आजबाट आकस्मिक बाहेकका सबै अन्तर्राष्ट्रिय उडान बन्द
सरकारले ९ चैत्र २०७६ देखि १८ चैत्र २०७६ सम्म सबै अन्तर्राष्ट्रिय वायुसेवाको नेपाल उडान स्थगित गर्ने निर्णय सोमबारदेखि निर्णय लागू भएको छ ।
सबै विदेशी वायुसेवाका उडान बन्द गरिएकोले आज सोमबारदेखि १८ चैत्रसम्म अन्तर्राष्ट्रिय विमानस्थल ठप्प हुने छ । सरकारको निर्णयपछि नेपालमा उडान गरिरहेको २८ वटा वायुसेवा कम्पनीको करिब ६५ वटा उडान प्रभावित भएका छन् ।
उडान प्रतिवन्धको समयमा अन्तर्राष्ट्रिय वायुसेवाले आकस्मिक उडान भने गर्न पाउने छन् । नेपालले उडान विदेशी वायुसेवालाई खाली आएर नेपालबाट यात्रु लैजान भने पाउने छन् । यसका लागि सम्बन्धित वायुसेवाले आकस्मिकको घोषणा गरेर पूर्व अनुमति भने लिनुपर्ने जानकारी नेपाल नागरिक उड्डयन प्राधिरकणका प्रवक्ता राजकुमार क्षेत्रीले बताए ।
प्राधिकरणका अनुसार विदेशी वायुसेवाको उडान नहुने भएपनि आकस्मिक सेवाका लागि कर्मचारी भने खटाइरहनु पर्ने भएकोले दुई सिफ्ट गर्ने तयारी भएको पनि जानकारी दिएको छ ।
यो अवधिमा आन्तरिक उडान भने नियमित हुने नेपाल नागरिक उड्डयन प्राधकिरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताए । आन्तरिक वायुसेवाले भने उडान संख्या घटाएर उडान गरिरहेका छन् ।
उनका अनुसार कोरोना भाइरसको संक्रमणको जोखिमबाट बच्न लिइएको यो निर्णयका कारण अन्तर्राष्ट्रिय विमानस्थल पनि सुनसान हुने छ । अन्तर्राष्ट्रिय उडान बन्द हुने भएपनि विमानस्थलमा कार्यारत प्राधिकरणका ४५० कर्मचारी सबै आउनु नपर्ने भएकोले आधाले विदा पाउनेछन् । अहिले तीन सिफ्ट गरेर कर्मचारी खटाउने गरिएको छ ।
प्राधिकरणका अनुसार कर्मचारीलाई मिलाएर विदा दिने विषयमा पनि प्राधिकरणले छलफल गरिरहेको छ ।