महामारीको ‘यलो जोन’ मा नेपाली, यस्तो हुनुपर्छ तयारी
कोभिड १९ महामारीमा यतिबेला हामी नेपाली पहेंलो (यलो) जोनमा छौं, अब हामीले कुनै पनि बेला ‘रातो (रेड) जोन’ मा पुग्न सक्ने अवस्थाप्रति सचेत हुँदै प्रभावकारी रणनीति अपनाउनुपर्छ ।
‘कोभिड १९’ ले विश्व समुदायलाई नै वातावरणीय सन्तुलन, भौतिक विज्ञानको सीमा, प्राकृतिक जीवन शैलीको अपरिहार्यता, लगायतका विषयमा महत्वपूर्ण पाठ सिकाइरहेको छ । जीवन र मृत्युको छनोट हाम्रासामु छैन । उल्टै हाम्रो उपस्थिति अरुका लागि जोखिम बन्ने अवस्थामा पुगेका छौं ।
यस्तो विचित्रको त्रासदिपूर्ण अवस्थामा हामीले चुनौतीको आकलन, मूल्याङ्कनका साथै कस्तो नियन्त्रणात्मक, निरोधात्मक र प्रवर्धनात्मक रणनीति तयार पार्छौैं, त्यसैको आधारमा हाम्रो भविष्य निर्भर छ । तर, हामीकहाँ अहिले सम्भावित परिणाम बारे कतिपय सूचना सिकाउने भन्दा पनि भय सिर्जना गर्ने खालका देखिन्छन् । सूचनाको परिमाणलाई गुणस्तरमा परिणत गर्ने संचार आचारसंहिता कडाइका साथ लागू गर्न सके मात्र भयको प्रभाव घटाउन सकिने छ ।
सम्भावित परिणाम आकलन गर्ने हाम्रा रणनीतिहरूले नै जोखिमको मात्रा निर्धारण गर्छ । इटली सम्भावित परिणामको अनुमानमा चुक्यो, जबकि दक्षिण कोरिया, चीनले स्थितिको सही पहिचान र मूल्याङ्कन गरेकाले तुलनात्मक रूपमा कम क्षतिमै महामारी नियन्त्रणमा आयो।
जोखिमले हाम्रो भौतिक, चिकित्सा र मनोवैज्ञानिक स्वास्थ्यमा असर गर्ने भएकाले त्यसैका आधारमा छुट्टाछुट्टै रणनीति तयार गर्नुपर्छ । उपचारमा रोग पत्ता लगाउने (डिटेक्ट), अरुभन्दा छुट्टै राख्ने (आइसोलेट) र उपचार (ट्रिटमेन्ट) गर्ने फरक फरक रणनीति अपनाएको हामी दक्षिण कोरियाको अनुभवबाट अनुसरण गर्न सक्दछौं।
प्रकोप व्यवस्थापनका के–कस्ता रणनीति आवश्यक छन् त ? मेरो विचारमा अहिले ध्यान दिइहाल्नु पर्ने कुरा निम्न हुन्।
प्रकोपको वस्तुनिष्ठ मूल्याङ्कन
प्रकोपको प्रभाव र सम्भावित परिणामका दृष्टिकोणमा हामीले अवस्थितिको सही पहिचान गर्नुपर्छ । यस अर्थमा प्रकोपको स्थितिलाई ट्राफिक लाइटजस्तै हरियो (ग्रिन), अर्थात् सामान्य, पहेंलो (यलो) अर्थात् प्रकोपउन्मुख र रातो (रेड) जोन अर्थात् प्रभावितजन्य भागमा विभाजित गर्नु पर्दछ । र, यसैका आधारमा प्रकोप नियन्त्रणको रणनीति तयार गर्नुपर्छ ।
उपलब्ध तथ्याङ्क र भौगोलिक अवस्थाका दृष्टिकोणले स्थान विशेषको वर्गीकरण भिन्नभिन्न हुन सक्दछ, त्यसैले काठमाडौंलाई पूर्णरूपमा बन्दाबन्दी (लकडाउन) गर्ने रणनीति अवलम्बन गर्दा कर्णालीलाई भने आंशिकरूपमा मात्र बन्दाबन्दी गर्नुपर्ने स्थिति पनि हुन सक्दछ भन्नेतर्फ सचेत हुन आवश्यक छ ।
एकसाथ सतर्कता र रोकथाम
कोभिड १९ को प्रभावको मूल्याङ्कन गर्दा, हामी अहिले पहेंलो जोनमा छौं । यस्तो अवस्थामा सतर्कता र रोकथाम दुवै रणनीतिलाई सक्रिय र प्रतिक्रियात्मक ढंगले संचालन गर्नुपर्छ । सतर्कता विनाको रोकथाम प्रभावकारी हुन सक्तैन । त्यसो नहुँदा हाम्रा कैयन रोकथाम रणनीति अनुमानमा निर्भर भइरहेका छन्।
भाइरस प्रभावित व्यक्तिको पहिचान अनुमानमा मात्र निर्भर रहनु, परीक्षणको सेवा केन्द्रमा मात्र सीमित रहने व्यवस्थाको अन्त्य गर्नु आजको मुख्य आवश्यकता हो। यसका लागि स्वास्थ्य सेवाको प्रभावकारी विस्तार हुनु आवश्यक छ । साथै मित्रराष्ट्रको सहयोग र अनुभवलाई सहज रूपमा लिई परराष्ट्र मन्त्रालयको भूमिका सक्रिय बनाउनुपर्छ ।
सम्भावित जोखिमको फराकिलो अनुमान र सुरक्षा निकायको अधिकतम् परिचालन
पहेंलो जोन कुनै पनि बेला रातोमा जान सक्ने भएकाले यतिबेला राज्यका सबै संयन्त्र खासगरी सुरक्षा संयन्त्रलाई साधनस्रोतसहित ‘रेडी टु मुभ’ अर्थात् स्ट्यान्डवाइ अवस्थामा राख्नुपर्छ । सुरक्षा निकायको 'कमाण्ड सेन्टर'लाई केन्द्र, प्रदेश र स्थानीय सरकार गरी तीन भागमा वर्गीकरण गरी स्थानीय जनप्रतिनिधि, र स्वयंसेवक समूहलाई अधिकतम् रूपमा परिचालन गर्ने रणनीति लागू गरिनु पर्दछ ।
प्रकोप व्यवस्थापनको निहुमा कैयन स्वार्थ समूह पनि सक्रिय हुन सक्ने भएकाले अनर्गल प्रचार र गैरकानूनी कार्यलाई कठोर कदम चालेरै भए पनि समयमै नियन्त्रण गर्नुपर्छ ।
यसका साथै महामारीको प्रभाव दीर्घकालसम्म पर्न गए निम्न आय भएका र दैनिक श्रम गरेर जीविकोपार्जन गर्ने समूहबाट प्रतिरोध र कानून उल्लंघनका घटना पनि हुन सक्छन्, यसको व्यवस्थापनमा बेलैमा ध्यान दिनु आवश्यक छ ।
खासगरी शहरी क्षेत्रमा यसखाले समस्या देखिन सक्ने भएकाले यस्तो समुदायलाई सामूहिक रूपमा खानपिन र बसोबासका लागि छुट्टै स्थान निर्धारण गरी सुरक्षा व्यवस्था कडा पारिनुपर्दछ ।
आतंक होइन, सक्रिय रणनीति
विपतको स्थितिलाई भयभित ढंगले प्रचारप्रसार गराइए सिङ्गो सामाजिक अवस्था नै खल्बलिन सक्छ । यस्तो अवस्थामा नीति, रणनीति भन्दा घटना विशेषले नसोचेको अवस्था निर्माण हुनसक्छ । त्यसैले यस्तो स्थिति निर्माण हुनु अगावै कानूनी तथा अन्य उपायको अवलम्बन गर्नुपर्दछ । सरकार संक्रमण वा संकटकाल घोषणासम्मको तयारीमा रहनु पर्दछ । तर, पहिल्यै अवस्थाको सही मूल्यांकन गरिएमा यस्तो संकटबाट पार पाउन सकिन्छ ।
महामारी सकिंदैमा समस्या सकिन्न
महामारी सकिएसँगै समस्या सकिंदैन । यसको सामाजिक, आर्थिक, मनोवैज्ञानिक असर लामो समयसम्म रहिरहन्छ । जीवनशैलीमा आएको अनपेक्षित परिवर्तनले जीवन र सोच नै बदलिनसक्छ । चीनमा लामो समयसम्म आइसोलेसनमा बसेका कतिपयको सम्बन्ध विच्छेद भएका समाचार पनि प्रकाशित भएको छ ।
हामी नेपालीमा घटना विशेषलाई बदलिंदो परिस्थिति अनुरुप ढाल्न सक्ने धैर्य र संयमसहितको प्रवृत्तिगत विशेषता रहेको देखिन्छ । भूकम्पमा पनि यो कुरा थोरबहुत रूपमा पुष्टि भएकै हो । तर, महामारीको दीर्घकालीन प्रभाव रोकथाममा मनोवैज्ञानिक परामर्श, उपचारमा विशेष ध्यान दिनुपर्छ ।
प्रकोप रोकथामका लागि सरकारी तबरबाट गरिएका प्रयासलाई आ–आफ्नो स्तरबाट सहयोग गर्नु हामी सबैको कर्तव्य हो । सधैंकालागी नभएर यसपटक हामीलाई भौतिकरूपमा नभई घरमै बसेर आफू, आफ्ना र अरुलाई मद्दत गर्नु परेको छ । संयम अपनाऔं । सुरक्षित बनौं ।
(भण्डारी नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक हुन्।)