लुक्ला क्षेत्रमा अलपत्र सबै पर्यटकको उद्धार
बन्दाबन्दी (लकडाउन) का कारण सोलुखुम्बुको लुक्ला क्षेत्रमा अलपत्र परेका विदेशी पर्यटकको उद्धार सकिएको छ। आज (सोमबार) पाँच वटा उडानबाट ७४ जनाको उद्धार गरिएको छ।
नेपाल वायुसेवा निगमको दुई, समिट एयरको दुई र सीता एयरको एक उडानबाट ४२ पर्यटक र ३३ नेपाली गाइड तथा सहयोगीको उद्धार गरिएको हो। यससँगै बन्दाबन्दीका कारण लुक्ला क्षेत्रमा अलपत्र सबै ५६२ जनाको उद्धार सकिएको नेपाल पर्यटन बोर्डले जनाएको छ। आइतबार मात्रै लुक्लबाट १५८ जनाको उद्धार भएको थियो।
बोर्डका अनुसार, देशका विभिन्न स्थानबाट हालसम्म १३ सय २९ जना विदेशी पर्यटकको उद्धार भएको छ। स्थलमार्ग र विमानबाट उनीहरूको उद्धार गरिएको हो। बोर्डका अनुसार स्थल मार्गबाट ५६९ जनाको र बाँकी सबैको विमानबाट उद्धार गरिएको हो।
अन्नपूर्ण, सगरमाथा आधार शिविर, मनाङसहित देशका विभिन्न १९ स्थानबाट भएको उद्धारबाट करीब एक हजार विदेशी नागरिक स्वदेश फर्किसकेका छन्। उद्धार भएर आएका अन्य पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकका होटलमा राखिएको छ। उनीहरूलाई पनि सम्बन्धित देशले अनुकूल समय मिलाएर चार्टर गरी लैजाने भएका छन्।
अष्ट्रेलियामा आगामी बुधबार र श्रीलंकामा २५ चैतमा उद्दार उडान गर्ने तयारी भइरहेको छ।
आफ्ना नागरिक लैजान अमेरिका, जापान, अष्ट्रेलिया, क्यानडा, श्रीलंकासहितका मुलुकले चासो देखाए अनुसार र सम्बन्धित देशका नागरिकलाई पठाउन पर्यटन बोर्डले उद्दार उडानमा समन्वय गरिरहेको जनाएको छ।