पोखरामा गोली भेटिएको दुई महीनापछि काठमाडौंमा फेला परे हतियार
८ माघमा पोखराका लागूऔषधको कारोबारी दीपक गुरुङको इन्द्रचोकस्थित घरमा छापा मार्दा जिल्ला प्रहरी कार्यालय कास्कीले गोली र लागूऔषध बरामद गरेको थियो। बाह्रबोर दुईनाले बन्दुक र सर्ट राइफलमा प्रयोग हुने ३५ थान गोली तथा लागूऔषधका ३० एम्पुल फेला परेको थियो।
दीपक लागूऔषध बेचबिखनमा संलग्न रहेको सूचना पाएर छापा मार्न गएको कास्की प्रहरीको टोलीले उनको कोठाको खानतलासी गर्दा बिछ्यौना मुनि गोली भेटिएको थियो।
प्रहरीले उनलाई कास्की जिल्ला अदालतबाट लागूऔषध र हातहतियार तथा खरखजाना मुद्दामा म्याद लिएर हिरासतमा राख्याे। उनी विरुद्ध प्रमाण जुटाउने क्रममा प्रहरीले उनका परिवारका सदस्यसँग हतियारका विषयमा सोधखोज गर्यो।
प्रहरीसँगको प्रारम्भिक बयानमा दीपकले उनका दाजु प्रदीपका नाममा गृह मन्त्रालयबाट जारी अनुमतिपत्र सहितका हतियार र गोली रहेको दाबी गरेका थिए। तर प्रहरीले हतियारका अनुमतिपत्र र हतियार दुवै फेला पार्न सकेन।
यसैबीच, दीपकबाट गोली बरामद गरेको ६३ दिनपछि प्रहरीले हतियार बरामद गरेको छ।
अनुसन्धानबाट तेस्रो व्यक्ति सूर्य ज्वारचन पनि देखिएपछि प्रहरीले मंगलबार उनलाई पक्राउ गरेसँगै हतियार बरामद गरेको हो। महानगरीय वृत्त महाराजगञ्जले टोखा नगरपालिका–११ भण्डारी टोलबाट ज्वारचनलाई नियन्त्रणमा लिएको हो।
स्याङ्जा मालुङ्गा गाउँपालिका–६ राम्दीघाट घर भएका ५४ वर्षीय ज्वारचनका साथबाट बाह्र बोरको दुईनाले बन्दुक एक थान र सर्ट राइफल एक थान बरामद गरेको छ। उनलाई हतियारसहित पोखरा ल्याएको कास्की प्रहरीका प्रवक्ता राजकुमार केसीले बताए।
वृत्त महाराजगञ्जका प्रमुख डीएसपी उमेश लम्सालका अनुसार, जिल्ला अदालत कास्कीले आइतबार पत्रादेश गरी ज्वारचनलाई पक्राउ गरेर पठाउन आदेश दिएको थियो।
हतियारहरुको अनुमतिपत्र प्रदीप गुरुङका नाममा जारी भएको कास्की प्रहरीले जनाएको छ। नियम अनुसार अनुमति लिएका व्यक्तिले तोकेको स्थानमा हतियार राख्नुपर्छ। ज्वारचनले हतियारहरु गैरकानूनी रुपमा राखेका थिए।