नेपाली क्रिकेट टोलीको नामिबिया भ्रमण स्थगित
क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नामिबियामा अप्रिल २० (८ वैशाख) देखि हुने भनिएको नेपालसमेत सम्मिलित त्रिदेशीय श्रृङ्खला स्थगित भएको छ। अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले कोरोना भाइरस संक्रमण जोखिमका कारण ३० जुनभन्दा अघिका सबै खेल स्थगित गरेको छ।
अहिलेको विषम परिस्थितिको मूल्याङ्कन गर्दै सम्बन्धित सरकार र सरोकारवालाहरुसँगको सल्लाहमा खेल स्थगित गरेको आईसीसीको ‘मिडिया रिलिज’ मा उल्लेख छ। लिग–२ अन्तर्गत नेपालले नामिबिया र स्कटल्याण्डसँग अप्रिल २० देखि २७ सम्म चार वटा एकदिवसीय खेल खेल्ने कार्यक्रम थियो।
आईसीसीले खेल स्थगित भएको सूचना दिइसकेको नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए। अब सदस्य तथा सरोकारवालाहरुसँगको सल्लाहमा नयाँ मिति तय हुने आईसीसीले जानकारी दिएको चन्दले बताए।
कोरोना भाइरस संक्रमणको त्रास बढेपछि यसअघि क्यानले उक्त प्रतियोगिता लक्षित राष्ट्रिय टोलीको बन्द प्रशिक्षण स्थगित गरेको थियो। अहिले खेलाडीहरु आ–आफ्नो घरैमा रहेको चन्दले बताए।
यसअघि जुनमै हुने भनिए पनि मिति तय नगरिएको पपुवान्युगिनीमा हुने नेपाल र यूएईबीचको त्रिदिवसीय श्रृङ्खलाबारे भने आईसीसीले निर्णय गरेको छैन। त्यसलगत्तै जुलाईमा स्कटल्याण्डमा नामिबियासमेत सम्मिलित त्रिदिवसीय श्रृङ्खला खेल्ने तालिका थियो। तर, ती भ्रमण पनि अनिश्चित बनेको छ।
अब यी सबै खेल स्थगित हुने संभावना बढेको छ। लिग–२ अंकतालिकामा नेपाल चार खेलमा चार अंकसहित छैठौँ स्थानमा छ।
आठ खेलमा कुनै पनि खेल नजितेको नामिबिया सातौँ स्थानमा छ। ओमान, अमेरिका र स्कटल्याण्ड क्रमशः पहिलो, दोस्रो र अन्तिम स्थानमा छन्।