अचानक मुटुको चाल बन्द भएकालाई सीपीआर
अचानक बेहोस भएर ढलेका बिरामीहरूलाई सीपीआर विधि अपनाए मस्तिष्कमा पर्ने आघातबाट बचाउन सकिन्छ।
क्षेत्रीय प्रहरी तालीम केन्द्र विराटनगरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्रमान श्रेष्ठले गत साउनको शुरूबाटै माछामासु खान छाडेका थिए।
दैनिक ब्याडमिन्टन खेल्ने र कम्तीमा सात किलोमिटर दौडिने शारीरिक अभ्यास गर्दै आएका उनी १५ साउन २०७३ को बिहान कोशी अञ्चल प्रहरी कार्यालय धरानको कबर्ड हलमा ब्याडमिन्टन खेल्दैथिए।
पहिलो गेम जितेर दोस्रो गेम १९–१७ अंकमा पुग्दा एक्कासी अचेत भएर ढलेका उनलाई तत्कालै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (बीपीकेआईएचएस) पुर्याएर आकस्मिक कक्षमा भर्ना गरियो।
अस्पताल पुग्दासम्म मुटुको चाल बन्द भई रगतको प्रवाह रोकिएर मस्तिष्क (हाइपोक्सिक ब्रेन ड्यामेज), मिर्गौलालगायतका शरीरका महत्वपूर्ण अंग काम गर्न नसक्ने अवस्थामा पुगेका एसएसपी श्रेष्ठको मुटुको चाललाई मुटुरोग विशेषज्ञ सञ्जीव शर्मा र प्रशान्त साहको टीमले कार्डियोपल्मनरी रिससिटेसन (सीपीआर) विधिबाट पहिलेकै अवस्थामा फर्कायो।
त्यसपछिको दुई दिनसम्म भेन्टिलेटरमा कृत्रिम सास दिएर उपचार गरियो। डा. साह भन्छन्, “लडेको १५ मिनेटसम्म रगतको प्रवाह रोकिएकाले उहाँको मस्तिष्कले भने अझै काम गर्न सकेको छैन।”
तीन साता बीपीकेआईएचएसमा राखिएका एसएसपी श्रेष्ठको उपचार अहिले काठमाडौंस्थित नेपाल प्रहरी अस्पतालमा भइरहेको छ। अस्पतालमै गएर हेरेका डा. साहले उनको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको बताए।
उनका अनुसार, मस्तिष्क समस्याका कारण श्रेष्ठ अहिले केही भन्न खोजे पनि नसक्ने र अरूले भनेको कुरामा जवाफ फर्काउन नसक्ने (लक्ड् इन) अवस्थामा छन्।
नेपाल प्रहरीमा क्षमतावान अफिसर मानिने र भावी नेतृत्वको प्रमुख दावेदार ठानिएका श्रेष्ठ पूर्ववत् अवस्थामा फर्केलान्? “महीनौं लागेर निको हुन सक्छ, नहुन पनि सक्छ”, डा. साह भन्छन्, “यो समस्यामा यसै हुन्छ भन्न सकिंदैन।”
किन हुन्छ यस्तो?
चिकित्सकहरूका अनुसार, सामान्यतः मुटुको धड्कनमा खराबी आउँदा, हृदयघात हुँदा र मस्तिष्कको नसा फुट्दा (ब्रेन ह्यामरेज) मानिस एक्कासी बेहोस भएर ढल्छ। एसएसपी श्रेष्ठ मुटुको धड्कनमा एक्कासी खराबी आएर खेल्दाखेल्दै ढलेको हुनसक्ने डा. साह बताउँछन्।
उनका अनुसार, मुटु एक्कासी २०० देखि २५० (बिट पर मिनेट) को गतिमा धड्किंदा मानिस बेहोस भएर ढल्छ। श्रेष्ठ पनि मुटुको धड्कन एक्कासी बढेर ढलेको हुनसक्ने सम्भावना अत्यधिक रहेको डा. साह बताउँछन्।
यो समस्या जन्मजात वा अन्य विभिन्न रोगका कारण निम्तिन सक्छ। चिकित्सकहरू एक्कासी धड्कन बढ्ने समस्या कुनै निश्चित समयमा आउँछ भनेर ठोकुवा गर्न नसकिने बताउँछन्। वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला धेरै शारीरिक अभ्यास गर्नेहरूको मुटु मोटो हुने भएकाले चालमा एक्कासी गडबड भएर बन्द नै हुने बताउँछन्।
उपचार विधि
मुटु र मस्तिष्कमा अचानक आउने खराबीबाट पीडित हुनेको संख्या बढिरहेको छ। यस्तो खराबीका कारण अचानक ढलेका बिरामीको लागि सबभन्दा राम्रो उपचार विधि हो– 'सीपीआर'। अचानक बेहोस भएर ढलेकाहरूको मुटुको चाल बन्द भएको हुन्छ। त्यसलाई विचार गरेर अस्पताल पुर्याउनु भन्दा पहिले ढलेकै ठाउँमा सुताएर बिरामीको छाती थिच्नु उपयुक्त हुने डा. कोइराला बताउँछन्।
उनका अनुसार, एसएसपी श्रेष्ठलाई पनि ढलेकै ठाउँमा सुताएर छाती थिच्ने अभ्यास गरेको भए मस्तिष्कमा खराबी निम्तिने जोखिम कम हुन सक्थ्यो। तर, त्यस्तो उपचारबारे जानकारी नपाएका प्रहरीहरूले एसएसपीलाई चाँडो अस्पताल पुर्याउन जोड गरे अनि बीपीकेआईएचएसका चिकित्सकहरूले सीपीआर विधि अपनाएर बन्द मुटुलाई पहिलेकै अवस्थामा फर्काउन सफल भए।
हार्ट अट्याक (हृदयघात) भएर ढलेका बिरामीको मुटुलाई पनि यो उपचार विधिबाट पूर्ववत् अवस्थामा फर्काउन सकिने डा. कोइराला बताउँछन्। त्यसबाट शरीरमा रक्तसञ्चार भएर बिरामीको ज्यान जोगिन्छ। तर, शिक्षित वर्गले पनि सीपीआर जस्तो सामान्य विधि नअपनाएकोमा डा. कोइराला दिक्क मान्छन्।
'धड्कनमा गडबडी हुँदा मान्छे मर्न सक्छ'
डा. भगवान कोइराला,वरिष्ठ मुटुरोग विशेषज्ञ
मुटुको अटि्रअम भन्ने भागबाट चाल हुन नसकेर तल्लो भाग भेन्ट्रिकलबाट इलेक्ट्रिकल एक्टिभिटी शुरू भएमा मुटु नै बत्तिने सम्भावना हुन्छ। भेन्ट्रिकलबाट छिटो–छिटो चाल हुने प्रक्रियालाई भ्यान्ट्रिकुलर ट्याकार्डिया वा फाइब्रिल्सेन भनिन्छ। त्यो अवस्थामा रक्तसञ्चार नै बन्द हुनसक्छ।
खेलाडी वा धेरै व्यायाम गर्नेहरूको मुटु मोटो हुन्छ। त्यस्ता व्यक्तिहरूको मुटुको चालमा कहिलेकाहीं अचानक गडबडी आएर धड्कन बढ्न वा बन्द हुन पनि सक्छ। मुटुको चालमा गडबडी हुँदा रक्तसञ्चार रोकिएर मान्छे मर्ने सम्भावना पनि हुन्छ। रक्तसञ्चार रोकिंदा मस्तिष्कलगायतका महत्वपूर्ण अंगमा क्षति पुग्छ।
अति संवेदनशील अंग मस्तिष्कमा रगतको प्रवाह नियमित हुनुपर्छ। ३ देखि ५ मिनेटमा रगत प्रवाह नभए मस्तिष्क क्षतिग्रस्त हुन्छ। कतिपय मानिसहरू हिंड्दा हिंड्दै ढल्छन्। अचानक मुटु बन्द (सडन् कार्डियाक अरेस्ट) हुँदा त्यस्तो हुन्छ।