भारत प्रवेश गर्न खोज्दा हवाई फायर
– आरोहण शाह
नेपालमा विभिन्न ठाउँमा काम गरेर बसेका ठूलो संख्याका भारतीय नागरिक घर फर्कने क्रममा वीरगञ्ज–रक्सौल नाका भएर भारत छिर्न खोज्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले दुई राउण्ड हवाई फायर गरेको छ ।
नेपालका विभिन्न ठाउँबाट सार्वजनिक बसमा आएका उनीहरु आइतबार राती वीरगञ्ज पुगेका हुन् । भारतीय नागरिकलाई वीरगन्ज–रक्सौल नाकाको मितेरी पुलमा भारतीय सुरक्षाकर्मीले रोकेपछि भारत छिर्न पाएका छैनन् । वीरगन्जबाट पैदल रक्सौल जान खोज्दा मितेरी पुलमा ढाट लगाएर बसेका भारतीय सीमा सुरक्षा बल (एसएसबी) का सुरक्षाकर्मीले उनीहरुलाई रोक्ने क्रममा हवाईफायर समेत गरेका थिए ।
बन्दाबन्दीमै दशगजाको मितेरी पुलमा सयाैंकाे सख्यामा मानिसको भीड जम्मा भएका छन्, तर दुवै देशका प्रशासन मौन छ ।
बन्दाबन्दीका कारण नाका आसपासमा किराना पसल पनि बन्द हुँदा उनीहरु गएको रातीदेखि भोकभोकै बस्न बाध्य छन् । अलपत्र परेका एक भारतीय नागरिक भन्छन्, ‘नेपाल सरकारले हाम्रो समस्या बुझेर वीरगन्जसम्म आउन दियो, तर हाम्रो आफ्नै सरकारले भने दुःख दिइरहेको छ ।’
उनीहरु भारतीय नागरिकताको परिचयपत्र हुँदा पनि आफ्नो देशमा जान नमिले गुनासो गर्छन् ।