प्रतिबन्धित समयमा इत्तिहाद एयरले ल्यायो यात्रु
संयुक्त अरब इमिरेट्स (युएई) को अबुधाबीबाट आएको इत्तिहाद एयरको ईवाई २९० विमानले दुई यात्रु नेपाल ल्याएको छ। दुवै यात्रु नेपाली हुन्।
काठमाडौंका रहेका आफ्ना यात्रु लिन आउने क्रममा रित्तै आउनुपर्ने शर्त तोकेर नेपाल नागरिक उड्डयन प्राधिकरणले अनुमति दिएकोमा यो वायुसेवाले त्यसमा अटेर गर्दै दुई जना ल्याएको हो।
विमान अपराह्न ४:५० बजे काठमाडौं विमानस्थलमा ओर्लिएको थियो।
सरकारले सोमबारदेखि सबै अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको थियो। आकस्मिक उडान गर्न पाउने र खाली जहाज आएर यात्रु लैजाने सुविधा भने दिइएको थियो ।
दुई जना यात्रु आएको जानकारी भए पनि अध्यागमनले भने प्रवेश अनुमति नदिएको अध्यागमन कार्यालयका सूचना अधिकारी राजेश पन्थीले जानकारी दिए।
सो जहाज चार नेपालीसहित १२१ यात्रु लिएर बेलुकी ८ः३० बजे युएई फर्किसकेको छ।
इत्तिहादले ल्याएका दुई यात्रुलाई क्वारेन्टाइनमा पठाइएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ।
केही दिनअघि मात्रै दुई नेपाली आबुधाबी हुँदै अस्ट्रेलिया गएका थिए। अस्ट्रेलियाले उनीहरुलाई प्रवेश गर्न नदिएपछि नेपाल नै फर्किएका हुन्।