कोरोनाभाइरस महामारीः सफल प्रयासका प्रारम्भिक बिम्ब
कोभिड–१९ महामारीसँग दक्षिण कोरिया, ताइवान र सिंगापुरले हात पारेकाे सफलता नेपालका लागि पनि पाठ हुनसक्छ ।
सन् १९८० को दशकमा नेपालको राज्य प्रणालीले सेवा दिन सफल नभएको स्पष्ट हुनथालेको थियो । सन् १९९० को परिवर्तन भयो । नेपाली कांग्रेस र वामपन्थी तप्काको अगुवाइमा नेपाल अगाडि लाग्यो । दुवैतर्फका नेतृत्वको नारा हुन्थ्यो, ‘हामी नेपाललाई सिंगापुर बनाउँछौं ।’
त्यस अघिनै एकथरी भन्थे, 'अरु मुलुक एशियाली टाइगर बनिसके, हामी एशियाली चितुवा बन्नेछौं ।' सन् १९८० को नारा थियो ‘एशियाली मापदण्डमा पुग्ने।’ पछि त्यो नारा ‘आधारभूत आवश्यकता परिपूर्ति’ मा परिणत भएको थियोे ।
'विकास भनेको सुशासन हो, विधि, नियमको पालनामा संस्थागत क्षमताको अभिवृद्धि हो' भनी सम्झाउनेहरू नकारात्मक, बेतुके हल्ला गर्नेमा दरिएका थिए। यहाँका राजनीतिक नेताले रटिराख्ने ती मुलुकहरूले पूर्वाधार मात्रै नभई शासन विधि, नियमको पालना, सरकार र नागरिकबीच विश्वास बढाउने पुल निर्माण गरेको प्रसंगप्रति भने कसैको ध्यान नै पुगेन ।
न त त्योे बाटोमा हिंड्ने प्रयास गरियो । स्रोत साधनमा कमी त छँदै थियो, तर आफ्नो संस्थागत क्षमता हामीले बनाएनौं, केही थियो भने पनि धरासायी पार्यौं ।
यस छोटो आलेखमा कोभिड–१९ महामारीसँग जुध्न दक्षिण कोरिया, ताइवान र सिंगापुरको पाठ इन्फाेमा प्रस्तुत गरिएको छ।
यस महामारीबाट बच्न समयमा हामी सबैले पनि दत्तचित्त रही, नयाँ तरिकाले काम गर्नुको विकल्प छैन । प्रदेश र स्थानीय सरकार छन्, तिनलाई समेत संविधानले दायित्व दिएको छ । फेरि विपद् जोखिम व्यवस्थापन सम्बन्धी ऐनको आधार पनि यिनै तल्ला तहका सरकारहरू हुन् ।
तालिकामा उल्लेख तीनवटै मुलुकको भूगोल, सामाजिक अवस्था र राजनीतिक सन्दर्भ हाम्रो भन्दा फरक छ, ठ्याक्कै प्रयोग नमिल्ला । तथापि तिनको सफलताको पाठ भने उपयोगी छ । ती पाठहरूले कोरोनाभाइरसको संक्रमण रोकिएपछि (पोस्ट कोरोनाभाइरस) कालखण्डमा अगाडि जाने एउटा बाटो पनि देखाएको छ ।
क) सबल स्वास्थ्य सेवा र त्यस अनुरुपको मानवस्रोतको व्यवस्था गरिनुपर्ने,
ख) समस्यालाई समग्र सरकारहरूको दायित्व मान्दै सरकार, सञ्चार माध्यम र स्वास्थ्य क्षेत्रको संयोजित सहकार्य हुनुपर्ने,
ग) नागरिकलाई विश्वासमा राख्न सरकार सदा प्रयत्नरत रहनुपर्ने ।
यो स्तरको विश्वव्यापी महामारी कसैले कल्पना गरेका थिएनन् । यसलाई नियन्त्रण गर्नुको विकल्प छैन । यी तीनवटै मुलुकको पाठ मनन् गरी आफ्नो सन्दर्भमा ढाल्न सहयोगी हुनेछ ।