तरकारी बजारकाे भिडले संक्रमणको जोखिम
विराटनगर बजारभित्र दैनिक लाग्ने तरकारी बजारमा लकडाउनका बेला पनि भिडभाड हुने गरेको छ । दैनिक उपभोगका लागि अति आवश्यक पर्ने तरकारी खरीद बिक्रीमा स्थानीय प्रशासनले खुला छाडेकाले गुद्री बजारमा हुने गरेको भिडका कारण काेराेना भाइरस संक्रमणको जोखिम देखिएको छ ।
व्यस्त बजारभित्रको गुद्री सार्न सरकारले पहल नगरेको हैन तर, तरकारी व्यापारमा लागेका बिचौलियाका कारण रु १६ करोड ८८ लाखमा बनेको तरकारी थोक बजार सुचारु हुन सकेको छैन । व्यापारीले नगरको गुद्री बजार नछाड्ने दाबी गर्दै आन्दोलनमा छन् । कटहरी १ मा गत वर्ष नै तयार भएको थोक बजारमा नगई यहाँका व्यापारीले गुद्री बजारमै भिड गर्ने गरेका छन् ।
विराटनगर महानगरपालिकाले पटक पटक सूचना गरेर उनीहरूलाई हटाउने प्रयास गरेपछि सफल हुन सकेको छैन । महानगरलाई लकडाउनको मौकामा गुद्री खाली गराउने अवसर मिले पनि त्यसको सदुपयोग हुन सकेको छैन । विराटनगरका मेयर भिम पराजुली गुद्री बजार अनुमतिविना नै चलेको बताउँछन् ।
“हामीले रोकेकै हो, उनीहरुले आफैं चलाइरहेका छन्”, पराजुलीले भने, “मानिसलाई ज्यान भन्दा पनि तरकारी प्यारो जस्तो देखिएको छ अहिले ।” गुद्री बजारमा तरकारी खरीद र बिक्री गर्नेको भिडमा एकले अर्कालाई नछोई हिंड्न सक्ने अवस्था छैन । मेयर पराजुली भिड कम गर्न फरक फरक ठाउँमा तरकारी किनबेच गर्ने व्यवस्था गर्नु पर्ने बताउँछन् ।
अति आवश्यक वस्तु खरीदका लागि अनलाइन सुविधा दिने तयारी गरिएको जानकारी दिंदै उनले प्रहरीसँग समन्वय गरेर भिड नियन्त्रण गरिने बताए । प्रहरीले पनि महानगरपालिकासँग समन्वय गरेर तरकारी बजार व्यवस्थित गर्ने बताएको छ ।
मोरङका प्रहरी नायब उपरीक्षक मानबहादुर राईले महानगरसँग बजार व्यवस्थित गर्नेबारे छलफल भइरहेको बताए ।
गुद्रीका व्यापारीले सरकारको लगानीमा बनेको थोक बजारमा नगई अन्यत्रै बजार सार्ने तयारी गरेपनि त्यो सुचारु हुन सकेको छैन । नेपाली कांग्रेसका मोरङ सचिव नागेश कोइरालाको जमिन भाडामा लिएर व्यापारीले तरकारी बजार संचालनको तयारी गरेका छन् ।
विराटनगरसँगै जोडिएको कटहरी गाउँपालिका १ मा नेपाल सरकार र विश्व ब्यांकको लगानीमा फलफूल तथा तरकारी थोक बजार निर्माण भएको थियो । ५ बिघा २ कट्ठा जमिनमा बनेको थोक तथा खुद्रा बजारमा ७२ वटा स्टल छन् ।
निर्माण सम्पन्न भएको ६ महीनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले ३ चैत २०७५ मा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई बजारको साँचो हस्तान्तरण गरेका थिए ।