खाली जहाज समेत प्रवेशमा रोक लगाउन प्राधिकरणलाई सरकारको निर्देशन
सरकारले आजबाट देशैभर लकडाउन गरेकाले आन्तर्राष्ट्रिय उडानका खाली जहाज पनि नेपाल प्रवेशमा रोक लगाउन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ ।
मन्त्रालयले सोमबार अन्तर्राष्ट्रिय उडान रोकिएको समयमा पाँच अन्तर्राष्ट्रिय उडान भएको विषयमा ध्यानाकर्षण भएको जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदाबहादुर अधिकारीले भने ‘नेपालमा खाली जहाज पनि आउन रोक लगाउनु भनेर प्राधिकरणलाई निर्देशन दिइएको छ ।’
उडान रोकिएको समयमा कसरी अन्तर्राष्ट्रिय उडान नेपाल आयो भन्ने विषयमा प्राधिकरणलाई सोधिएको छ । साथै सोमबार ४ः५० बजे काठमाडौं आएको इत्तिहादबाट एयरको इवाई २९० नम्बरको उडानबाट दुई जना नेपाली यात्रु आएको विषयमा ती नेपाली कसरी आइपुगे भन्ने विषयमा छानविन गर्न प्राधिरकणलाई निर्देशन दिएको अधिकारीले जानकारी दिए ।
अधिकारीका अनुसार ती दुई नेपालीलाई खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको छ । प्राधिरणका महानिर्देशक राजन पोखरलेलका अनुसार सरकारले सोधेपछि स्पष्टिकरण दिनुपर्ने हुन्छ ।
उनले भने ‘हामीले उडान रोकिएको समयमा विदेशबाट यात्रु ल्याउन दिएका छैनौं । खाली आएर यात्रु लैजान पाउने व्यवस्था मात्रै गरेका हौ ।’ पोखरेलका अनुसार इत्तिहादमा सोमबार आएका दुई नेपाली भने युएईले पस्न नदिएका कारण फिर्ता आएका हुन ।