कोरोनाभाइरस रोकथाममा स्वास्थ्य स्वयंसेविकाको खोजी
कोरोनाभाइरस महामारीको संक्रमण न्यूनीकरणका लागि गाउँ–टोलमा सचेतना जगाउन र शंकास्पद बिरामीको सूचना संकलन गरी स्वास्थ्य संस्थामा पुर्याउन महिला स्वास्थ्य स्वयंसेविकाको योगदान महत्वपूर्ण हुने देखिन्छ।
आधारभूत स्वास्थ्य सेवालाई जनताको घरदैलोमा पुर्याउने नेपाल सरकारको सफल अभियान हो, महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रम। यस कार्यक्रममा करीब ५२ हजार स्वयंसेविका आबद्ध छन्।
महिला स्वास्थ्य स्वयंसेविका हक संरक्षण समितिका अनुसार, आर्थिक वर्ष २०४५/४६ देखि तराईका २७ जिल्लाबाट शुरु गरिएको स्वास्थ्य स्वयंसेविका कार्यक्रम अहिले ७७ जिल्लामा लागू छ। अहिले फैलिएको कोरोना भाइरसको संक्रमण न्यूनीकरणमा यी स्वयंसेविकाहरुको भूमिका महत्वपूर्ण हुने स्वास्थ्य क्षेत्रका विज्ञहरु बताउँछन्।
स्वास्थ्य सेवा विभागका पूर्व निर्देशक गंगाराज अर्याल स्वास्थ्य स्वयंसेविकाको सञ्जाल टोलटोलमा भएकाले कोरोनाभाइरसको लक्षण देखिएका शंकास्पद व्यक्तिहरुलाई स्वास्थ्य संस्थाको पहुँचमा ल्याउन महत्वपूर्ण हुने बताउँछन्। “स्वयंसेविकाहरुलाई स्थानीय व्यक्तिहरूको घर थाहा हुने भएकाले उनीहरूलाई स्वास्थ्यकर्मीको सहयोगमा निगरानीमा खटाउन सकिन्छ, कसैमा कोरोनाभाइरसका लक्षण देखिए उनीहरूले सूचना संकलन गरेर रिर्पोटिङ गर्न सक्छन्,” अर्याल भन्छन्।
मुलुकमा मात्रृ–शिशु मृत्युदर कम गराउन स्वास्थ्य स्वयंसेविकाको भूमिका महत्वपूर्ण मानिन्छ। सरकारले भिटामिन ए, रुबेला, दादुरा, पोलियो थोपा खुवाउने, परिवार नियोजनका अस्थायी तथा स्थायी साधन वितरण जस्ता स्वास्थ्यका आधारभूत कार्यक्रम स्वास्थ्य स्वयंसेविकाकै माध्यमबाट जनताको घरदैलोमा पुर्याउँदै आएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत गणेश श्रीवास्तव पनि महामारीमा सूचना संकलन र सचेतना कार्यक्रमका लागि महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई परिचालन गर्न सकिने बताउँछन्। “संकटको वेला केन्द्रको कार्यक्रम पर्खने नभई जहाँ जे सम्भव हुन्छ, त्यसको उपयोग गर्ने हो, स्थानीय तहले आफ्नो आवश्यकता अनुसार स्वयंसेविकाहरुको सहयोग लिन सक्छन्” उनी भन्छन्।
महिला स्वास्थ्य स्वयंसेविका हक संरक्षण समितिकी केन्द्रीय अध्यक्ष सुनिता भट्टराई स्थानीय तहको आग्रहमा स्वयंसेविकाहरुले आ–आफ्नो क्षेत्रमा सचेतना जगाउने काम गरेको बताउँछिन्। “महामारीको समयमा हाम्रो तर्फबाट राज्यलाई सहयोग गर्न तयार छौं”, उनी भन्छिन्।
हरेक वडाका गर्भवती तथा सुत्केरी समेतको सहभागितामा आमा समूहको गठन भएर तीमध्येबाट स्वयंसेविकाको छनोट गरिन्छ। छनोट भएकालाई १५ दिनको आधारभूत तालिम दिएर वडाको स्वास्थ्य कार्यक्रममा परिचालन गरिन्छ।
ग्रामीण क्षेत्रमा २५० र तराईमा ५०० जनसंख्याको अनुपातमा एक जना स्वास्थ्य स्वयंसेविका तोकिन्छ।