बन्दाबन्दीका कारण अलपत्र साढे १२ सय पर्यटकको उद्दार
बन्दाबन्दी (लकडाउन) का कारण देशका विभिन्न स्थानमा अलपत्र १२ सय ५५ जना पर्यटकको उद्दार गरिएको छ। नेपाल पर्यटन बोर्डको समन्वयमा आइतबारसम्ममा स्थलमार्गबाट ५६९ जना र हवाई मार्गबाट ६८६ जनाको उद्दार भएको हो।
बोर्डका अनुसार अन्नपूर्ण क्षेत्र, सगरमाथा आधार शिविरसहितका क्षेत्रमा पदायात्रामा गएर अलपत्र परेका पर्यटकलाई उद्दार गरिएको हो।
उद्दार भएका पर्यटकमध्ये नौ सयभन्दा बढी युरोपेली पर्यटक फर्किसकेका बोर्डले जनाएको छ। शनिबार कतार एयरको चार्टर उडानबाट जर्मनी र फ्रान्सका गरी ९१३ पर्यटक स्वदेश फर्केका हुन्। ती पर्यटकलाई सम्बन्धित देशले कूटनीतिक पहलबाट उद्दार उडान गरेर फिर्ता लगेको बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनञ्जय रेग्मीले जानकारी दिए।
उद्दार गरिएका अरु पर्यटक काठमाडौंमै छन्। उनीहरूलाई पनि सम्बन्धित देशले अनुकूल समय मिलाएर दुई–तीन दिनमै लैजाने भएका छन्।
आफ्ना नागरिक लैजान अमेरिका, जापान, अस्ट्रेलिया, क्यानडा, श्रीलंकासहितका मुलुकले चासो देखाएका छन्। ती देशबाट पनि आफ्ना नागरिक उद्दार गरेर काठमाडौं ल्याइदिन आग्रह भएकाले देशका विभिन्न स्थानमा पुगेका पर्यटक खोजी गर्ने र ल्याउने काम भइरहेको बोर्डका सीईओ रेग्मी बताउँछन्।
जापानले केही दिनभित्रै आफ्ना नागरिक लैजान चासो देखाएको छ। छोटो अवधिका लागि नेपाल घुम्न आएका जापानी पर्यटक ८५ जना छन्, यीमध्ये १८ जना काठमाडौ बाहिर छन्। जापानबाट आएर नेपाल बसिरहेका जापानी नागरिक भने ३५१ जना छन्। यीमध्ये हाल ३४ जना उपत्यका बाहिर छन्। यी सबैलाई खोजेर काठमाडौं ल्याउने काम भइरहेको छ।
यस्तै, नेपालमा रहेका क्यानडाका ६ सय जना पर्यटकको पनि खोजी शुरु भएको छ। दुई दिनभित्रमा क्यानेडियनसहित नेपालभर कति पर्यटक छन् भनेर पत्ता लगाइसक्ने बोर्डले जानकारी दिएको छ। यसपछि फिर्ता लैजान चाहने मुलुकको अनुरोधमा ती नागरिकलाई काठमाडौं ल्याइने र अन्य पर्यटकलाई सम्पर्कमा नै रहने गरी सम्बन्धित क्षेत्रका होटलमै राखिने भएको बोर्डका सीईओ रेग्मी बताउँछन्।
बन्दाबन्दी भएपछि पर्यटन बोर्डबाट पदयात्रा सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड लिएर जाने पर्यटक र नेपालीसहित लुक्ला क्षेत्रमा मात्रै ५६२ जना फसेका थिए। यीमध्ये फर्किन चाहने अधिकांशलाई आइतबारसम्म काठमाडौं ल्याइएको छ।
लुक्ला क्षेत्रमा रहेका पर्यटक र नेपाली गाइडसहित सबैलाई ल्याउने गरी आइतबारका लागि पाँच वटा उडान तय भएकोमा प्राविधिक कारणले दुई वटा रद्द गरिएको थियो। तीन वटा उडानबाट आइतबार ७० जना नेपालीसहित १५८ जनालाई काठमाडौं ल्याइएको छ। बाँकी रहेका ४२ जनालाई भने सोमबार मात्रै ल्याइने बोर्डको भनाइ छ।
नेपाल पर्यटन बोर्डको अनुरोधमा आइतबार तारा एयरले मात्रै लुक्लाबाट ३० जना विदेशी र २८ जना टे«किङ गाइड गरी ५८ जनाको उद्दार गरेको छ। टुरिष्ट गाइड, ट्रेकिङ कम्पनीका सञ्चालक तथा कर्मचारी लगायतका नेपालीलाई उद्दार गरिएको तारा एयरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
लुक्लामा अलपत्र अमेरिकी र बेलायती पर्यटकलाई भने ‘रिलिफ फ्लाइट’ सञ्चालन गरेर काठमाडौं ल्याएको विज्ञप्तिमा जनाइएको छ।