“शब्द लकडाउन भनिए पनि कर्फ्यू नै हो”
नेपालमा अहिलेसम्म भेटिएका कोरोना भाइरस (कोभिड–१९) का संक्रमित दुई मध्ये एक जना उपचारपछि घर फर्किसकेका छन् भने अर्का व्याक्तिको उपचार भइरहको छ । काठमाडौँमा कोरोना भाइरसबाट संक्रमित दोस्रो व्यक्ति भेटिना साथ सरकारले मंगलबारबाट लागू हुने गरी बन्दाबन्दीको घोषणागरेको छ । यही सन्दर्भमा सरकारले गरिरहेको पहलबारे ‘कोरोना भाइरस (कोभिड –१९) को संक्रमण रोकथाम र नियन्त्रण सम्बन्धी उच्चस्तरीय समिति’ का संयोजक उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग हिमालका लागि लक्ष्मी बस्नेतले गरेको कुराकानीः
११ देखि १८ चैतसम्म घरबाहिर ननिस्किन भनियो, यो बन्दाबन्दी कर्फ्यू जस्तै हो ?
– हामीले शब्द ‘लकडाउन’ भन्ने कि नभन्ने भन्दा पनि आम नागरिकको बाहिरी हिँडडुल नियन्त्रण गरेर सावधानी अपनाउन खोजेको हो । हुन त व्यक्ति आफैं सचेत हुनुपर्ने वेला हो तर, व्यक्तिगत प्रयास र उनीहरुको नैतिकताले मात्रै संभव नहुने देखियो । त्यसैले सामूहिक जमघट गर्न, पारिवारिक भेटघाट गर्न र घरबाहिर निस्कन रोकिएको हो ।
सावधानी अपनाउनुपर्ने हिसाबले यो कर्फ्यू जस्तै हो तर, त्यही शब्द मात्र प्रयोग नगरिएको हो । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले संक्रामक रोग ऐन, २०२० को दफा २ बमोजिम जारी गरेको आदेश बमोजिम मंगलबारबाट लकडाउन गरिएको हो ।
अत्यावश्यक कामका लागि बाहिर निस्कन अनुमति लिनुपर्ने भनिएको छ, सर्वसाधारणले कसरी कहाँबाट लिने अनुमति ?
– अत्यावश्यक भनेर हामीले तोकेका छौं, त्यो अवस्था आयो भने स्थानीय तहका जनप्रतिनिधिमार्फत वा नजिकको प्रहरी प्रशासनसँग सम्पर्क राख्नुपर्छ ।
मुख्य त हामीले जारी गरेको आदेशको नियमन गर्ने जिम्मेवारी सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको भएकाले उहाँहरुसँग जानकारी पुग्नुपर्छ । सिडियो कार्यालयसम्म पुग्ने माध्यम नजिकको प्रहरी वा जनप्रतिनिधि हुन् ।
संक्रमण व्यापक भइसकेका देशबाट आएका गाउँसम्मै पुगेका छन् । काठमाडौंबाट पनि लाखौँ मान्छे बाहिरी जिल्ला गए । ती मान्छे क्वारेन्टाइनमा बसे कि बसेनन् कसरी अनुगमन हुन्छ ?
-मूल कुरो संक्रमणबाट बच्ने उपाय आफैँले अबलम्बन गर्ने हो । बाहिरी मुभमेन्ट नगर्ने, घरमै बसे पनि परिवारका सदस्यबीच जमघट नगर्ने हो । विदेशबाट आएकालाई घरमै अनिवार्य क्वारेन्टाइनमा बस्न भनिएको छ । त्यसैले अहिले आत्मअनुशासित हुनुप यो, आफू अलग बस्नु भनेको आफ्नो परिवार स्वस्थ राख्नु हो । भीडभाडले जोखिम कम हुन्छ भनेर विश्वले नै अपनाएको मुख्य विधि पनि यही हो ।
अहिलेको अवस्थामा सरकारले गरेका निर्णयप्रति सबैको चासो छ । ती निर्णय र अन्य सम्बन्धित सूचना दिने माध्यम के हो ?
– औपचारिक जानकारी सरकारको प्रवक्ता, स्वास्थ्य मन्त्री र स्वास्थ्य मन्त्रालयका अधिकारीले दिने हो । उहाँहरुमार्फत आमसञ्चारको माध्यम हुँदै हरेक व्यक्ति कहाँ पुग्ने भइरहेको छ । त्यसलाई अझ व्यवस्थित गर्दै जानेछौं । अहिले त स्थानीय सरकार पनि भएकाले हरेक सूचना घरघरमा पुग्न सजिलो छ ।
स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मेलनमा हिजो निकै भीड देखियो, तपाईं संयोजक भएको समितिको बैठकमा पनि जमघट ठूलै हुन्छ, अब पनि त्यस्तै हुन्छ कि ?
– हिजो पत्रकार सम्मेलन भन्ने जानकारी दिएपछि पत्रकारहरु आउनुभयो, अलि व्यवस्थित गर्नुपथ्र्यो, छोटो समयमा व्यवस्थापन पक्ष कमजोर भएको देखियो । हाम्रो समितिको पनि बैठक बस्नुपर्ने बाध्यता छ, सबै विषयको छलफल र निर्णय अनलाइन वा भिडियो कलको माध्यमबाट मात्रै हुन सक्दैन । तर, अब बैठक, छलफलको तरिका र निर्णय सार्वजनिक गर्ने मोडेल पनि फरक गर्दै लैजान्छौं । समितिको बैठक बस्दा भने सकेसम्म सुरक्षाका उपायहरु अपनाएका हुन्छौं ।
कोरोना भाइरस संक्रमित बिरामी भेटिइसकेको अवस्थामा सरकारले आगामी दिनमा रोकथाम र नियन्त्रणका लागि के गर्दैछ ?
– कोरोनाकै लागि ‘डेडिकेटेड आइसोलेटेड अस्पताल’ काठमाडौंको हकमा बलम्बुमा तयार हुन्छ । प्रदेशहरुमा पनि कम्तीमा एउटा प्रदेशमा एउटा त्यस्ता अस्पताल चाँडै शुरु हुन्छ । सबै सुविधासहितको क्वारेन्टाइन भवनहरु पनि ठाउँठाउँमा निर्माण भइरहेका छन् । स्पेशल ल्याबका सामग्री तथा सबै स्वास्थ्यकर्मी र सुरक्षामा खटिनेलाई पुग्ने सुरक्षित सामग्री पनि ल्याउन तयारी अवस्थामा छौं । हरेक काम एकदम गतिका साथ भइरहेको छ । तर, नयाँ संक्रमणमा सबै काम नयाँ गर्नुपर्ने भएकाले आमरुपमा देख्दा सरकारले ढिलो गरेको भन्ने लाग्न सक्छ ।
विपतकाे पूर्व तयारी छैन भनेर अन्य विपतमा पनि आलोचना आउँथ्यो, अहिले पनि त्यस्तै त देखियो ?
– अहिलेको अवस्था फरक हो, विश्वले नै कल्पना नगरिएको संक्रमण एक्कासी यति छिटो फैलिरहेको छ । विश्वका ठूला धनी देशहरुमा स्वास्थ्य सेवा कति बलियो होला तर, पनि संक्रमणले सताइरहेकै छ । हामीले पनि रातारात जोखिम न्यूनीकरणको पहल थालेको हो ।
आवश्यक सामान जुनसुकै देशमा विमान चार्टर गरेर ल्याउने तयारीमा छौं । तर, त्यस्ता सामाग्रीहरु हाम्रोमा मात्र होइन, विश्वमै अभाव हुन थालेको छ । यत्ति हुँदाहुँदै पनि अहिलेसम्म जोखिम न्यूनीकरण गर्ने उपाय हामी प्रत्येक व्यक्तिको हातमा छ । घरमा मात्रै बसे पनि धेरै जोखिम कम हुन्छ । त्यसैले अहिले आलोचना भन्दा पनि सबैले आफ्नो ठाउँबाट जोखिम कम गर्न सकिन्छ ।
तपाईं आफू चाहिँ यो एक हप्ता कसरी काम गर्नुहुन्छ ?
विशेष सावधानीका साथ काम गर्नुपर्छ । सकेसम्म हिंडडुल, भेटघाट र बैठकहरु अनलाइनको माध्यमबाट गर्ने प्रयास मेरो र म जस्तै काम गर्नुपर्ने अरुको हुनेछ । त्यसरी नहुने अवस्थामा त निस्किनै प¥यो । सुरक्षाका विधिहरु अपनाएर काम गर्छु ।