स्पेनमा एकै दिन पाँच हजार संक्रमित, पाँच सय भन्दा बढीको मृत्यु
कोरोना महामारीबाट स्पेनमा एकै दिन पाँच हजार बढी संक्रमित भएका छन् । आइतबार पाँच हजारमा संक्रमण देखिएसँगै संक्रमित संख्या चीन भन्दा धेरै देखिएको छ ।
स्पेनमा संक्रमित संख्या ८५ हजार नाघेको छ । जबकी गएको डिसेम्बरमै संक्रमण देखिएको चीनमा ८१ हजार मात्रै संक्रमित छन् । चीनले यो महामारी लगभग नियन्त्रणमा लिइसकेको छ । अहिले चीनमा २४ सय मात्रै बिरामी छन् । गएको २४ घण्टामा चीनमा चार जनाको मृत्यु भएको छ ।
स्पेनमा भने गएको २४ घण्टामा ५३७ जनाको मृत्यु भएको छ । स्पेनमा मृतक संख्या चीनको भन्दा तीन गुणा नाघिसकेको छ । स्पेन भन्दा धेरै प्रभावित भने इटाली बनेको छ । इटालीमा १० हजार बढीको मृत्यु भएको छ भने ९७ हजार बढीमा संक्रमण देखिएको छ ।
संक्रमित संख्यामा भने अमेरिका एक लाख ४२ हजार नाघेको छ । अमेरिकाको सवै राज्यमा फैलिएको संक्रमणबाट २४ सय बढीको मृत्यु भएको छ ।
१ मार्चबाट मात्रै अमेरिकामा कोरोनाको संक्रमण देखिएको थियो । तर, यो एक महीनाको अवधिमै अमेरिकामा सवैभन्दा बढी संक्रमण देखिएको हो । अमेरिकामा अहिले तीन हजारको हाराहारीमा गम्भीर बिरामी छन् ।