निषेधित समयमा ५ अन्तर्राष्ट्रिय उडान : आफ्ना नागरिक लैजाँदै
सरकारले ९ चैत्र २०७६ देखि १८ चैत्र २०७६ सम्म सबै अन्तर्राष्ट्रिय वायुसेवाको नेपाल उडान स्थगित गरेको भएपनि अनुमति लिएर आकस्मिक उडान गर्न भने दिइएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार विदेशी वायुसेवाले यात्रु लिएर आउन नपाउने र खाली आएर नेपालबाट यात्रु भने बाहिर लैजान पाउने छन् । प्राधिकरणले विदेशी वायुसेवाल यात्रु विना आउन अनुमित दिएका कारण आज सोमबारको लागि मात्रै पाँच वटा अन्तर्राष्ट्रिय वायुसेवाले उडान गर्दैछन् ।
अध्यागमन विभागका अनुसार अहिलेसम्म नेपालमा करिब ५ हजार विदेशी नागरिक रहेका छन् । उनीहरूलाई सम्बन्धित देशका वायुसेवाले लैजान पाउन भएकाले ती वायुसेवाले नेपालमा उडान भरेका हुन् ।
यस्तो उडानमा कतार र इत्तिहादको दुई दुईवटा र कोरियन एयरले एक उडान अनुमति लिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले जानकारी दएि ।
उनका अनुसार सरकारले विदेशबाट यात्रु लिएर आउन मात्रै रोक लगाएको र प्राधिकरणले पनि यात्रु लिएर आउन नपाउने व्यवस्था मिलाएको छ ।
कर्णका अनुसार सोमबारको उडान अनुमति लिएको वायुसेवामा कतार एयरको एक उडान बिहान १० बजेर १५ मिनेटमा आएको थियो । यो वायुसेवाले ११ बजेर १५ मिनेटमा यात्रु लिएर फिर्ता गएको छ ।
यही वायुसेवा बेलुका ७ः१७ मा आएर ८ः३५ मा जाने भएको छ । इत्तिहादले पनि दिउसो ३ः५० मा नेपाल आउने र ४:५० मा फिर्ता जाने छ । यसको अर्को उडान पनि बेलुका ८ः२० को लागि तय भएको छ ।
यस्तै कोरियन एयरले पनि बेलुका ७ः१५ मा आउने गरी उनुमति लिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ ।
प्राधिकरणले सूचना जारी गरेरै खाली आएर यात्रु लिन पाउने निर्णय गरेको थियो । उडान प्रतिबन्धको समयमा अन्तर्राष्ट्रिय वायुसेवाले आकस्मिक उडान पनि भर्न पाउने छन । विदेशी वायुसेवाले खाली आएर नेपालबाट यात्रु लैजान भने पाउनेछन् ।
यसका लागि सम्बन्धित वायुसेवाले आकस्मिकको घोषणा गरेर पूर्व अनुमति भने लिनुपर्ने जानकारी नेपाल नागरिक उड्डयन प्राधिरकणका प्रवक्ता राजकुमार क्षेत्रीले बताए ।