ढुवानी सेवा नरोक्न महासंघको आग्रह
नेपाल ट्रक यातायात व्यवसायी महासंघले ढुवानी सेवालाई निर्वाध रुपमा सञ्चालन गर्न सम्पूर्ण व्यवसायीलाई आग्रह गरेको छ ।
महासंघले विज्ञप्ति जारी गरी ढुवानी सेवा अत्यावश्यक सेवा अन्तर्गत पर्ने भएकाले यसलाई निर्वाध रुपमा सञ्चालन गर्न व्यवसायीलाई आग्रह गरेको हो ।
गत शुक्रबार सरकारले आइतबारदेखि अत्यावश्यक बाहेक अरु सेवा सञ्चालनमा रोक लगाउने घोषणा गरेको थियो ।
महासंघका महासचिव राजेन्द्रविक्रम बानियाँले कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित जोखिम विरुद्ध एकजुट हुँदै महासंघले आफ्नो तवरबाट सरकारलाई साथ र सहयोग गर्ने बताए ।
“ढुवानी व्यवसाय पनि अत्यावश्यक सेवा हो, यसलाई निर्वाध ढङ्गले सञ्चालन गर्न व्यवसायीलाई आग्रह गर्दछौँ”, उनले भने ।
महासंघले संस्थामा आबद्ध करिव ६५ हजार व्यवसायीलाई आपूर्ति व्यवस्थालाई सहज पार्नका लागि सबैसँग अनुरोध समेत गरेको छ ।
राजधानी लगायत देशका हरेक क्षेत्रमा ढुवानी सहज बनाई आवश्यक साथ र सहयोग गर्न महासंघ तल्लीन रहेको महासंघले जनाएको छ ।