कोरोना जोखिम घटाउन घरमै सामाजिक सुरक्षा भत्ता
कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको त्राससँगै नवलपुरको गैंडाकोट नगरपालिकाले घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरेको छ।
गैंडाकोट–१ ले वडावासीको घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता दिन सुरु गरेको हो। ब्याङ्क तथा वित्तीय संस्था मार्फत भत्ता वितरण गर्दा बढी भीडभाड हुने र सङ्क्रमणको जोखिमका कारण घरघरमा सामाजिक सुरक्षा भत्ता पुर्याइएको वडाध्यक्ष हरिप्रसाद सापकोटाले बताए।
विश्वभर फैलिएको कोरोना भाइरस ज्येष्ठ नागरिकमा चाँडै सङ्क्रमण हुने तथ्य बाहिरिएकाले ब्याङ्क मार्फत वितरण हुँदै आएको सामाजिक सुरक्षा भत्ता विभिन्न टोल विकास संस्थाका अध्यक्ष तथा जनप्रतिनिधि मार्फत घरमा पुगेर वितरण गरिएको सापकोटाको भनाइ छ।
वडा कार्यालयले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल महिलासहित १०० जनालाई घरमा नै पुगेर सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको वडा सचिव पदमप्रसाद अधिकारीले जानकारी दिए। सेवाग्राहीको घरमा नै पुगेर भत्ता वितरणको कामलाई निरन्ततरता दिइने उनले बताए।