यसरी गरिंदैछ कोभिड–१९ संक्रमित र शंकास्पद बिरामीको निगरानी र खोजी (भिडियो)
सिंगापुरमा कोरोना भाइरस (कोभिड–१९) को प्रभाव अन्य देशको तुलनामा बढ्न पाएन। संक्रमण फैलिन नदिन नागरिकहरुलाई अदृश्य सम्पर्क जालोमा राख्ने प्रविधिको प्रयोग त्यहाँ जस्तै न्युजिल्याण्ड र दक्षिण कोरियामा पनि गरियो। त्यो थियो एउटा मोबाइल एप, जसले कोभिड–१९ संक्रमित रहेको क्षेत्र, उसको अवस्था, सम्पर्कमा रहेका व्यक्ति र समूहमा रहँदा राख्नुपर्ने दूरी तथा छेउका मानिसको ज्वरोसम्मको तथ्यांक संकलन गर्यो।
यसले संक्रमितको पहिचान हुनासाथै उसको ‘कन्ट्याक्ट ट्रेसिङ’ सम्भव भयो। जसका कारण अन्यमा संक्रमण फैलनु अघि सो क्षेत्रमा बन्दाबन्दी (लकडाउन) गर्न र सबैको स्वास्थ्य जाँच सम्भव भयो। यसले यी देशमा भाइरस फैलिन पाएन र नयाँ संक्रमित बिरामी बढेनन्।
नेपालमा केही दिनमा यस्तै एउटा मोबाइल एप सञ्चालनमा आउँदैछ। नेपाली सेनाले निर्माण गरेको एपले सर्वसाधारण, महामारी फैलिइहाले फिल्डमा खटिने चिकित्सक, उपचारमा खट्ने स्वास्थ्यकर्मी र नेपाल प्रवेश गर्ने नागरिकहरूको पहिचान गरेर तथ्यांक संग्रह गर्नेछ।
सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले अन्तर्राष्ट्रिय अभ्यासमा रहेका सबै विशेषता सहितको नेपाली एप केही दिनमै प्रयोगमा आउने बताए। “यो एपको प्रयोग सीमाबाट प्रवेश गरेका नागरिकको स्वास्थ्य जाँचको तथ्यांक लिन र परिचालित स्वास्थ्यकर्मीलाई सूचना प्रवाह गर्न समेत हुनेछ । एपले आफ्नो नजिकका कसैलाई ज्वरो आएको समेत संकेत गर्नेछ।”
प्रवक्ता पाण्डेले एपको सहयोगले संक्रमितको पहिचानपछि सो क्षेत्रलाई खतराको सूचीमा राखेर क्वारेन्टाइन, आइसोलेसन र उपचार गर्न सजिलो हुने बताए। “हामीले लिने तथ्यांक एपमा राख्नासाथै सिधै कमाण्ड सेन्टरमा जम्मा हुनेछ। नक्सा सहित आउने यो विवरणले संक्रमितसम्म पुग्न सकिनेछ।”
यसका लागि सर्वसाधारणले एपमा आफ्नो स्वास्थ्य अवस्थाबारे स्वघोषणा सूचना उपलब्ध गराउनुपर्नेछ।
अहिले सरकारले २७ फागुनदेखि विमानस्थलमा यात्रुहरुलाई भर्न लगाएको स्वास्थ्य सूचना सम्बन्धी फर्म र अध्यागमन विभागले हालै प्रयोगमा ल्याएको नेपाल पोर्ट सफ्टवेयरमा उपलब्ध तथ्यांकका आधारमा संक्रमित सम्पर्क निगरानीको प्रयास गरिरहेको छ। अध्यागमनको नेपाली पोर्टमा यात्रुहरुको सम्पूर्ण विवरण सहित तस्बिर समेत रहने भएकाले उनीहरुको खोजी सजिलो भइरहेको छ। तर यी सबै तथ्यांक एकै स्थानमा नहुँदा महामारीको अवस्था आइहाले के गर्ने भन्ने विषय अन्योल छ।
संचारविज्ञ डा. राजीव सुब्बा कोभिड–१९ को प्रकोप घटाउन केही हदसम्म सफल देशमा एपको प्रभाव राम्रो देखिएको र नेपालमा भने सरकारले जोखिम हेरेर प्राविधिक संयन्त्र बनाउन केही ढिलाइ गरेको बताउँछन् । “एप चाँडै बनाएर तत्कालै प्रयोगमा ल्याई सबैले उपयोग गरिहाल्नुपर्छ” सुब्बाले हिमालखबरसँग भने।
हेर्नुस् भिडियो-
संक्रमित युवती चढेको विमानका यात्रुको खोजी हुँदै
नेपाली सेनाको एप सञ्चालनमा ल्याउने तयारीकै बीच आइतबार राति नेपालमा कोभिड–१९ का दोस्रो संक्रमित भेटिएको पुष्टि भयो। फ्रान्सको पेरिसबाट कतारको दोहा हुँदै १५८ यात्रुका साथ काठमाडौं ओर्लिएकी १९ वर्षीया युवतीमा संक्रमण देखिएको हो। उनको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकूमा उपचार भइरहेको छ।
सरकारले उनी ४ चैतमा चढेर आएको कतार एयरवेजको फ्लाइट नम्बर क्युआर ६५२ विमानका सबै यात्रुको विवरण अध्यागमन र स्वास्थ्य डेस्कबाट लिएर खोजी शुरू गरेको छ । यसका लागि नेपाल प्रहरी खटिएको छ।
विमानमा आएका सबैको विवरण प्रहरीले प्राप्त गरेको प्रहरी प्रवक्ता डीआईजी शैलेस थापा क्षेत्रीले बताए। उनका अनुसार, ती ब्यक्तिहरुलाई प्रहरी इकाईहरु मार्फत क्वारेन्टाइनमा बस्न र शंकास्पद अवस्था देखिए परीक्षण गराउन आग्रह गरिएको छ।
उनी भन्छन्, “हामीलाई विमानमा सवार सबैलाई घटनाबारे जानकारी गराउन र उनीहरुको अवस्थाको विवरण लिन भनिएको थियो। धेरैसँग सम्पर्क भइसकेको छ।”