बन्दाबन्दीमा उपत्यकाका तीन जिल्ला: साना पसलमा भीडभाडले जोखिम
सरकारले आह्वान गरेको बन्दाबन्दी (लकडाउन) को दोस्रो दिन बुधबार बिहानदेखि नै काठमाडौं प्रहरी प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदी काठमाडौंमा आफ्नो टोलीसहित घुमिरहेका छन्। प्रहरीले माइकिङ गर्दै बन्दाबन्दीको पालना गर्न आह्वान गरिरहेको छ।
“करीब ९० प्रतिशत सर्वसाधारण घरभित्रै हुनुहुन्छ, तपाईंहरु भित्रै बस्नुहोस्, सहयोगका लागि हामी तयार छौं भनिरहेका छौं” एसएसपी सुवेदीले भने। उनका अनुसार, आपूर्ति व्यवस्था सहज पार्न काठमाडौंमा खाद्यान्न र तरकारी पसलहरुलाई कडाइ गरिएको छैन। यस्तै, खानेपानी, इन्धन र खाद्यान्न आपूर्तिका सवारीसाधन पनि निर्बाध सञ्चालन गर्न दिइएको छ।
“टोल–टोलमा रहेका साना पसलहरुमा मानिसहरुको भीडभाडले भने संक्रमण फैलिने सम्भावना बढाएको छ,” सुवेदीले हिमालखबरसँग भने “यसलाई कसरी नियमन गर्ने भन्ने विषयमा हामी छलफल गर्दैछौं।”
काठमाडौं प्रहरीले चालु अवस्थामा रहेका मुद्दा चाँडोभन्दा चाँडो अदालत पठाउने र धरौटीमा छाड्न मिल्ने थुनुवाहरुलाई रिहा गरेर आफ्नो हिरासतको चाप औसत क्षमता भन्दा ६० प्रतिशत घटाएको छ।
सरकारले कोभिड–१९ को संक्रमण फैलिन नदिन मानिसहरुबीचको सम्पर्क नियन्त्रण गर्ने उद्देश्यले बन्दाबन्दी लागू गरेको हो। कतिले विशेष सावधानी अपनाउँदै यसको पूर्ण पालना गरेका छन् भने कतिपयले बेवास्ता गरेर हिंडडुल र भेटघाट जारी राखेको देखिएको छ।
नेपालको लागि पहिलो अनुभव ‘लकडाउन’ लाई कतिपय सर्वसाधारणले कर्फ्यूका रुपमा बुझेका छन्। भक्तपुरका प्रहरी उपरीक्षक (एसपी) सविन प्रधान लकडाउन कस्तो हुन्छ भनेर हेर्न आउनेहरू र कोरोना जीवाणुले आफूलाई केही गर्न नसक्ने भन्दै सडकमा निस्किनेहरू समस्या बनेको बताउँछन्। उनका अनुसार, भक्तपुरमा करीब ८० प्रतिशत सर्वसाधारण घरभित्रै छन्। २० प्रतिशतमध्ये पाँच प्रतिशत कामका लागि र बाँकी आवश्यक नभए पनि बाहिर निस्किएको उनी बताउँछन्।
एसपी प्रधानका अनुसार भक्तपुरमा साना–ठूला खाद्यान्न पसलहरुलाई बिहानको समय मात्रै खोल्ने अनुमति दिइएको छ । यस्तै, आवश्यक वस्तु ढुवानीलाई नियमित गरिएको छ। उनले आवश्यक सेवाका कर्मचारी र पेशाकर्मीलाई आवतजावतमा नरोकिएको बताए।
“भक्तपुरमा ग्रामीण बसोबास समेत रहेकाले खाद्यान्न र अन्य वस्तुको त्यति ठूलो समस्या रहँदैन,” उनी भन्छन्, “कोभिड–१९ सँग मिल्दो सामान्य लक्षण देखिए पनि अस्पताल आउने क्रम बढेको छ।” उनका अनुसार, भक्तपुरमा आइसोलेसनमा राखिएका दुईमध्ये एक जना उपचारपछि घर फर्किएका छन्।
ललितपुर प्रहरी प्रमुख, एसएसपी टेकप्रसाद राई आफ्नो क्षेत्रमा बन्दाबन्दीको पालना ९५ प्रतिशत भएको आकलन गर्छन्।
ललितपुरको बजार र ग्रामीण क्षेत्र दुबैमा स्थानीय सरकारको सहकार्यमा कोभिड–१९ को संक्रमण रोक्न विविध कार्यक्रम संचालन भएकाले बन्दाबन्दीको पालना गर्नेहरुको संख्या अधिक रहेको हो।
एसएसपी राईका अनुसार जिल्लामा खाद्यान्न, इन्धन र खानेपानीको आपूर्तिमा कुनै समस्या छैन। साना पसलहरुमा हुने भीडको निगरानी गर्नेबारे छलफल भइरहेको उनले बताए।