपचार भइरहेको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार, आइसोलेसनमा राखिएका ७५ जना उपचारपछि निको भएर घर फर्किएका छन्। यस्तै, ४ सय ७३ जना क्वारेन्टिनमा बसेर फिर्ता भएका छन्। प्रहरीका अनुसार सरकारले देशभर बनाएका क्वारेन्टिनमा ३ हजार ३ सय ९० र प्रहरीको अनुरोधमा ५ हजार ३ सय २७ जना घरमै क्वारेन्टिनमा बसेका छन्।
प्रहरी तथ्यांक अनुसार, पछिल्लो ६ दिनमा सहयोगको आग्रहसहित ७९ हजार ५ सय २९ वटा टेलिफोन आएका छन्। सोमबार बिहानसम्मको फोन कलको संख्या ६० हजार ८ सय ८२ थियो। सोमबार दिनभर देशभर रहेका हेल्प सेन्टरमा सर्वसाधारणले बन्दाबन्दीको विषयदेखि छिमेकमा बिरामी व्यक्ति भएकासम्मका सूचना प्रहरीलाई दिएका छन्।
प्रहरी प्रवक्ता उमेशराज जोशीले सर्वसाधारणले छिमेकमा कोही बिरामी भएको र अस्पताल नगएको, खाना पकाउने ग्यास पाइने ठाउँबारे जिज्ञासादेखि बन्दाबन्दी कहिले खुल्छ भन्ने जस्ता प्रश्न सोध्ने गरेको हिमालखबरलाई बताए।