बन्दाबन्दीमा अत्यावश्यक वस्तु भन्दै मदिरा ओसारपसार
अत्यावश्यक सामग्री ओसारपसार गर्ने नाममा मादक पदार्थ ओसारपसार गर्ने जिपसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीले बेनीबाट राखुतर्फ जाँदै गरेको ग२च ८८६९ नम्बरको जिपलाई ६ कार्टुन मादक पदार्थ सहित दुई जना पक्राउ गरेको हो। पक्राउ पर्नेमा चालक म्याग्दी बेनी नगरपालिका-८ बस्ने १९ वर्षीय सुनिलकुमार शाह र सहचालक जिल्ला पर्वत जलजला गाउँपालिका-३ बस्ने १८ वर्षीय असल परियार छन्।
प्रहरीले बरामद मदिरा तथा नियन्त्रणमा रहेका दुवै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय म्याग्दीमा पठाएको थियो।
प्रशासन कार्यालयले संक्रामक रोग ऐन २०२० को दफा २ को उपदफा १ विरुद्धको कसुर ठहर गर्दै ३ दिन कैद र जनही रु. एक सय जरिवानाको आदेश गरेको छ।
सरकारले संक्रमण रोक्न बन्दाबन्दी लागू गरे पनि अत्यावश्यक वस्तु र सेवा संचालनमा रोक लगाएको छैन।