अष्ट्रेलियन नागरिक पुर्याउन निगमको वाइडबडी बुधबार सिड्नी जाँदै
नेपाल वायुसेवा निगमको ए३३० वाइडबडी जहाज बुधबार अष्ट्रेलिया जाने भएको छ। अष्ट्रेलियन राजदूतावासले निगमको जहाज चार्टर गरी नेपालमा अलपत्र परेका अष्ट्रेलियन नागरिक लैजान लागेको हो।
निगमको जहाज पहिलोपटक अष्ट्रेलिया पुग्दैछ। चार्टर जहाजमा कति यात्रु हुन्छन् भन्ने जानकारी आइनसकेको निगमले जनाएको छ। जाँदा यात्रु लिएर जाने भए पनि फर्कदा जहाज खाली आउने छ। २७४ सिट क्षमताको वाइडबडी बुधबार बेलुका ९ बजे उड्ने वायुसेवा निगम उडान संचालन विभाग प्रमुख दीपुराज ज्वारचनले जानकारी दिए।
जहाज मलेसिया ट्रान्जिट भएर जानेछ। काठमाडौंबाट उडेको चार घण्टामा मलेसियाको राजधानी क्वालालम्पुर पुग्ने छ। त्यहाँ इन्धन भरेर उडेको करीब आठ घन्टामा अस्टेलियाको सिड्नी उत्रने छ।
जहाज स्थानीय समय अनुसार साँझ ४ः५५ मा सिड्नी पुग्ने सयम तय भएको छ। काठमाडौंबाट मलेसिया हुँदै सिड्नी पुगेर फर्कंदा करीब २५ घण्टाको उडान हुने ज्वारचन बताउँछन्।
निगमको अर्को वाइडबडी जहाज बिहीबार फेरि स्वास्थ्य सामग्री लिन चीन जाने छ। निगकी प्रवक्ता अर्चना खड्काका अनुसार चीन जाने तय भए पनि समय तालिका आइसकेको छैन।
त्यस्तै, निगमको वाइडबडी जहाज नेपालबाट यात्रु लिएर २५ चैतमा श्रीलंका जाने भएको छ । यो गन्तव्यको पनि उडान तालिका आइसकेको छैन। जहाज उडान गर्ने तयारी भने भएको प्रवक्ता खड्का बताउँछिन्।